
काठमाडौं । तपाईंले सामाजिक जीवनमा वा गृह प्रशासनबाट कुनै दुःख पाउनुभएको छ? छ भने अब एघार-बाह्र (१११२) मा फोन गर्नुस् र आफ्ना गुनासा टिपाउनुस्। गृह मन्त्रालयले नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने व्यस्था गरेको छ।
गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको हो। गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा पैसा नलाग्ने टोल फ्रि नम्बर १११२ व्यवस्थाको उद्घाटन गरेका हुन्।
टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनेका थिए। उनले समस्या सुनेपछि तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए।
जुम्लाको स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको आदि त्यहाँका नागरिकले गुनासो गरेका थिए।
प्राप्त उजुरी र गुनासोको सुनुवाइ गरी तत्काल समस्या समाधान गर्ने मन्त्री शर्माले बताए। स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाइ गरे-नगरेको जानकारी लिन र बदमासी भए तत्काल कार्वाही गर्न मन्त्रालयमै टोल फ्रि नम्बरको व्यवस्था गरिएको बताइएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij