२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

माछापोखरी–कुमारीस्थान सडकमा कमजोर ढल व्यवस्थापनले निम्त्याएको परिणाम

माछापोखरी–कुमारीस्थान सडकमा कमजोर ढल व्यवस्थापनले निम्त्याएको परिणाम

काठमाडौंको सडकको अवस्था निकै नै कहाली लाग्दो छ । सामान्य पानी पर्दा हिलाम्मे त घाम लाग्दा धूलोको कारण हिँडडुलमा समस्या आउनु सामान्य पहिचान नै भइसकेको काठमाडौंमा अव्यवस्थित तवरले निर्माण गरिएको ढलको व्यवस्थापन झन् बढी चुनौतीपूर्ण छ । यसको राम्रो उदाहरण बनेको छ, काठमाडौंको मुख्य सडक अन्तरगत नयाँ बसपार्क सँगै जोडिएको माछापोखरी–कुमारीस्थान सडकखण्ड । अव्यवस्थित सडक तथा ढल व्यवस्थापनको परिणाम कस्तो हुँदो रहेछ भन्ने दर्शाउन यो सडकखण्ड त एउटा प्रतिनिधि उदाहरण मात्र हुनेछ । काठमाडौंका विभिन्न ठाउँमा यस्ता समस्याहरु छन्, जसलाई व्यवस्थापनको निम्ति सम्बन्धित पक्षले कुनै पहल नै गरेको पाईंदैन ।

माछापोखरी–कुमारीस्थान सडक, यो भर्खर निर्माण गरिएको नयाँ सडक होइन, पहिले नै निर्माण भएको हो । तर ढललाई थप व्यवस्थित बनाउने भन्दै करिब डेढ महिना पहिले ४ दिनमा पूरा गरिसक्ने योजनाको साथ शुरु गरिएको ढल मर्मत तथा व्यवस्थापन कार्य अहिले करिब डेढ महिना समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । सडकलाई उपयुक्त तवरले व्यवस्थापन गर्न सकिएको छैन । जसले गर्दा स्थानीयवासीन्दाहरु निकै नै समस्यामा परेका छन् ।

स्थानीयको विरोध बीच काम शुरु

बर्षायाममा सडकको स्वरुप बिगार्दा अर्को समस्या आउन सक्छ भन्दै अधिकांश स्थानीयहरुले तत्काल सडक मर्मत तथा ढल निकासको यस कदमको विरोध शुरुमा नै नगरेका होइनन् । तरपनि केही व्यक्तिहरुले आफुखुसी सडक निर्माण कार्य अघी बढाउँदा अहिले सम्म न त सडक निर्माणको कार्य सम्पन्न हुन छैन । बरु स्थानीयवासीहरु आकाशबाट पानी पर्दा सडकका ढल फुटेर घरमा नै पानी पस्ने समस्याबाट पीडित बन्नुपरेको छ । हिजो मात्रै परेको पानी सँगै ढल फुट्दा गोरखकाली स्कुल तथा वरपरका सडकछेउका अधिकांश घरहरु जलमग्न मात्र होइन, ढलमग्न हुन पुगे । यात्राको क्रममा जुत्ता फुकालेर गर्नुपर्ने यात्रा त अर्को पक्ष हो । यही अवस्था कायम रहने हो भने त्यस क्षेत्रका अधिकांश व्यक्तिहरु विभिन्न किसिमका स्वास्थ्य समस्या निम्तिने र मानिसहरु विरामी हुने अवस्था नआउला भन्न सकिने अवस्था छैन ।

स्थानीयवासीहरु निकै नै क्रोधित छन् । तैपनि सडक समस्याको पीडा भोग्न बाध्य छन् । बर्षात्कै कारण सडकमा हिँडडुल गर्न सकिने अवस्था नभएको कारण त्यही सडक खण्डमा सञ्चालित गोरखकाली बोर्डिङ स्कुल केही दिनको लागि बन्द समेत गर्नुपरेको स्थानीय व्यापारी दीपेन्द्र लामिछानेले बताएका छन् ।

यस सडकलाई व्यवस्थित गर्नको निम्ति स्थापना भएको कुमारीस्थान टोल सुधार समिति स्थापना भएको छ । हाल यस समितिको अध्यक्ष स्थानीय देवेन्द्र महर्जन छन् । तर उनी आफ्नो इच्छा बमोजिम अध्यक्ष नबनेको साथै आफूलाई देखाएर अन्य व्यक्तिले नै फाइदा लिने योजना बमोजिम कार्यसमिति चयन गरेको बताउँछन् । अहिले यस टोल सुधार समितिमा अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका व्यक्तिहरुलाई काम गर्न नदिइ उपाध्यक्ष रोसन श्रेष्ठ, सीताराम थपलिया, समाजसेवीको पहिचान बनाएका हरि लगायतका व्यक्तिहरुको मिलेमतोमा ढल व्यवस्थापनको कार्य अलपत्र परेको महर्जन बताउँछन् ।

किन यस्तो भयो ?


बर्षायाम सकिएसँगै ढल व्यवस्थापनको काम गरिएको भए सहज हुने स्थानीयहरुको आग्रहलाई वेवास्ता गरी सडक निर्माण कार्यलाई अघी बढाइएको, प्राविधिक ज्ञान नभएका व्यक्तिहरुले कामको जिम्मेवारी लिएको, नगरपालिकाबाट सम्बन्धित प्राविधिकलाई नबोलाई सडक निर्माण गरिएको, पहिले १८ इन्च रहेको पाइपलाई ३६ इन्चको पाइपले प्रतिस्थापन गर्ने योजना भएपनि २४ इन्चको पातलो पाइप राखिएको लगायतका विविध कारणहरुले निर्माण कार्य स्तरहीन भएको देखिएको छ । सडक निर्माणको कार्य ठेकेदार दीपक अधिकारीलाई जिम्मेवारी दिइएको भएपनि ठेकेदारलाई समेत राम्रो किसिमले काम गर्ने वातावरण बनेको पार्इंदैन ।

रकम सङ्कलनमा कोषाध्यक्ष महिलालाई हतियार बनाइयो

सडक निर्माणको निम्ति कोषाध्यक्ष शारदा अधिकारीलाई हतियार बनाइएको तर स्थानीयहरुबाट रकम सङ्कलन पश्चात् भने अध्यक्ष, सचिव, कोषाध्यक्ष कसैलाई पनि वास्ता नगरी सडक निर्माण गरिएको कारण यो अवस्था आएको अध्यक्ष महर्जन बताउँछन् । उनले यस समस्यालाई तत्काल समाधानको निम्ति पहल गर्नुपर्ने भन्दै कि त ढल पूर्ण रुपमा तत्काल नै व्यवस्थित गर्नुपर्ने कि तत्काललाई ढल व्यवस्थापन कार्य रोकी सडक निर्वाध रुपमा सञ्चालनमा आउने वातावरण मिलाउनुपर्ने कुरा बताए ।

सडक निर्माणको क्रममा राम्रो तवरले व्यवस्थापन नगर्दा यो सडक खण्ड हुँदै जाने अधिकांश घरहरुमा ढलको प्रभावमा परेका छन् । काम हुनुका सट्टा समस्या मात्र थपिएको हुँदा नगरपालिकाले दिने भनिएको अनुदान रकम पनि काम पूर्ण नभएसम्म रोक्का गर्नुपर्ने स्थानीयहरुको आग्रह छ ।

ढलमय बनेकाे सडक

एकजना स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अधिकांश पाइपहरु फेर्नुपर्ने अवस्थामा छन्, काम चकनाचुर भएको छ । सडकमा ढलको निकासको निम्ति राखिएको पाईप नै माटोले थिचेको भरमा फुट्छ भने त्यहाँ राखिएको पाइप कुन गुणस्तर कस्तो होला ?’ उनले थपे, ‘७५ सयमा किन्नुपर्ने पाइप २९ सयमा किनिएको हुनाले यो अवस्था आएको हो । बिल भने ७५ सयको दरले नै बनाइन्छ । अनि कसरी गुणस्तरीय कामको अपेक्षा गर्नु ?’ सडक र ढल सम्बन्धमा सिताराम थपलियासँग जानकारी लिन खोज्दा यो काम आफूको नभइ ठेकेदारको भएको भन्दै थप जानकारी दिनबाट आफू उम्किएको समेत उनी बताउँछन् ।

बारीमा समेत सङ्कलन भएकाे ढलकाे पानी
अव्यवस्थित सडक

बजेट बचाउने सोचले काम अघी बढाउँदा सडकको दुर्गति भएको हो । यस खण्डमा ढल व्यवस्थापनको निम्ति सडक छेउका घरबाट प्रति घर १५ हजार र शाखा बाटोका घरबाट प्रति घर १० हजार उठाइएको छ । जुन रकम सदुपयोग हुन नसक्दा आफूहरुलाई निकै पीडा भएका स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij