काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको रबैयाविरुद्ध शनिबार काठमाडौँमा बृहत् खबरदारी सभा गरेको छ । माओवादी केन्द्र बाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले भृकुटीमण्डपमा आयोजना गरेको सभामा माओवादी अध्यक्षसहित पार्टीका शीर्ष नेताले सरकारको अहिलेको कार्यशैली गलत भएको भन्दै जनविरोधी काम नगर्न चेतावनी दिए ।माओवादीले देशमा गएको बाढीपहिरोबाट हुनसक्ने क्षतिको आकलन गरी पूर्वतयारीमा चुकेको, उद्धार, राहत तथा पुनस्र्थापनामा ध्यान नदिएको, भ्रष्टाचारीको पक्षपोषण गरेको, सरकार ढाल्नकै लागि संविधान संशोधनको एजेन्डा ल्याइएको तर सरकार बनेसँगै एजेन्डा नै गायब भएको आरोप लगाउँदै खबरदारीलाई हल्का रूपमा नलिन चेतावनीसमेत दिएको छ ।
खबरदारी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा सरकारले राजनीतिक प्रतिशोध साँधेको बताए । सहकारी ठगीमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूलाई अनुसन्धानको दायरामै नल्याएको, तर प्रतिपक्षी दलका नेतालाई भने पक्राउ गरेको भन्दै असन्तुष्टि जनाए ।
सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरे पनि उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको भनाइ थियो ।
अहिले आफूहरू सरकार ढाल्नका लागि सडकमा आएको नभई भ्रष्टाचारी, बिचौलियासँग सरकारको साँठगाँठ रहेको र विपद्का बेलामा राज्य सरकार विमुखको अवस्थामा रहेकाले खबरदारीका लागि आएको उनले बताए । भ्रष्टाचारी, दलाल र बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफैँ कुहिएर झर्ने उनको टिप्पणी थियो । भ्रष्ट पार्टी र तिनका नेताको संगतले माओवादी बिग्रिँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै प्रचण्डले माओवादी सरकार ढाल्नतिर नलाग्ने भएकाले ढुक्कले सरकार चलाउन आग्रह गरे .। उनले माओवादीले अब कांग्रेस एमालेसँग प्रधानमन्त्री र मन्त्री माग्दै नआउने समेत उल्लेख गरे । माओवादीले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने उनले बताए ।
उनले आफू प्रधानमन्त्री भएका बेला अनुसन्धान सुरु गरेका बालमन्दिर जग्गा काण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्डलगायतको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्नसमेत गरे । आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचीमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्य संयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’
खबरदारीसभालाई रवि लामिछानेलाई बचाउने उद्देश्यले आयोजना गरेको रूपमा नबुझ्न आग्रह गर्दै उनले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारबाही गर्ने प्रवृत्तिको विरोध गरेको स्पष्ट पारे । उनले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको समाचार आएको भन्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सह्य नहुने बताए ।
यो देश कांग्रेस–एमालेको बिर्ता नभएको उल्लेख गर्दै उनले संख्याको बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए त्योभन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जबाफ दिनुपर्दैन ?,’ प्रचण्डले भने, ‘संसद्को रोस्ट्रममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जबवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ जबाफ ।’
अध्यक्ष प्रचण्डले खबरदारीसभालाई सरकारले गम्भीरतापूर्वक नलिएमा नतिजा गम्भीर हुने चेतावनीसमेत दिए । ‘यदि सरकारले यो खबरदारीसभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । त्यसैले गम्भीर रूपले लिन चुनौती दिन्छु,’ उनले भने ।
यस्तै, प्रचण्डले असोज दोस्रो हप्ताको बाढीपहिरो र राहत, उद्धार र पुनस्र्थापनामा सरकारले देखाएको उदासीनताको चर्को आलोचना गरे । सरकारले त्यतिबेला लापरबाही गरेको भन्दै उनले फेरि पनि त्यस्तै लापरबाही नदोहोर्याउन चेतावनी दिए । ‘हिजोको लापरबाही फेरि नदोहोरियोस् । उद्धार, राहत र पुनस्र्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस्,’ उनले भने ।
अध्यक्ष प्रचण्डले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको बताएका छन् । अहिलेको सरकार सुशासन विरुद्ध, भ्रष्टाचारीलाई बचाउन, रातको १२ बजे दलालहरूको घरमा गएर बनेकामा जे चिन्ता गरिएको थियो, त्यसलाई सरकार आफैँले पुष्टि गरेको टिप्पणी गरे । ‘सरकार सुशासनविरूद्ध बन्यो, भ्रष्टाचारीलाई बचाउन बन्यो । रातको समयमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जालझेल र षड्यन्त्रको तरिकाले बन्यो । दलालहरूका घरघरमा गएर रातको १२ बजे बन्यो । सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौँ, त्यो पुष्टि भएको छ ।’
सरकार परिवर्तनताका लागि संविधान संशोधनको चर्चा भए पनि क्रमशः सेलाउँदै गएको र त्यो एउटा बहाना मात्रै भएको पनि उनको भनाइ थियो । ‘उद्देश्य भ्रष्टाचारीलाई बचाउन मात्रै थियो । त्यो त पुष्टि भइसक्यो,’ उनले भने । सत्ता पक्षीय ७ दलले शुक्रबार विज्ञप्ति जारी गर्दै सडकबाट सरकारको विकल्प खोज्नु संविधान र लोकतन्त्र विरोधी गतिविधि हुने भनी प्रतिक्रिया दिएकामा त्यसको खण्डन गर्दै प्रचण्डले भने, ‘खबरदारी कार्यक्रम घोषणा गर्नेबित्तिकै सत्तापक्षमा जुन आतंक देखापर्यो, खबरदार ! तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला । अझ बढी भ्रष्टाचारीहरूको संरक्षणतिर नलाग्नुहोला ।’
उनले ४ दिनकै तयारीमा यति विशाल खबरदारीसभा गरिएको भन्दै पूर्वतयारी साथ विरोध गर्ने अवस्था आएमा सरकारले थेग्न नसक्ने पनि बताए । ‘यो उत्साहपूर्ण उपस्थितिले भोलि माओवादीले खबरदारी होइन, विरोधै गर्ने सभा गर्यौँ, १ महिनाको तयारी गर्यौँ भने काठमाडौँमा के होला ? थेग्न सक्छ यो सरकारले ?,’ उनले भने । अध्यक्ष प्रचण्डले आफू बुढो हुँदै गए पनि जोस र जाँगर भने नमरेको पनि बताए । देशमा अर्को क्रान्ति गर्ने आँट आफूमा रहेको बताउँदै उनले एउटा नयाँ अभियानमार्फत् उपलब्धि रक्षा गर्दै अझै उन्नत व्यवस्था ल्याउन चाहेको बताए । अहिलेको निर्वाचन प्रणाली नफेरेसम्म भ्रष्टाचार रोक्न नसक्ने बताउँदै निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने उल्लेख गरे ।
उनले माओवादीले बुझाएको ज्ञापनपत्रलाई गम्भीरताका साथ लिएर काम गर्न र माओवादी नेतृत्वको अघिल्लो सरकारले गरेका सकारात्मक कामलाई उल्ट्याउने दुस्साहस नगर्न चेतावनीसमेत दिए । ‘ज्ञापनपत्रका बुँदाहरूलाई, जनताका मुद्दाहरूलाई, वर्षाबाट भएको जनधनको क्षति, त्यसको उद्धार, राहत र पुनस्र्थापनाको कामलाई, भ्रष्टाचारीलाई जोगाउने षड्यन्त्रपूर्ण क्रियाकलापलाई रोक्नुभएन भने सशक्त ढंगले प्रस्तुत हुन्छौँ,’ उनले भने ।
यस्तै, प्रचण्डले भाटभटेनी आफ्नो नभएको भन्दाभन्दा हैरान भइसकेका बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले क्लियर गरिदिएको बताए । ‘म होइन भन्छु, पत्याउँदैनथे । कसरी क्लियर गर्ने होला भनेर म हैरान थिएँ,’ उनले भने, ‘केपी ओलीले क्लियर गरिदिनुभयो, मैले बोल्नैपरेन ।’ उनले ललितानिवासको सरकारी जग्गा प्रकरणमा कारबाही चलाइरहँदा पनि भाटभटेनी प्रचण्डको हो भनेर आफूलाई हैरान पारेको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij