२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दसैंका सामान बोकेका १५ सय कन्टेनर नाकामै

दसैंका सामान बोकेका १५ सय कन्टेनर नाकामै

काठमाडौं । दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दसैंलाई ल्याएका सामान दसैं नजिकिँदासमेत नछुट्दा व्यवसायी मारमा परेका छन् ।

सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएका छन् । जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङबाट समयमै सामान नछुट्दा व्यवसायीलाई मार परेको हो । भन्सार मूल्यांकन नहुँदा १० अर्ब रूपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताएका छन् ।

रञ्जना व्यापार संघका अध्यक्ष टेकबहादुर शाक्य(अञ्जन)ले दसैंलाई ल्याइएका सामान दुई महिनादेखि भन्सार नाकामै रोकिँदा व्यवसायी प्र्रत्यक्ष मारमा परेको बताए । “ सीमित व्यक्तिको सिन्डीकेटको कारण समयमा सामानको भन्सार मूल्यांकन नहुँदा लामो समयदेखि नाकामै सामान अलपत्र परेका छन्,” उनले भने, “१० अर्ब भन्दा बढीका सामान नाकामै रोकिँदा दसैंमा समस्या हुने देखिएको छ ।”

व्यवसायीले बैंकबाट ऋण निकालेर सामान ल्याउने गरेको उल्लेख गर्दै उनले रोकिएका सामानमा जुत्ताचप्पल, रेडिमेड गार्मेन्टलगायत १५ सय कन्टेनर रहेको बताए । दसैंमा बजारमा सामानको खपत धेरै हुने भए पनि नाकामै सामान रोकिँदा व्यवसायीले धेरै नोक्सान बेहोर्नुपरेको भन्दै उनले भन्सारमा आउने समस्या समाधान गर्न राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले सामानको आयात निर्यातमा देखिएका समस्या समाधान गर्न पहल गरिरहेको बताए । शनिवार रञ्जना व्यापार संघको तेस्रो वार्षिक साधारणसभामा मन्त्री विश्वकर्माले सामान आयात गर्दा भन्सार कार्यालयमा देखिएका समस्यालाई निराकरण गर्न लागिएको बताए ।

चीन जाने केरुङको बाटो साँघुरो र धेरै कन्टेनर हुँदा समयमा सामान आयात गर्न समस्या भइरहेको भन्दै मन्त्री विश्वकर्माले आयात–निर्यातलाई सहज पार्न केरुङ नाकामा सुक्खा बन्दरगाह बनाउने काम भइरहेको जानकारी दिए ।

भन्सार नाकामा देखिएका आन्तरिक र बाह्य समस्या समाधान गर्न लागिरहेको भन्दै मन्त्री विश्वकर्माले लामो समयदेखि बन्द रहेको तातोपानी र केरुङ नाका खुलाउने काम भइरहेको जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भन्सार नाकामा सामान आयात गर्दा देखिने समस्याले व्यवसायीले असर परिरहेको बताए । एक ठाउँबाट भन्सार मूल्यांककन भएर आएको सामानलाई अर्काे ठाउँमा अनावश्यक रूपमा रोकिँदा समयमा सामान ल्याउन कठिन पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij