काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको १० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण सार्वजनिक गर्दै बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थासँग भएको अधिक रकम तरलता प्रशोचन गर्न लागेको हो । १० अर्ब रुपैयाँको उपकरण जारी गरेपनि कति रकम प्रशोचन हुन्छ भन्न नसकिने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।
राष्ट्र बैंकले ९० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोलबाट निष्कासन गर्न लागेको पौडेलले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । साँवा तथा ब्याज भुक्तानी आउँदो असोज २४ गते रहेको छ । घटीमा ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म रहनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij