
काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०१७’ मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले गरे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा मेला भएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री बलायरले मुलुकमा अटोमोबाइलबाट अधिक भन्सार उठ्ने स्वीकार्दै सरकारले त्यसलाई उपयुक्त ठाउँमा सदुपयोग गर्ने बताए । “हामीले अटोमोबाइलको सम्भावना र संवेदना बुझेका छौं,” उनले भने । साथै उनले सो अवसरमा अटोमोबाइल व्यवसायीहरुलाई पेट्रोल, डिजेललगायतबाट चल्ने सवारीसाधनभन्दा मुलुकको भविष्यलाई मध्यनजर गरेर विद्युतीय सवारी साधन भित्र्याउन आग्रह गरे । “तपार्इंहरुले राजश्वलाई भन्दा पनि देश र नेपालीको उपलब्धी हुने सवारी साधन ल्याउन आवश्यक छ । भान्सार छुटमात्र होइन, सरकारले अनुदानसमेत प्रदान गर्नेछ ।”
त्यस्तै नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले सुरु भएको प्रदर्शनी अटोमोबाइलको लागि कुम्भ मेला भएको बताए । मेलामा विश्व बजारमा प्रस्तुत भएका पछिल्लो सवारी साधनहरु अवलोकन गर्न तथा त्यसको बारेमा जानकारी लिन सकिने उनको भनाइ छ । साथै विभिन्न अटोमोबाइल कम्पनी तथा ब्राण्ड, बैंक तथा वित्तिय संस्थाहरुले दिने सवारी साधनसम्बन्धी सेवा, सुविधा, स्किमलगायतबारे मेलामा जानकारी पाइनेछ ।
उनले अझै मुलुकमा प्रदर्शनीको लागि उपयुक्त स्थान नभएको गुनासो गरे । “अझै पनि मुलुकमा राम्रो प्रदर्शनीस्थल छैन, त्यसको व्यवस्था गर्न निजी क्षेत्र सरकारलाई माग गर्दछ,” उनले भने । त्यस्तै उनले नेपालमा संसारमै नलगाइएको सवारीमा भन्सार शुल्क लगाएको भन्दै सरकारलाई घटाउन अनुरोध गरे ।
कार्यक्रममा निजी क्षेत्रका तर्फबाट उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा, वस्तुगत परिषदका सभापति उमेशलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले पनि काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, सवारी साधनको भन्सारदर घटाउनुपर्ने लगायतमा जोड दिएका थिए ।
प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नयाँ प्रविधिमा विकास भएका सवारी साधन राखिएको छ । एकै छानामुनी सवारी साधन पैठारीकर्ता, डिलर, उत्पादक, विक्रेता, सवारी साधन पारखी ग्राहक तथा अवलोकनकर्ताहरुको उपस्थिति रहेको देखिन्छ ।
प्रदर्शनीको सुरुको दिनमै विभिन्न कम्पनीले विभिन्न ब्राण्डका सवारीसाधन सार्वजनिक गरेका छन् । प्रदर्शनीमा करिब १३० वटा स्टलहरू छन् । त्यस्तै ९० वटा सवारी साधन संवद्ध संस्थाहरू सहभागि भएका छन् भने ४१ भन्दा बढी ब्राण्डका सवारी साधन राखिएका छन् । प्रदर्शनीको ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ ।
मेलामा करिब ३ अर्ब रुपैयाँको कारोबार हुने आयोजकले अपेक्षा राखेको छ । प्रदर्शनी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij