२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

व्यावसायिक वातावरण निर्माण र दिगो आर्थिक विकासका आयामहरु

व्यावसायिक वातावरण निर्माण र दिगो आर्थिक विकासका आयामहरु

बालकृष्ण सिवाकोटी, अध्यक्ष, कालिन्चोक केवलकार प्रा.लि

स्थायी घर दोलखा भएका बालकृष्ण सिवाकोटीको परिवार लामो समय देखि व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएको परिवार हो । आफ्ना बुबाले व्यावसायिक क्षेत्रमा संलग्न भइ उद्यमशिलता प्रवर्द्धन सम्बन्धी देखाउनुभएको बाटोलाई अहिले परिवारका तिन जना छोराहरुले पछ्याउँदै आइरहनुभएको छ । स्मरण रहोस्, बुबा आफ्नो जीवनकालमा खाद्य किराना पसल, कपडा उत्पादन तथा बिक्री, नेपाली कागज उत्पादन, ईट्टा उद्योग लगायतका विभिन्न उद्योग व्यवसायहरुमा संलग्न हुनुहुन्थ्यो । काठमाडौं प्रवेश गरेर उहाँ यातायात क्षेत्रमा समेत लामो समय संलग्न हुनुभयो । आफूलाई पौरखी बुबाको जाँगर, उत्साह र आशावादी सोचले नै व्यावसायिक क्षेत्रमा संलग्न हुनको लागि महत्वपूर्ण प्रेरणाको काम गरेको र आफूले व्यापारिक शिक्षा बुबाबाटै प्राप्त गरेको छोरा बालकृष्ण सिवाकोटीको भनाई छ ।

बुबाले अनुशरण गरेको बाटो पछ्याएको कारण हाल परिवारका सबै छोराहरु आर्थिक रुपमा सबल र सामाजिक रुपमा प्रतिष्ठित बन्न सक्नुभएको छ । बालकृष्ण सिवाकोटी आफैंले समेत विभिन्न उद्योग व्यवसायमा संलग्न रहेर नेपालमा व्यावसायिक क्षेत्रको राम्रो प्रदर्शन गर्नुभएको छ । नेपालमा रही मिल, काष्ठ उद्योग लगायतका व्यवसाय हुँदै हाल जलविद्युत उत्पादन, होटल तथा पर्यटन, केवलकार लगायतका क्षेत्रहरुमा संलग्न रहँदै आउनुभएको छ सिवाकोटी । आफू संलग्न भएका सबै उद्योग व्यवसाय मार्फत प्रत्यक्ष एवं अप्रत्यक्ष गरी करिब ५ सय भन्दा बढी व्यक्तिहरुलाई रोजगारी मिलेको उहाँको दाबी छ । राजनीतिमा समेत संलग्न सिवाकोटी यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोलखा जिल्लाबाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवार समेत हुनुभएको थियो । विकास र योजनाका एजेण्डा बोकेर आफू चुनावमा होमिएको उहाँ बताउनुहुन्छ । उनै सिवाकोटीसँग कुराकानी गरी तयार पारिएको सामाग्री यहाँ प्रकाशित छ ।
……………………………………………………………………………………

नेपालमा व्यावसायिक वातावरण र रोजगारी सृजना
नेपाल भौगोलिक र प्राकृतिक रुपमा स्रोतसाधन सम्पन्न हुँदाहुँदै पनि यहाँको व्यवस्था अझै उद्योग व्यवसायमैत्री बन्न नसकेको कारण मुलुकले राम्रो प्रगति गर्न नसकेको हो । नेपाल प्रकृतिले ठगिएको होइन । यहाँका स्रोत र सम्भावनाहरुलाई सही तवरले हामीले व्यवस्थापन र समुचित उपयोग गर्न नसकेको कारण हामी पछि परेका हौँ ।
नेपालमा झण्झटिला नीतिगत व्यवस्था एवं दीर्घकालिन योजनाको अभावको कारण व्यावसायिक वातावरण राम्रोसँग फस्टाउन सकेको छैन । नेपालबाट लामो समय देखि युवाहरु दिनानुदिन रोजगारीको लागि विदेशिइरहनुपरेको छ । स्वदेशमा नै सम्भावना हुँदाहुँदै पनि रोजगारीको लागि विदेशिनुपर्ने स्थिति सृजना हुनु हाम्रो लागि सुखद अवश्य होइन । राज्यबाट उद्योग व्यवसाय स्थापनाको लागि राम्रो नीतिगत व्यवस्था हुन सकेको भए नेपाली युवाहरुलाई धेरै हद सम्म यहीँ व्यवस्थापन गर्न सकिन्थ्यो । जसबाट मुलुक छोटो समयमा नै समृद्धिपथको यात्रामा उक्लिएको हामीले अनुभव गर्न सक्नेथियौँ । तथापि नेपालमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्न नसकेको कारण नै नेपाली युवाहरु विदेशिन बाध्य भएका हुन् । यहाँ उद्यमशिल वातावरण सृजना हुन नसकेको हो ।

अस्थिर सरकार एवं नीतिगत अस्थिरताको प्रभाव
नेपाली जनताहरु संविधान निर्माण पश्चात् मुलुक राम्रो तवरले अघी बढ्ने अपेक्षा सहित निकै आशावादी बनेका थिए । तथापि अझै सम्म पनि नेपालमा राजनीतिक स्थायित्व कायम हुने स्थिति बन्न सकेन । साथै अझ दुखलाग्दो स्थिति त यो बनेको छ कि सरकार परिवर्तन भएसँगै नेपालमा थुप्रै नीतिहरु समेत बदलिने गरेका छन् । एउटा सरकारले शुरुवात गरेका राम्रा नीति तथा कार्यक्रमहरुलाई समेत अर्को पार्टीले नेतृत्व लिएसँगै निरन्तरता नदिइने जुन प्रचलन छ, यो हाम्रो विकासको लागि घातक सिद्ध हुँदै आएको छ ।

स्वार्थबाट माथि उठ्न सक्नुपर्छ
अहिले सम्म हामी अधिकांश व्यक्तिहरु आफ्नो स्वार्थमा मात्र रमाउँदै आएका छौँ । अब हामीले यस्तो परम्परामा केही बदलाव ल्याउनु जरुरी छ । अब हामी आफ्नो मात्र नभई समाज र राष्ट्रको भलाई हुने किसिमका गतिविधिहरुमा केन्द्रित हुनुपर्ने जरुरी छ । आस्थाकै कारण सही र गलतमा उचित तवरले विवेक चलाएर सम्बोधन गर्न सक्ने स्थिति नबन्ने हो भने हामी अझै पनि पछाडि नै रहिरहनेछौँ । यसको असर दीर्घकालिन हुनेछ ।

अब हामीलाई राष्ट्रलाई सही तवरले दीर्घकालिन रुपमा नेतृत्व गर्न सक्ने नेतृत्वको खाँचो छ । मुलुकलाई राम्रो तवरले हाँक्न सक्ने र आशा जगाउन सक्ने स्थिति बन्न सकेको खण्डमा यहाँ राज्यको मात्र आशा नगररी थुप्रै व्यक्तिहरु आफैं नै स्वतःस्फूर्त रुपमा उत्पादन र विकासमा संलग्न हुन सक्छन् । राज्यले आफूले निर्वाह गर्नुपर्ने भूमिका त छँदैछ, तथापि त्यस किसिमको वातावरण निर्माण गरेर समेत नेपाली युवा र उद्यमशिल सोच भएका व्यक्तिलाई यहाँ प्रेरित गर्न सक्नुपर्छ ।

संकल्प सहित अघी बढौँ
नेपाली राजनीतिक दलहरुमा दिगो योजना र रणनीति सहित अघी बढ्ने संस्कार अहिले सम्म पनि विकास हुन सकेन । राष्ट्रको दिगो हितको लागि त सबै राजनीतिक दलहरु एकढिक्का हुन सक्नुपर्छ । हामी सबै दिगो रणनीति सहित अघी बढ्नुपर्छ । राम्रो कामको लागि नेतृत्व जसले गरेपनि त्यस कार्यलाई सार्थक बनाउन साझा संकल्प लिन सक्नुपर्छ । समाज परिवर्तनको निम्ति बदलिँदो परिवेश बमोजिम काम गर्न सक्ने र हरेक वस्तुस्थितिलाई तत्काल सही निर्णय लिई उचित समाधान दिन सक्ने व्यक्तिहरुले उचित स्थान पाउन सके अवश्य पनि हाम्रो चाहनामा केही सुधार हुँदै जान सक्छ ।

शिक्षाको माध्यमबाट हामीले जस्तो विचार, धारणा र दृष्टिकोण निर्माण गरेका छौँ, आफूलाई समयान्तरमा त्यसै किसिमको बनाउँदै गइरहेका हुन्छौँ । यसकारण अब हामीलाई रचनात्मक क्षमता विकास गराउन सक्ने संस्कारमा आधारित शिक्षा आवश्यक छ । ठूलो स्वरमा अरुलाई मात्रै गालि गर्ने तर आफ्नो आचरण र रचनात्मक क्षमतामा कत्ति पनि सुधार ल्याउन नचाहने व्यक्तिले समाजमा कुनै परिवर्तन ल्याउन सक्दैनन् । यसको अलावा हामीले समान शिक्षालाई सबैको पहुँचमा पुर्याउन पनि सकेका छैनौँ । वास्तवमा शिक्षित व्यक्ति पनि राज्यकै सम्पत्ति हुन् । यसकारण शिक्षामा कसैलाई आर्थिक स्थिति, जातीयता, वर्गसमुदाय लगायतको आधारमा भेदभाव गरिनुहुँदै । हाम्रो समाजका सबै व्यक्तिको स्थिति एकै किसिमको छैन । कोही कसैलाई बर्षको १–२ हजार शुल्क तिर्न कठिन हुने स्थिति कायम रहनु त कसैलाई मासिक रुपमा लाखौँ रकम खर्चेर पढ्ने स्थिति प्राप्ति हुनु शिक्षा भित्रको अुसमानता अवश्य हो ।

आवश्यकता अनुसार बदलिनु जरुरी
अहिले हामी विश्वव्यापीकरणको युगमा छौँ । सूचना प्रविधिको युगमा छौँ । जसले गर्दा हाम्रा प्रविधि र कामका तौरतरिकामा छोटो–छोटो समयमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता तीव्र बन्दै गएको छ । विगत दुई–अढाई दशक पहिले हामीलाई जुन आवश्यकताहरु थिए, अहिले ती मध्ये अधिकांश आवश्यकताहरु परिवर्तन भइसकेका हुन सक्छन् । हाम्रा आवश्यकताहरु बदलिएका हुन सक्छन् । सोही बमोजिम नेतृत्व तहमा संलग्न व्यक्तिको सोच पनि बदलिनुपर्ने आवश्यकता अवश्य रहन्छ ।

हामीले विगतमा जस–जसको योगदानको कारण अहिलेको स्वतन्त्रता प्राप्त गरेका छौं, त्यसमा हामी अवश्य पनि अग्रजहरु प्रति कृतज्ञ बन्नैपर्छ । तथापि संसार जसरी बदलिँदै गएको छ, सोहीअनुसार हामी पनि बदलिन सक्नुपर्छ । समयकाल अनुसार सृजना हुने हरेक समस्यालाई एउटै नेतृत्वले समाधान गर्न सक्छ भन्ने नहुन पनि सक्छ । त्यसकारण आफू भन्दा आशालाग्दा पात्रहरुलाई जिम्मेवारी सुम्पिने संस्कार राजनीतिक परिपाटीमा पनि विकास हुनुपर्छ ।

नैतिकता र संस्कार सहितको उच्चस्तरीय शिक्षा: अबको आवश्यकता
व्यक्तिको संस्कार र चरित्र विकासको लागि शिक्षा प्रणालीको भूमिका निकै नै महत्वपूर्ण रहन्छ । पछिल्ला केही दशकहरुमा हामीले विद्यार्थीले विश्वविद्यालयबाट डिग्री प्राप्त गरेको हो भनेर कागजी रुपमा प्रमाणित गर्ने कामलाई नै हामीले शिक्षा मानिरहेका छौंँ । अर्थात शिक्षाको उद्धेश्यलाई निकै नै साँघुरो बनाइएको छ । शिक्षाले हामीलाई केही आशावादी बनाउन सक्नुपर्छ । शिक्षाले हामीलाई उत्पादन र रोजगारीको लागि योग्य बनाउन सक्नुपर्छ । हाम्रो सोचाईको दायरालाई फराकिलो बनाई हरेक कठिनाईमा सम्भावना खोज्न प्रेरित गर्ने शिक्षा हाम्रो आवश्यकता बन्नुपर्छ । अहिले हामीले त्यस किसिमको शिक्षाबाट बालबालिकाहरुलाई वञ्चित बनाएका छौं । शिक्षाले हामीलाई राज्यका नीतिगत दायरा भित्र रही आफू संलग्न क्षेत्रमार्फत अन्य व्यक्तिहरुलाई केही आशा जगाउन सक्ने हुनुपर्छ । आफूलाई आफ्नो रुचिको कार्यमा भित्रै देखि प्रेरित बनाउन सक्ने शिक्षा अबको हाम्रो आवश्यकता बन्नुपर्छ । हाम्रा जति पनि समस्याहरु सृजना भएका छन्, ती सबैका कारणहरु हामीले अवलम्बन गरेको शिक्षा प्रणाली भित्र भेट्टाउन सक्छौँ ।

शिक्षाको माध्यमबाट हामीले जस्तो विचार, धारणा र दृष्टिकोण निर्माण गरेका छौँ, आफूलाई समयान्तरमा त्यसै किसिमको बनाउँदै गइरहेका हुन्छौँ । यसकारण अब हामीलाई रचनात्मक क्षमता विकास गराउन सक्ने संस्कारमा आधारित शिक्षा आवश्यक छ । ठूलो स्वरमा अरुलाई मात्रै गालि गर्ने तर आफ्नो आचरण र रचनात्मक क्षमतामा कत्ति पनि सुधार ल्याउन नचाहने व्यक्तिले समाजमा कुनै परिवर्तन ल्याउन सक्दैनन् । यसको अलावा हामीले समान शिक्षालाई सबैको पहुँचमा पुर्याउन पनि सकेका छैनौँ । वास्तवमा शिक्षित व्यक्ति पनि राज्यकै सम्पत्ति हुन् । यसकारण शिक्षामा कसैलाई आर्थिक स्थिति, जातीयता, वर्गसमुदाय लगायतको आधारमा भेदभाव गरिनुहुँदै । हाम्रो समाजका सबै व्यक्तिको स्थिति एकै किसिमको छैन । कोही कसैलाई बर्षको १–२ हजार शुल्क तिर्न कठिन हुने स्थिति कायम रहनु त कसैलाई मासिक रुपमा लाखौँ रकम खर्चेर पढ्ने स्थिति प्राप्ति हुनु शिक्षा भित्रको असमानता अवश्य हो । यस्तो स्थितिले अहिले हामीले जुन जनशक्ति उत्पादन गर्छौं, ती सबै गुणात्मक रुपमा एकैनाशका त अवश्य हुन सक्दैनन् भन्ने स्वतः पुष्टि गर्छ । यसकारण अबका दिनमा हामीले शिक्षा नीतिमा पनि परिवर्तन ल्याउन सक्नुपर्छ । देशका थुप्रै ठाउँका विद्यालयहरुमा शिक्षक र विद्यार्थीको सङ्ख्याको अनुपातमा खासै धेरै फरक नभएका स्थिति देखिँदै आएको छ । आखिर यस्तो स्थिति किन आयो ? सरकारको ठूलो लगानी भएका सामुदायिक विद्यालयलाई किन प्रतिष्पर्धी बनाउन सकिएको छैन ? शिक्षकहरु नवविकसित ज्ञान र प्रविधि सँग कत्ति अद्यावधिक हुन सकेका छन् ? सबै शिक्षक कर्मचारीले आफ्नो उच्चतम क्षमता उपयोगमा ल्याउन सकेका छन् वा छैनन् ? भन्ने लगायतका कुराहरुमा पनि विचार गरेनौँ भने के हामीले भौतिक पूर्वाधार विकास गर्दैमा शिक्षाको गुणस्तरमा अपेक्षाकृत सुधार आउन सक्ला त ? यस बारेमा पनि अनुगमन र मूल्याङ्कन गरिनुपर्दैन ?

नेपाली समुदायमा अहिले पनि सुन्ने गरिन्छ, ‘अन्त कतै जागिर खान नसकेपनि अन्तिममा शिक्षक बन्न त अवश्य पाइएला नि’ शिक्षा क्षेत्रमा संलग्न भई ज्ञान बाँड्ने पवित्र कार्यलाई हामीले सम्मान गर्न नसक्दाको परिणाम हो यस किसिमको मनस्थिति । यस किसिमको मनस्थिति भएका व्यक्तिले आफूलाई बाध्यात्मक स्थिति बाहेक अद्यावधिक गराउनै चाहँदैनन् । यो मनस्थिति कायम रहे सम्म हामीले शिक्षामा ठूलो परिवर्तनको अपेक्षा गर्न सक्दैनौँ । तसर्थ शिक्षा क्षेत्रलाई विशेष सम्मान प्राप्ति हुने गरी काम गर्न हाम्रो राज्यले अवश्य पनि भूमिका निर्वाह गर्न सक्नुपर्छ । यसकारण अब अब्बल व्यक्तिहरुलाई शिक्षा क्षेत्रमा पहिलो प्राथमिकता दिने किसिमको व्यवस्था हामीले अवलम्बन गर्न सक्नुपर्छ ।

व्यावसायिक तौरतरिकालाई पनि बदल्दै लैजान सक्नुपर्छ

विगतको २–३ दशकमा नेपालको व्यावसायिक वातावरणमा पनि ठूलो परिवर्तन आएको छ । व्यावसायिक क्षेत्रमा संलग्न हुने व्यक्तिको लागि बदलिँदो परिवेश एकसाथ अवसर र चुनौती दुवै बन्दैछ । जुन तरिकाले हाम्रो विगत गुज्रिएको थियो, अब त्यसरी चल्न सकिँदैन । नयाँ प्रविधिहरुलाई अङ्गिकार गर्नको लागि अब हामीले हर दिन प्रयत्न गर्नुपर्ने स्थिति छ । उद्योग व्यवसायलाई नयाँ तरिकाले सञ्चालन गर्नको लागि राज्यले जुन किसिमले वातावरण बनाइदिनुपर्ने थियो, त्यो हुन सकेन । अहिले सम्म हामी जुन ट्रेण्डबाट हिँड्दै आयौँ, त्यही ट्रेण्डलाई मात्रै अवलम्बन गरिरहँदा हाम्रो अवस्था व्यावसायिक हिसाबले प्रतिष्पर्धी बन्न सकिरहेको छैन । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हुने कर्जाको पहुँच नयाँ सोच र योजना सहित राम्रो अध्ययन भएका व्यक्तिलाई परियोजना अनुसार लगानी गर्ने स्थिति बारे कुनै नीतिगत व्यवस्था गर्न सकेका छैनौँ । आशालाग्दा नेपाली युवाहरुले विदेशमा आफ्नो क्षमताको राम्रो उपयोग गरेर राम्रो आम्दानी र त्यहाँको विकासमा ठूलो योगदान पुर्याइसक्दा पनि ती युवाहरुलाई यहाँ उत्पादकत्व वृद्धि, पूर्वाधार निर्माण एवं सामाजिक जागरणको लागि यहीँ काममा लगाउन सकेनौँ । यस्तो स्थिति सृजना हुनुमा राज्यले नेपालमा व्यवसायमैत्री वातावरण बनाउनै नचाहेको पो हो कि भन्ने जस्तो मलाई लाग्छ ।

उत्पादनमूलक क्षेत्रमै जोड दिउँ
पछिल्लो समय अधिकांश नेपालीहरु अनुत्पादक क्षेत्रमा बढी सक्रिय बन्दै गएका छन् । कृषिमा प्रत्यक्ष संलग्न नभई मध्यस्थकर्ताको रुपमा आवश्यकता भन्दा बढी व्यक्ति संलग्न हुँदा उत्पादकको तुलनामा ४–५ गुणा महँगोमा उपभोक्ताले तरकारी किन्नुपरेको छ । उद्योग सञ्चालनलाई प्रश्रय नदिई यहीँ सम्भावना रहेका वस्तुहरुको आयात र उपयोगलाई हामीले बढी महत्व दिने गरेका छौँ । शेयर बजार, घरजग्गा, क्रिप्टो करेन्सी लगायतका अनुत्पादक क्षेत्रमा लगानी बढ्दै जानु एवं समाजमा थुप्रै आपराधिक गतिविधिहरु समेत बढ्दै जानुमा हामीले उत्पादन (वास्तविक क्षेत्र)लाई महत्व दिन नसक्नु मुख्य कारणको रुपमा रहँदै आएका छन् । यसकारण अब राज्यले हाम्रा हरेक समस्यालाई सूक्ष्म ढङ्गले अध्ययन गरेर दीर्घकालिन नीतिगत व्यवस्था एवं कार्यान्वयनमा जोड दिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij