नेपालमा एलपि ग्यास वितरणको क्षेत्रमा कार्यरत व्यवसायीहरुले राज्यले आफूहरुले उपभोक्ताको हितको निम्ति उठाएका समस्या समाधानमा चासो नदेखाए आफूहरुले सञ्चालन गर्दै आएको डिलरको साँचो राज्यलाई हस्तान्तरण गर्ने चेतावनी दिएका छन् । अहिले ग्यास वितरणको क्षेत्र निकै नै चुनौतीपूर्ण रहेको र व्यवसायीहरुले विभिन्न चुनौतीहरुलाई सामना गर्दै व्यवसाय गर्दै आएको उनीहरुको तर्क छ । ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापा भन्छन्, ‘राज्यले यस क्षेत्रको सुधारको निम्ति कानुन सम्मत तवरले ल्याएका हरेक नयाँ व्यवस्थाहरु मान्न हामी तयार छौं । तर ती व्यवस्थाहरु उपभोक्ता र
व्यवसायीलाई मर्कामा नपार्ने हुनुपर्छ ।’
ग्यास वितरण क्षेत्र समस्या नै समस्याले भरिएको क्षेत्र हो । अहिले पनि यो व्यवसाय व्यवस्थित बन्न सकेको छैन । व्यवसायीले पाउने मुनाफा यस क्षेत्रमा निकै नै कम छ । निकै ठूलो रकमको लगानी आवश्यक पर्ने क्षेत्र भएपनि यस क्षेत्रमा लगानी बमोजिम प्रतिफल छैन । अहिले प्रतिसिलिण्डर ३२ रुपियाँमा डिलरलाई उपलब्ध गराइने सिलिन्डरमा घरायसी प्रयोजनको निम्ति वितरण गरिने ग्यासमा भ्याट लगाइएको छ तर व्यावसायिक प्रयोजनको निम्ति वितरण गरिएको सिलिण्डरमा भने व्यवसायीले भ्याट दाबी गर्ने अवस्था छ । जुन ठीक उल्टो छ ।
अहिलेको अवस्थामा काठमाडौंमा ग्यास डिलरको स्वीकृति डिष्ट्रिव्युटरले मनलाग्दी तवरले वितरण गरेका छन् । कुन डिष्ट्रिव्युटरले कुन पसललाई डिलर नियुक्ति गरेको छ भन्ने कुरा कम्पनीलाई समेत जानकारी छैन । चामलको पसल गर्दै आएका व्यवसायीले १० ओटा सिलिण्डर राखेर ग्यास डिलरको प्रमाणपत्र पाएका छन् ।
ग्यासको सिलिण्डर बापत शुरुमा उपभोक्ताबाट लिइने रकम धरौटीको रुपमा राखिएको भनेपनि आवश्यक परेको बेला उपभोक्ताले सहज रुपमा ग्यासको सिलिण्डर साट्न सक्ने अवस्था छैन । धरौटी भनिने सिलिण्डर डिष्ट्रिव्युटरले डिलरलाई बेचेको शैलीमा सबै पैसा लिएर मात्र दिने तर आवश्यक परेको समयमा ग्यास उपलब्ध नगराउने अवस्था पनि छ । डिलरका सञ्चालक र कर्मचारीको निम्ति वीमा गर्नुपर्ने आवश्यकता पनि टड्कारो बनेको छ ।
हिजो मात्रै ग्यासको प्रति सिलिण्डर २५ रुपियाँ मूल्य बढाइएको छ । जुन वेरोजगारको मारमा परेका युवालाई थप मार पर्ने गरी आएको हुँदा जनताको हितमा छैन । राज्यले यसरी मूल्य बढाउनुहुँदैन । मूल्य बढ्न नदिनको निम्ति राज्य घाटामा नै भए राज्यकोषबाट सहुलियतमा नै ग्यास उपलब्ध गराउन तत्पर रहनु जरुरी रहन्छ । उपभोक्तालाई मार पर्न नदिनको निम्ति ग्यासलाई अनिवार्य आवश्यकताको वस्तुको रुपमा लिइ घरायसी प्रयोजनको निम्ति प्रयोग गरिने ग्यासमा लगाइएको भ्याट खारेज गरिनुपर्छ ।
डिष्ट्रिव्युटरले जथाभावी वितरण गरेका डिलरको कारण कम्पनी समेत अप्ठ्यारोमा परेका छन् । पछिल्लो समय ग्यासमा फाइबर अवधारणा बमोजिम सिलिण्डर वितरण गर्ने योजनामा सरकार छ । तर राज्यले अहिले बजारमा भएका करिब ७० लाख ग्यास सिलिण्डरहरुको कसरी व्यवस्थापन गर्ने हो ? त्यो भने निकै चूनौतीपूर्ण छ । त्यसको अलावा राज्यले विना मापदण्ड जथाभावी रुपमा बोटलिङ प्लाण्ट लगाउने इजाजत पत्र वितरण गरिरहेको छ, यसले पनि भविष्यमा निकै ठूलो समस्या ल्याउन सक्छ ।
ग्यास प्रयोग सम्बन्धमा समय समयमा विभिन्न ठाउँहरुमा ग्यासको कारण दुर्घटना भएका कुराहरु पनि समाचारमा सुन्नुपर्छ । यसरी हुने दुर्घटना अधिकांश उपभोक्ताको कमजोरीको कारणले नै हुने हुन्् । यसैकारण ग्यासको प्रयोग सम्बन्धमा उपभोक्ता समेत जागरुक हुनु जरुरी रहन्छ ।
चन्द्र थापा अधिकृत ग्यास व्यवसायी महासंघका महासचिव हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij