
काठमाडौं । कोरोना महामारीका कारण नेपालमा विद्युतीय कारोबारतर्फ ग्राहकहरु आकर्षित भएका छन् ।कोरोना महामारीका कारण अहिले बैंकसम्म पुगेर कारोबार गर्नेहरु भन्दा विद्युतीय माध्यमबाट कारोबार गर्नेको संख्या बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले डिजिटल बैंकिङ कारोबारमा जोड दिदैं आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार असारमा महिनामा एटीएमबाट ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ । जेठमा ४० अर्ब २७ करोड कारोबार र वैशाखमा २७ अर्बको कारोबार एटीएमबाट भएको थियो ।
तथ्यांक अनुसार असारमा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड १ लाख ७९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ६ लाख ९६ हजार, आइपीएस प्रयोग गर्नेको संख्या ५ लाख ९६ हजार रहेको छ ।
त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५८ लाख १७ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ६ लाख ५३ हजार रहेको छ । बैशाखमा मोबाइल बैंकिङबाट आठ अर्ब ६४ करोड रुपैयाँ कारोबार भएकोमा असारमा आइपुग्दा १८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार भएको छ ।
महामारीको यो समयमा एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij