काठमाडौँ । मंगलबार इन्द्रजात्रा हेर्न पुगेका १ दर्जनभन्दा बढी युवालाई प्रहरी प्रशासनले जात्रा हेर्न दिएन । बरु, जात्रा नसकिउन्जेल प्रहरीको नियन्त्रणमा राख्यो । काठमाडौँ प्रहरी वृत्त जनसेवामा साढे ३ घन्टा उनीहरू ‘बन्धक’ हुनुको कारण कुनै अपराध गरेर भने होइन ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को तस्बिर छापिएको टिसर्ट लगाएर १४ जना युवायुवती जात्रा हेर्न वसन्तपुर क्षेत्र पुगेका थिए । तर, उनीहरूलाई प्रहरीले जात्रा स्थलमा प्रवेश नै दिएन । प्रवेश नदिने मात्र होइन, जबरजस्ती लगेर प्रहरीको नियन्त्रणमा राखियो । उनीहरू प्रहरी नियन्त्रणमा रहेको कुनै सुरक्षा चुनौती नभएको सूचना पाएपछि मात्रै प्रधानमन्त्री ओली समारोह स्थल पुगेका थिए भने ओली फर्किएपछि मात्रै उनीहरूलाई प्रहरीले छाडेको थियो ।
पछिल्लो समय काठमाडौँ महानगरका मेयर बालेन शाह प्रधानमन्त्री केपी शर्मा ओली र सरकारप्रति बढी नै रुष्ट छन् । उनले त्यो असन्तुष्टि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएका छन् । एक हिसाबले बालेनले ओली र एमाले पार्टीविरुद्ध वाकयुद्ध नै छेडेका छन् । बालेन समर्थकहरूले बालेनको पक्षमा र ओली र सरकारको विपक्षमा हुटिङ गर्ने सम्भावना देखेको सरकारले बालेनका समर्थकलाई नै जात्रामा निषेध गरेको हो ।
हुन पनि पछिल्ला २ वर्षका इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीलगायत भिआइपी सहभागी समारोहमा युवाहरूले मेयर बालेनको जयजयकार गरेका थिए । यसपालि त झन् प्रधानमन्त्री ओलीविरुद्ध बालेनले विष वमन गरिरहेको अवस्थामा बालेनका समर्थकले ओलीविरुद्ध चर्का नारा लगाउन सक्ने त्रासका कारण त्यो अवस्था आउन नदिन प्रहरी प्रयोग गरेर उनीहरूलाई प्रवेश निषेध गरिएको हो ।
काठमाडौँको वसन्तपुर दरबारमा इन्द्रजात्राको मङ्गलबार अवलोकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत । तस्बिरः प्रदीपराज वन्त /रासस
विशिष्ट व्यक्तिहरूको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना गरी मनाइने इन्द्रजात्राको आतिथ्य काठमाडौँ महानगरपालिकाले गर्ने गरेको छ । तर, यस पटकको इन्द्रजात्रामा मेयर बालेन भने सहभागी भएनन् । उनी भारतमा रहेकाले उपमेयर सुनिता डंगोलले विशिष्ट पाहुनाहरूको स्वागत गरेकी थिइन् । केपी ओलीसँगको तिक्तताका बीच उनलाई स्वागत गर्नु नपरोस् भनेर बालेन भारत गएको बताइन्छ, तर यसबारे बालेनले भने कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।
यता, प्रहरीले भने बालेनका समर्थक भएकै आधारमा भने नसमाएको दाबी गरेको छ । बालेनको टिसर्ट लगाएर आएका युवालाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । इन्द्रजात्रामा भगवानको प्रचार गर्नुपर्नेमा बालेनको प्रचार हुने गरी टिसर्ट लगाएको भन्दै स्थानीयले विरोध जनाएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, उनीहरूले न बालेनको पक्षमा, न ओलीको विपक्षमा नारा लगाएका थिए, न त ढुंगामुढा र हुलहुज्जत नै गरेका थिए । समूहमा सेल्फी खिच्दै रमाउँदै हिँडिरहेका बेला एक्कासि प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरूले के भइरहेको छ भन्ने मेसो नै पाएनन् ।
बालेन समर्थकहरूलाई पक्राउ गर्नुका दुइटा कारण रहेको एक राजनीतिक विश्लेषक बताउँछन् । गत वर्षका जात्रामा सहभागी युवाहरूले राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी भएका बेला बालेनको पक्षमा हुटिङ र जयजयकार गरेकाले यस वर्ष पनि त्यस्तै हुने र सरकारकै प्रतिष्ठामा आँच आउन सक्ने भन्दै उनीहरूलाई पक्राउ गरिएको हुन सक्ने उनी बताउँछन् ।
यस्तै, गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई निर्देशन दिँदै बालेनविरुद्ध भिड्न उक्साएका थिए । यस्तोमा एमाले कार्यकर्ता र बालेन समर्थकबीच मुठभेटको अवस्था आउन सक्ने त्रासका कारण पनि प्रहरीले यो कदम चालेको हो । बालेनको नाम नलिईकन ओलीले ‘मनपरी बोल्ने केटो’विरुद्ध मैदानमा उत्रिन कार्यकर्तालाई उक्साएका थिए । उनले कार्यकर्तालाई मैदानमै उत्रिएर आफूसँग भएका सबै अस्त्र प्रयोग गर्न भनेका थिए ।
‘आफ्नै पनि कमजोरी छ । त्यसलाई चलायो आफ्नै कमजोरी निकाल्दियो भने ? बरु त्यसलाई चलाउँदै नचलाउनु ठिक । कमजोरी छरपस्ट पारिदियो भने बर्बाद ! यस्तो भनेर बसेर हुन्छ ? निक्लिनुपर्यो नि मैदानमा, बोल्नुपर्छ । आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्छ,’ ओलीले भनेका थिए । ओलीको यही उक्साहटमा एमाले कार्यकर्ता उग्र बन्न सक्ने र बालेन समर्थकमाथि आक्रमण हुन सक्ने प्रहरीका् आशंका थियो ।
पछिल्लो समय युवाहरूमा नेताहरूविरुद्धको आक्रोश र असन्तुष्टि चुलिँदो छ । नेताहरूको राजनीतिक गतिविधि र निर्णयका कारण युवा पुस्तामा वितृष्णा पैदा हुने क्रम बढेको छ । गत भदौ १० गते गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा पनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध युवाहरूले नाराबाजी गरेका थिए । यद्यपि, त्यहाँ बालेनको पक्षमा भने नाराजुलुस भएन । नाराजुलुसकै बीच ओली र देउवाले सम्बोधन गरेका थिए ।
यसैबीच, बालेन समर्थककै त्रासका कारण संविधान दिवसको अवसरमा आयोजना हुन लागेको नेसनल डे कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी नहुने भएका छन् । असोज ३ गते नारायणहिटी दरबारअगाडि नागरिक स्तरबाट हुन लागेको कन्सर्टमा सुरक्षा थ्रेटका कारण प्रधानमन्त्री ओली सहभागी नहुने भएका हुन् । खुला स्थानमा हुने कार्यक्रममा प्रधानमन्त्रीमाथि बालेनका समर्थकबाट सुरक्षा चुनौती हुन सक्ने भन्दै सुरक्षा निकायले नजान सुझाव दिएका थिए । सुरुमा आफू जाने भनेका ओली प
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij