२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विप्लव नेकपा कार्य भार हेरफेर, यस्तो तोकियो नयाँ जिम्मेवारी

विप्लव नेकपा कार्य भार हेरफेर, यस्तो तोकियो नयाँ जिम्मेवारी

प्रतिबन्धित नेकपाले आफ्ना नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । डेढ साताअघि बसेको बैठकले पार्टीको कमान्ड र ब्युरोको नेतृत्व फेरबदल गरेको हो । फेरिएको संरचनामा राजधानीसहितको मध्यकमान्ड महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’कै निगरानीमा रहने स्रोतले बतायो ।

चार कमान्ड रहेको संगठन संरचनामध्ये सो पार्टीले मध्यकमान्डमा राजधानी काठमाडौंलगायत जिल्लालाई समेटेको छ । मध्यकमान्डलाई हेडक्वार्टर (विप्लव)को प्रत्यक्ष निगरानीमा रहने गरी इन्चार्जमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तोकिएको छ । पछिल्लोपटक मध्यकमान्ड हेर्दै आएका हेमन्तप्रकाश ओली‘सुदर्शन’ काभ्रेबाट पक्राउ परेका थिए ।

स्थायी समिति बैठकले मध्यपश्चिम कमान्डको जिम्मेवारी चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई दिएको छ । त्यो क्षेत्र हेर्दै आएका स्थायी समिति सदस्य सन्तोष बुढामगर‘विषम’लाई पूर्वी कमान्डको जिम्मेवारी तोकेको छ । चन्द महासचिव विप्लवका दाइ हुन् ।

पूर्वी कमान्डको जिम्मेवारी सम्हाल्दै आएका अनिल बिरहीलाई प्रकाशन विभाग तोकिएको छ । यसअघि प्रकाशन हेर्दै आएका गुणराज लोहनीलाई सो विभागबाट हटाइएको छ । पश्चिम कमान्ड र अन्तर्राष्ट्रिय समन्वय विभागमा स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोला‘कञ्चन’लाई पुरानै जिम्मेवारी तोकिएको छ । गत २८ फागुनमा सरकारले विप्लव नेतृत्वको पार्टीका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएपछि सो पार्टीले भूमिगत शैलीमा पार्टी सञ्चालनसहित गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij