२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

किन जाने भृकुटीमण्डप, कृषि मेलामा : के-के छन् प्रविधिहरु (विस्तृतमा पढ्नुहोस्)

किन जाने भृकुटीमण्डप, कृषि मेलामा : के-के छन् प्रविधिहरु (विस्तृतमा पढ्नुहोस्)

कुखुराकाे अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिन अाकर्षक हुने विश्वास

मेसिनबाटै कुखराका चल्ला उत्पादन देखि थोपा सिँचाई सम्मका प्रविधि
नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा भृकुटीमण्डपमा यही फागुन ६ गते देखि तीन दिनको लागि कृषि मेला आयोजना भएको छ । मेलामा विश्वबजारमा विकास भएका र कृषिको निम्ति आवश्यक नयाँ–नयाँ प्रविधिहरुको अवलोकन गर्न पाइनेछ । यो प्रविधि अहिले नेपालमा मोडर्न एग्रो टेकले प्रवद्धन गर्दै आएको छ ।
खासगरी मेलामा ग्रिन टेक्नोलोजी, थोपा सिँचाईं प्रविधि, कृषिको क्षेत्रमा प्रयोग हुने ट्याक्टरहरु, हाते मेसिनहरु, बिऊ, मल लगायतका प्रविधिहरु अवलोकन गर्न सकिनेछ । मेसिनबाट नै कुखुराको चल्ला उत्पादन गर्ने प्रविधि मेलामा अवलोकन गर्न पाइनेछ । जुन अधिकांश अवलोकनकर्ताहरुको निम्ति नयाँ अनुभव हुन सक्छ ।

के–के छन् मेलामा ?

भारतमा उत्पादित सोनालिका ट्याक्टर
मेलामा भारतीय ब्राण्डको सोनालिका ट्याक्टरको नेपालको आधिकारिक विक्रेता नेपाल अटोमोबाइलका टेरिटरी म्यानेजर प्रभासमान शाक्यले मेलाले कृषकहरुले मेलालाई लाभ लिन सकिने बताए ।
२० देखि १ सय २० एचपी क्षमतामा उत्पादन हुँदै आएको सोनालिका ट्याक्टर नेपालमा २० देखि ९० एचपी क्षमतामा उपलब्ध रहेको उन्ले बताएका छन् ।
यो ट्याक्टर ८० देशमा विक्री हुँदै आएको छ । बार्षिक डेढ लाख ट्याक्टर उत्पादन हुने यो ट्याक्टर नेपालमा अहिले सम्म १३ हजारको सङ्ख्यामा बिक्री भइसकेको छ । नेपालका करिब ४५ ठाउँमा आउटलेट तथा डिलरहरु रहेको यो ट्याक्टर नेपाली बजारमा सन् १९९७ देखि प्रवेश गरेको हो । राम्रो माइलेज दिने र स्पेयर पार्टसहरु नेपालमा नै पाइने भएको कारण पनि कृषकहरुले यो ट्याक्टर रुचाएको शाक्यले बताएका छन् । अहिले यस कम्पनीका टेक्टरहरु ग्राहकको चाहना र क्षमता बमोजिम विभिन्न भेराइटीहरुमा उपलब्ध छन् । यसैकारण पनि नेपालमा राम्रो बिक्री हुन सकेको शाक्यले सेतोघर डट कम सँगको कुराकानीको क्रममा बताएका छन् । नेपालमा यस कम्पनीका ट्याक्टरको विक्री पछिको सेवा पनि राम्रो छ ।

मोडर्न एग्रो टेक्नाेलाेजी 
सप्रोस नेपाल प्रोजेक्टमा १२ बर्ष काम गरेर आफैं कृषिको क्षेत्रमा केही गर्नुुपर्छ भन्ने सोचले नेपालमा २०६५ देखि सक्रिय छन् चेतन आचार्य । उनी आफैंले व्यवस्थापन गरेको मोडर्न एग्रो टेकले ग्रेडिङ मेसिन, प्रोसेसिङ मेसिन, बीऊबिजन उत्पादन, कुखराको अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिन लगायतका विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । अहिले सम्म नेपालगञ्जमा रहेर विश्वबजारमा विकास भएका नयाँ प्रविधिहरु ग्रामीण क्षेत्रमा पुर्याउने काममा संलग्न यस कम्पनीले अब काठमाडौंमा पनि सेवा विस्तार गर्दैछ ।

कसरी उत्पादन हुन्छ मेसिनबाट कुखराको चल्ला ?

सामान्यतया कुखुराले अण्डाबाट चल्ला निकाल्नको निम्ति २८ दिन लाग्ने गर्छ । अण्डबाट चल्ला निकाल्ने समयमा कुखुराले थप अण्डा पार्न पाउँदैन । यसै कुरालाई विचार गरेर नै विकास गरिएको अण्डा कोरल्ने मेसिनले तापक्रमको सन्तुलन बमोजिम २२ दिन देखि २८ दिनको अन्तरालमा अण्डा निकाल्ने काम गर्छ । मोडर्न एग्रो टेक्नोलोजीका प्रबन्ध निर्देशक आचार्य भन्छन्, ‘अण्डाबाट चल्ला निस्कने प्रक्रिया त प्राकृतिक नै हो तर तापक्रमको सन्तुलनको आधारमा यसको विकास तथा वृद्धिमा भने ढिलोछिटो हुन सक्छ । यसै मान्यतामा आधारित भएर नै यस मेसिनले चल्ला उत्पादन गर्दै आएको छ ।’ यो मेसिनले अण्डा निकाल्दा कुखुराले अण्डा कोरल्न लाग्ने समयको बचत भइ कुखुराले अर्को पटक अण्डा उत्पादन गरिसक्ने आचार्य बताउँछन् ।

 

जि सेभेन एग्रिकल्चर प्रा.लि 
५ बर्ष देखि थोपा सिँचाईको क्षेत्रमा सक्रिय व्यक्तिहरुको समूहबाट प्रवद्धित जि सेभेन एग्रिकल्चर प्रा.लि.ले काठमाडौंको सुन्दरीजलमा आफ्नै फार्म सञ्चालन गर्दै आएको छ । यस फार्मका प्रवद्धकहरु अर्जुन लुईंटेल, हरी लुईंटेल, छविलाल केसी, धर्म प्वाली लगायत छन् । खुमलटारमा कार्यालय रहेको यस कम्पनीले ग्रिन हाउस, कौशी खेती, थोपा सिँचाईं प्रविधिको प्रवद्धन तथा विस्तार र नेपालमा सामानहरुको आयात लगायतका काम
हरु गर्दै आएको छ ।
कम्पनीका सञ्चालक हरि लुईंटेल थोपा सिँचाईं प्रविधिको प्रयोगको महत्व बारे प्रष्ट पार्दै भन्छन्, ‘थोपा सिँचाईंको निम्ति प्रयोग भएको पाईप विशेष किसिमको पाइप हो । यो पाइप फुट्दैन, भाँचिदैन । साथै पानी विरुवाको जरामा सिधै पुग्ने भएको कारण नेपालमा यस किसिमको थोपा सिँचाईंं प्रविधि निकै नै आकर्षित बनेको छ । शहरी क्षेत्रमा मात्र नभइ ग्रामीण क्षेत्रमा समेत यो प्रविधिको माग बढ्दो छ ।’ थोपा सिँचाईंको निम्ति आवश्यक पर्ने उपकरणहरु भेन्चुरी, हाईड्रो साइकोलिन फिल्टर, ड्रिप पाइप, फिल्टर, भल्चिङ, प्लाष्टिक, नेट, ड्रिप इरिगेसन लगायत हुन् ।

 

एसकेटी नेपाल प्रा.लि.काे टिलर 
यो कम्पनी ४ जनाको सामुहिक लगानीबाट शुरु भएको हो । पावर टिलर, मिनी टिलर लगायतका सामानहरु किसानलाई उपलब्ध गराउँदै आएको यस
कम्पनीको स्थापना नेपालमा २०६३ मा भएको हो । अहिले यस कम्पनीका डिलरहरु नेपालमा ५० को हाराहारीमा छन् । मिनी टिलरको मूल्य ४० हजार देखि १ लाख सम्म रहेको कम्पनीका सञ्चालक सुवास श्रेष्ठले सेतोघरसँगको कुराकानीमा बताए ।

 

श्रेष्ठ एग्रि इनपुट्स 
कृषिको क्षेत्रमा निरन्तर लागिरहनुभएका गोविन्द भक्त श्रेष्ठले कृषिमा आधुनिकीकरण गर्नको निम्ति विभिन्न मेसिन तथा औजारहरु नेपालमा नै बनाउने काममा संलग्न रहँदै आउनुभएको छ । आयरल्याण्डको डब्लिनबाट स्नातकोत्तर गर्नुभएका र नेपाल सरकारको कृषि कार्यालयमा लामो समय सरकारी जागिर गरेर देशका विभिन्न क्षेत्रहरुमा कृषिको प्रवद्धनको निम्ति विशेष अभियान समेत चलाउनुभएका श्रेष्ठ आफैंले श्रेष्ठ एग्रि इनपुट्स नामक कम्पनी स्थापना गरेर नेपालमा हामीले नै हामीलाई चाहिने अधिकांश सामानहरु उत्पादन गर्न सक्छौं भन्ने किसिमले अभियान चलाउनुभएको छ ।
निःशुल्क रुपमा कसैले मेसिन तथा उपकरण बनाउने सीप चाहेको खण्डमा आफ्नो कम्पनीमा निःशुल्क तालिम तथा जानकारी र सीप सिकाउने काम उहाँबाट हुँदै आएको छ । बारा, इटहरी लगायतका युवाहरुलाई उनीहरुको चाहना बमोजिम निःशुल्क तालिम कारखानाको माध्यमबाट ऊहाँले दिइसक्नुभएको छ ।

भन्सार र भ्याटको कारण नेपालमा उद्योग चलाउन गाह्रो

श्रेष्ठ भन्नुहुन्छ, ‘नेपालमा अहिले रेडिमेड सामान आयातमा भन्सार छुट छ । तर कच्चा पदार्थ आयातको क्रममा भने नेपालमा भन्सार तथा भ्याट गरेर करीब ३३ प्रतिशत सम्म तिर्नुपरेको छ । जबकि कृषिको निम्ति नेपालमा आयात गरिने अन्य तयारी सामानहरु आयातको निम्ति १ प्रतिशत मात्र भन्सार लिने गरिएको छ । नेपालको यस्तो नीतिको कारण नेपालमा नै रहेर उद्योग गर्न चाहने मानिसहरुको मनोबल कमजोर हुने अवस्था आएको हो ।’
श्रेष्ठ हेटौंडामा कृषि मेसिन सम्बन्धी उद्योग खोल्नुपर्ने सोचमा दृढ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij