
समान विशेषता वा गुण भएका व्यक्ति, जनावर, वस्तु आदिको समूहलाई वर्ग भनिन्छ । कतिपयले विद्यार्थीको वर्ग, किसानको वर्ग, मजदुरको वर्ग, महिला वर्ग, जनावरहरूको वर्ग आदिलाइ पनि वर्गका उदाहरणको रुपमा उल्लेख गर्दछन । समान कार्य वा पेशाको हिसाबले यिनीहरु पनि वर्ग हुन सक्छन तर आर्थिक वा सामाजिक आधारमा हेर्दा यिनीहरुमा पनि धनि- गरिब, उच्च् –निम्न आदि हुने गर्दछ l धनी किसान, गरीब किसान, धनी र गरीब मजदूर, धनी र गरीब महिला आदि यसका उदाहरणहरु हुन् l
समाजशास्त्र र मानवशास्त्रमा समान आर्थिक हैसियत, आम्दानी, खर्च, पेसा, जीवनशैली, जीवनका अवसरहरू, इज्जत, शक्ति वा अधिकार भएका मानिसहरूको समूहलाई सामाजिक वर्ग भनिन्छ । सामाजिक वर्ग निर्माणको आधारका बारेमा समाजशास्त्री र मानवशास्त्रीहरूको बीचमा एक मत छैन । कार्ल मार्क्स लगायतका दार्शनिकहरू आर्थिक पक्षलाई मात्र वर्ग निर्माणको आधार मान्दछन् भने म्याक्स वेबरले अधिकार, शक्ति, पद तथा जीवनस्तरजस्ता पक्षहरूलाई वर्ग निर्माणको आधार मान्दछन् । वर्ग निर्माणको जुनसुकै आधार भएपनि यसले समाजका सदस्यहरूलाई उच्च र निम्नको स्तरहरूमा विभाजित गर्दछ जसको कारण समाज विभिन्न स्तरमा स्तरीकृत हुन पुग्दछ । त्यसैले वर्गलाई सामाजिक स्तरीकरणको प्रमुख पक्षको रूपमा लिने गरिन्छ । यसर्थ, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, शैक्षिकलगायतका विभिन्न पक्षको आधारमा समाजलाई विभिन्न स्तरहरूमा स्तरीकृत गर्ने व्यवस्थालाई सामाजिक वर्ग भनिन्छ । वर्गलाई विभिन्न समाजशास्त्री तथा मानव शास्त्रीहरूले आ–आफ्नै तरीकाले परिभाषित गरेका छन् । मार्क्सका अनुसार, “आर्थिक उत्पादनका साधनहरूमा समान सम्ब्नध राख्ने मानिसहरूको समूह नै वर्ग हो ।” त्यस्तैगरी वेबरका अनुसार, “व्यक्तिहरूको समूह जसले वस्तु प्राप्तिमा समान अवसर र एकै खालको जीवन स्तर यापन गर्दछन् भने त्यही नै सामाजिक वर्ग हो ।” अग्बर्न र निम्कोफका अनुसार, “कुनै समाजमा समान सामाजिक हैसियत भएका व्यक्तिहरूको समग्रता नै सामाजिक वर्ग हो ।” लेपियरका अनुसार, “सामाजिक वर्ग भनेको एउटा सांस्कृतिक समूह हो । जसलाई सम्पूर्ण जनसङ्ख्यामा एउटा विशेष स्थिति अथवा पद प्रदान गरिन्छ ।” त्यस्तै गरि टेलरकाअनुसार, “सामाजिक वर्ग भनेको समाजमा रहेको यस्तो वर्ग हो जो समाजमै रहेका अन्य वर्गहरूभन्दा सामाजिक र आर्थिकस्तरको कारणले फरक हुने गर्दछ ।” त्यस्तै बेथ पोटियर (२००३) का अनुसार, मध्यम वर्ग वर्तमान समाजको एक बृहत्तर समुह हो जुन सामाजिक-आर्थिक हिसाबले कामदार वर्ग र उच्च वर्गको विचमा पर्दछ l मार्क्सले मध्यम वर्गलाई बुर्जुवा वर्गको एक भाग अर्थात पेटी बुर्जुवा वा सानो ब्यापारिक समुहभनेका छन् जुन सर्बहारा र पुँजीपतिको बीचमा पर्दछ l
अमेरिकी मार्क्सवादी समाजशास्त्री इरिक ओलिन राईटलेसन् १९८०को दसकमा वर्गलाई फरक धारणाको आधारमा व्याख्या गरेका थिए l उनले जनताको भौतिक रुची, जीवन्त अनुभव, जीवनको अवस्था, आय, सागठानिक क्षमता र सामुहिक कार्यमा सम्लंगनतातथा राजनीतिक सिकाईले वर्गलाई असर गर्ने उल्लेख गरेका छन् । राइटका विभिन्न पुस्तक मध्ये “२१ औं शताब्दीका लागि कसरि पुजिवाद विरोधी बन्न सकिन्छ” (How to Be an Anti-Capitalist for the 21st Century) भन्ने पुस्तक अति महत्वपूर्ण मानिन्छ । जसमा उनले गरिबी, बेरोजगारी र आर्थिक असमानताको उल्लेख गर्दै सामाजिक वर्गको नविन विश्लेषण र पूँजीवादको विकल्पको रूपमा समाजवादलाई उल्लेख गरिएको छ । उनले उत्पादनको सामाजिक सम्बन्ध रत्यस्तो सम्बन्धको आधारमा निर्मितवर्ग र त्यसका जटिलताकोसुक्ष्म र बृहत्तर विश्लेषण गरेका छन् l यी मध्ये मार्क्सको धारणालाई आधार मानि यो लेख तयार गरिएको छ l यो लेखले विश्व स्तरमा मध्यम वर्गको बढ्दो उपस्थिति र नेपालको वर्ग विश्लेषणमा मध्यम वर्गको अवस्थाको वारेमा उल्लेख गर्ने कोशिस गरेको छ l
विश्व स्तरमा मध्यम वर्गको संख्या दिनानुदिन बढी रहेको छ l वाशिंगटन पोस्टले गरेको एक सर्भेक्षण अनुसार, हाल विश्वमा ३.७ विलियन अर्थात करिव ४८ प्रतिशत मानिसहरु मध्यम वर्गमा पर्दछन l सन् २०१५मा मध्यम वर्गको जनसंख्या १.३८ बिलियन रहेकोमा सन् २०३० मा यो ३.४९ बिलियन पुग्ने अनुमान गरिएको छ l अमेरिका र चीनमा लगभग आधा जनसंख्या मध्यम वर्गमा रहेको मानिन्छ l नलेज फर पोलिसी रिसर्च (knowledge4policy.ec.europa.eu) भन्ने संस्थाले सन् २०२० मा गरेको अनुसन्धान अनुसार,अहिलेको मध्यम वर्ग मध्ये २५% सम्पन्नदेशहरुमा बस्दछन् भने ४० % ब्राजिल, रुस, भारत र चीनमा बस्दछन् l ब्रिक(BRIC) देशहरुमा सन् २००० मा G –7 रास्ट्रमा भएको आधा मात्र मध्यम वर्गमा थियो भने हाल त्यो दुइगुना भएको छ र यो अझ बढ्दो छ l त्यस्तैगरी, सन् २०३० मा विश्वको ६६ % मध्यम वर्ग एशियामा रहने अनुमान गरिएको छ र अहिले त्यो अमेरिकामा सबैभन्दा बढी र त्यस पछि चीनमा रहेको छ l त्यस्तै सन् २०३० मा चीनको ७० % जनसंख्या मध्यम वर्गमा जाने छ जसले १० त्रिलीयन डलर बराबरको वस्तु र सेवाको उपयोग गर्ने छ र भारत विश्वकै सबै भन्दा ठुलो मध्यम वर्गीय बजार हुने छ जसले चिन र अमेरिका दुवैलाई उछिन्नेछ l । अहिले सम्पन्न रास्ट्रमा मध्यम वर्गको वृद्धि दर ०.५-१ % मात्र छ तर विकासशिल रास्ट्रमा यो दर ६% भन्दा बढी छ । यो तथ्यांकले के देखाउछ भने विश्वमा मध्यम वर्गको वृद्धि दर अत्यन्त तिब्र रहेको छ त्यसमा पनि छिमेकी रास्ट्र चिन र भारतमा यो अत्यधिक रहेको छ जसले नेपालको मध्यम वर्गको विकासमा पनि प्रभाव पार्ने देखिन्छ l
माथि उल्लेखित वर्गको प्रकारको आधारमा कुनै पनि समाजमा वर्गले व्यक्तिहरूलाई धनी–गरिब, हुने नहुने, उच्च–मध्यम र निम्न लगायतका स्तरहरूमा वर्गीकृत गर्दछ । समाजमा वर्गले विभाजन मात्र गर्दैन यसले वर्गबीचका विभिन्नतालाई पनि इङ्गित गर्दछ । उच्चवर्ग, मध्यम वर्ग र निम्न वर्गको बीचमा वर्गीय विभाजन मात्र नभएर सांस्कृतिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक लगायतका भिन्नता पनि रहेका हुन्छन् । वर्गले वर्गीय चरित्र, वर्गीय चिन्तन तथा वर्गीय व्यवहारलाई समेत देखाउने गर्दछ । अर्थतन्त्रले वर्गको निर्धारण गर्दछ जसले समाजमा बस्ने मानवलाई विभिन्न तह र स्तरहरूमा विभाजन गरेको हुन्छ ।
विश्व बैंकले २०२१ मा गरेको वर्गीकरणमा उच्च, उच्च मध्यम, निम्न मध्यम र निम्न गरी संसारभरिका मुलुकलाई चार आय वर्गमा वर्गीकरण गर्दैआएको छ ।१ हजार ३६ अमेरिकी डलर सम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून आय वर्गमा पर्छन् ।त्यस भन्दा माथि ४ हजार ९५ अमेरिकी डलर सम्म आम्दानी हुनेलाई निम्न मध्यम आय वर्गमा राखिएको छ ।
४ हजार ९६ देखि १२ हजार ६ सय ९५ अमेरिकी डलर सम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखेको छ l अक्स्फार्म-२०२० ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, विश्वका १ % धनि व्यक्तिको मातहतमा ६.९ बिलियन मानिसको भन्दा दुइगुना बढी सम्पत्ति केन्द्रित छ र विश्वको आधा जनसंख्या प्रतिदिन ५.५० डलर भन्दा कममा जीवनयापन गरिरहेका छन् l त्यस्तै गरी, विश्वका जम्मा आठ जना व्यक्तिहरुले विश्वको कुल सम्पत्तिको ५० % भन्दा बढी आफ्नो कब्जामा राखेका छन् l यो तथ्यांक युएनडिपी सन् २००० को शुरुआतताका प्रकाशित गरेको तथ्यांक भन्दा फरक देखिँदैन l उक्त तथ्यांक अनुसार, विश्वका सबै भन्दा धनि २० प्रतिशत मानिसहरुसँग संसारको ८२.७ प्रतिशत सम्पत्ति रहेको छ सबै भन्दा गरिव २० प्रतिशत सँग जम्मा १.२ प्रतिशत सम्पत्ति रहेको छ l यसले पुजिवाद भित्रको वर्गअन्तर र वर्ग विभेदलाई स्पष्ट देखाउँछ । यो अन्तर जति बढ्दै जान्छ, त्यति नै मात्रामा सर्वहाराकरण, कंगालिकरण हुँदै सर्वहारा वर्ग निर्माणको प्रक्रिया तिब्र बन्न पुग्दछ l
नेपाली समाज बहु-उत्पादन स्वरुपको हो, जहाँ आदिम शिकार- संकलित राउटे देखि ग्रामिण क्षेत्रमा रहेको सामन्तवाद र शहरी क्षेत्रमा विकसित पूजीवादको संगम हो l ग्रामिण कृषिमा आधारित उत्पादन स्वरुपमा मध्यम वर्गको उपस्थिति बलियो छ भने सहरी क्षेत्रमा विकसित पुजिवादी उत्पादन स्वरुपले मजदुर वर्ग र निम्न पुजिवादी वर्गको निर्माण गरेको छ l मार्क्सले बहु- उत्पादन पद्दतिको निकै व्याख्या गरेका छन् । त्यस्तो उत्पादन पद्धतिहरू भएको समाजलाई विश्लेषण गर्ने सम्बन्धमा मार्क्सको धारणा निकै स्पष्ट देखिन्छ l मार्क्सका अनुसार,उत्पादनका विभिन्न रूपहरू मध्ये एउटा विशिष्ट हुन्छ, त्यसले नै उत्पादनका अन्य रूपहरूलाई अधीनमा पार्छ । त्यसका सम्बन्धहरूले अरु उत्पादनका स्तर र प्रभावलाई निर्धारित गर्छन्। त्यसरी नै नेपाली समाज पनि सामन्तवादको अन्त्य भइ पूँजीवादी समाज तर्फ रूपान्तरित भएको छ । विश्वव्यापीकरणको बढ्दो प्रभाव र रेमिटान्समा आधारित अर्थतन्त्रले मध्यम वर्ग र पुँजिवादी उत्पादन स्वरुपको विकासमा मद्धत गरिरहेको छ l मध्यम वर्गको तिब्र विकाससँगै नेपाली समाजमा धनी र गरिब बीचको वर्गीय विभाजन तिव्र रूपमा बढिरहेकोछ । पूँजीका स्रोत, उत्पादनशील क्षेत्र, प्रशासनका उच्च ओहदा तथा सरकार संचालनमाउच्च वर्गकै हालिमुहाली रहेको छ । नेपालमा अहिले सामन्तवाद, अर्ध-सामन्तवाद वा पुजिवाद के छ भन्नेमा लामो विवाद रहेको छ l
पुष्पलालले २००६ सालमा प्रस्तुत गरेको दस्तावेजमा सामन्ती, भूमिपति, उदार पुँजीपति, ठूला पुँजीपति, राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति, धनी किसान, मध्यम किसान, भूमिहीन र मजदुरहरू रहेको उल्लेख गरेका थिए ।पुष्पलालले उल्लेख गरेको यो वर्ग विश्लेषण तत्कालिन नेपाली समाजको सन्दर्भमा भन्दा पनि चीनमा माओत्सेतुङले सन १९२६ र सन् १९३३ मा गरेको वर्ग विश्लेषणलाइ आधार मानी गरिएको पाइन्छ। त्यसपछि नेकपा (माले) ले २०४६ सालमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाली समाजलाइ अर्ध-सामन्ती भनि उल्लेख गरेको छ भने २०७१ को प्रतिवेदनमा सामन्तवादबाट पुजिवादमा रुपान्तरण भैरहेको उल्लेख गरिएको पाइन्छ। तत्कालिन नेकपा 〈माओवादी केन्द्र〉ले सशस्त्र संघर्षको निशानामा सामन्त, जमिनदार, नोकरशाह र दलाल पुँजीपति वर्गलाइ राखेको थियो र प्रेरक शक्ति भनेर सर्वहारा, खेत मजदुर, मध्यम किसान, धनी किसान, निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाइ राखेको थियो (खनाल,२०७६) l
नेपाली समाजको वर्गीय स्वरूपको बारेमा डेबिड सेडन, जोन क्यामरुन र पायर्स ब्ल्याकीहरूले नेपालमा सङ्कट (Nepal in Crisis) नामक कृति (१९८०) मा नेपालको वर्गीय अवस्थालाइ निम्नानुसार वर्गीकरण गरेका छन् ।
क) कुलीन वर्ग:
यस वर्गअन्तर्गत राजा, राजपरिवार, भाइभारदार र उच्च वर्गका राणाहरू, सेनाका उच्च पदस्थ व्यक्तिहरू, उद्योग तथा पर्यटन क्षेत्रमा विभिन्न तारे स्तरका होटल सञ्चालकहरू आदि पर्दछन् । यस वर्गको सामाजिक, आर्थिक, राजनैतिक हैसियत तथा भूमिका उच्च रहेको उनीहरूको विश्लेषण रहेको थियो l
ख) बुर्जुवा वर्ग:
यस वर्ग अन्तर्गत ठूला साहूमहाजन, ठूला उद्योगपति, ठूला भूमिपतिहरू आदि पर्दछन् । यिनीहरुसँग उत्पादनका साधनहरू प्रशस्त हुन्छन् र नाफा कमाउने उद्देश्यबाट लगानी गरिरहेका हुन्छन् ।
ग) मध्यम वर्ग:
मध्यम वर्गअन्तर्गत अधिकृत तहका कर्मचारीहरु , डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, प्रशासकहरू जस्ता पेसागत वर्गका मानिसहरु पर्दछन् ।
घ) निम्न मध्यम वर्ग:
यस वर्गअन्तर्गत स–साना पसले, सहायक स्तरका कर्मचारी, लेखनदास, विद्यालयका शिक्षकहरू, निम्नस्तरका कारीगर र मध्यम स्तरका जनशक्ति पर्दछन् । यिनीहरू आर्थिक क्रियाकलापबाट बचत गर्न नसक्ने तर जीविका गर्न सक्ने वर्ग हुन् ।
ङ) कृषक वर्ग: यस वर्गअन्तर्गत धनी, मध्यम तथा साना खाले सबै किसानहरू पर्दछन् । आफूसँग जग्गा जमिन पनि भएका र अरूको जग्गामा काम गर्न जाने कृषकहरु पनि पर्दछन् ।
च) ग्रामीण तथा औद्योगिक सर्वहारा वर्ग:
यसअन्तर्गत पियन, कुचीकार, भरिया, होटलका तल्लो स्तरका श्रमिक, साना तथा ठुला उद्दोगमा काम गर्ने मजदुरहरु र सडक तथा राजमार्ग निर्माणमा संलग्न कामदारहरू पर्दछन् । यिनीहरुको यो वर्ग विश्लेषणलाइ आर्थिक वर्गको रुपमा व्याख्या गर्दा जम्मा तिन वर्गहरु देखा पर्दछन् :
उच्च धनी, सामन्त र पुजिवादी वर्ग, मध्यम वर्ग र निम्न स्तरका कामदार वर्ग l
पछिल्ला अध्ययनहरुले वर्गलाई प्रति व्यक्ति आम्दानीको आधारमा विभाजित गरेको देखिन्छ l एसियाली विकास बैँकको प्रतिवेदन (२०१२) अनुसार, प्रति दिन दुइ डलर भन्दा कम आय भएका गरिबको संख्या २१.७ प्रतिशत, २-९ डलर कमाउनेको संख्या ७४.८ प्रतिशत, १०-१९ डलर कमाउनेको संख्या ३.१ प्रतिशत, २०-५० डलर कमाउनेको संख्या ०.३ प्रतिशत र ५० डलर भन्दा बढी कमाउनेको संख्या जम्मा ०.१ प्रतिशत रहेको छ l त्यस्तै, हामी, साफे र अक्स्फार्मले संयुक्त रुपमा प्रकाशन गरेको एक प्रतिवेदन २०१९ का अनुसार, नेपालका १० प्रतिशत धनी मानिससँग ४० प्रतिशत गरिब जनसङ्ख्यासँग भन्दा २६ गुना बढी सम्पत्ति छ । सन् २०१८ मा नेपालको सबैभन्दा धनी व्यक्तिको सम्पत्ति २० करोड अमेरिकी डलर बराबरले वृद्धि भयो । यो सन् २०१७ को भन्दा १४ प्रतिशतले बढेर १ अरब ५० करोड अमेरिकी डलर बराबर पुग्यो । यसले के देखाउँछ भने नेपालमा पूँजीको केन्द्रीकरण तिब्र रुपमा भएको छ र गरिवको संख्यामा निकै वृद्धि भएको छ l नेपालमा पनि निम्न मध्यम वर्ग र निम्न वर्गको जनसंख्या निकै ठूलो रहेको छ l एसियाली विकास बैँकको प्रतिवेदन (२०१०)ले कमाइका आधारमा नेपालमा ६१ लाख ३० हजार अर्थात् कुल जनसंख्याको २३ दशमलव ४ प्रतिशत मध्यम वर्गीय परिवार रहेको देखाएको छ। यस प्रतिवेदनले दैनिक १ सय ५० देखि १ हजार ५ सय रुपियाँसम्म कमाउने व्यक्तिलाई मध्यम वर्गीय भनी उल्लेख गरेको छ। मध्यम वर्गलाई पनि आम्दानीकै आधारमा तीन तहमा छुट्याएर राखेको छ । दैनिक प्रतिव्यक्ति आम्दानी रु. १५०-३०० सम्मको तल्लो मध्यम वर्ग जुन ७३.१ प्रतिशत रहेको छ भने रु. ३०१-७५० बीचको वर्ग जुन २३.८ प्रतिशत रहेको छ । त्यस्तै रु. ७५१-१५०० मासिक आम्दानी हुने माथिल्लो वर्ग जसको जनसंख्या ३.२० प्रतिशत रहेको छ l सन् २०१६ मा नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदनका अनुसार नेपालमा करिब ३५ प्रतिशत मध्यम वर्गीय नागरिक रहेका देखिन्छन् ।जाति र जन-जाति तथा जातको रुपमा नेपालजस्तो सांस्कृतिक विविधता भएको मुलुकमा कुन जातिभित्र मध्यम वर्गीय परिवार बढी छन्, कुन जातिभित्र कम छन् भन्ने पहिचान भएको छैन र यो अनुसन्धानको बिषय नै रहेको छ । तैपनि, नोकरी र विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू मध्यम वर्ग भित्र पर्छन् भनी सजिलै अनुमान गर्न सकिन्छ। सरकारी तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि हाल नेपालको १८ प्रतिशत प्रति दिन १.९० डलर कमाउने र गरिबीको रेखा मुनि रहेको छ l
सामान्य रुपमा हेर्दा मध्यम वर्गमा पढेलेखेका र पेशागत क्षेत्रमा रहेका व्यक्तिहरु हुन्छन् । राजनीतिक पार्टीलाई हेर्ने हो भने पनि सक्रिय रुपमा काम गर्ने अधिकांश व्यक्ति नेता तथा कार्यकर्ताहरु मध्यम वर्गकै छन्। डाक्टर, पत्रकार, लेखक, शिक्षक, इन्जिनियर जस्ता बुद्धिजीवी जसलाई हामी इन्टेलेजेन्सिया भन्छौं, यी सबै यही वर्गबाट आएका हुन् । जुन अत्यन्त सजग र जागरुक वर्गमा पर्दछन् । मार्क्सले ढुलमुले वर्ग र अवसरवादी वर्ग भनि ब्याख्या गरेको मध्यम वर्गलाई अमेरिकन पत्रिका सिकागो ट्रिब्युन (chicagotribune.com) मा दिएको अन्तरवार्तामा देशगत ढंगले मध्यम वर्गलाई फरक तरिकाले बुझ्नुपर्ने उल्लेख गरेका छन् l उनले जर्मनको मध्यम वर्ग कायर भएको तर बेलायत र अमेरिकाको मध्यम वर्ग ससक्त भएकोले जर्मनको परिवर्तनमा मध्यम वर्गको भूमिका गौण र बेलायत र अमेरिकामा अत्यन्त ससक्त भएको उल्लेख गरेका थिए l नेपालमा मध्यम वर्गको भूमिका अत्यन्त शसक्त रहेको तथ्य २००७, २०३६, २०४६, २०६२/६३ र माओवादी आन्दोलनले पुस्टि गर्दछ l अहिलेका नेपालका प्रमुख राजनीतिक दलहरुलाइ पनि यही वर्गले नेतृत्व गरेको छ र उनीहरुका कार्यक्रमहरु पनि मध्यम वर्ग केन्द्रित रहेको देखिन्छ l बैदेशिक रोजगार र यसवाट प्राप्त आम्दानीको कारणले नेपालमा मध्यम वर्गको उपस्थिति बढ्दो रुपमा रहेका छन् एकातिर भने अर्कोतिर श्रमिक तथा मजदुर वर्गको संख्या निकै कम रहेको छ l
उद्योगधन्दाको विकाश नहुनु, सेवा क्षेत्रमा मध्यम वर्गको हालीमुहाली हुनु, थोरै मात्र भएपनि हरेक नेपालीसंग केहि जग्गा जमिन र जायजेथा हुनु आदि कारणले नेपालमा मध्यम वर्गको संख्या अत्यधिक रहेको छ l यो तथ्य विश्व, दक्षिण एशिया र नेपालको बढ्दो मध्यम वर्गको संख्याले पनि पुस्टि गर्दछ l अहिले नेपालमा मध्यम वर्गको ब्यबस्थापन निकै जटिल र चुनौतिपूर्ण देखिएको छ र यदि यो वर्गको सही व्यवस्थापन गर्न सकिएन भने नेपालमा अर्को उथलपुथल नआउला भन्न सकिँदैन l
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij