
प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।
काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेसन/एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी (एमओयू) गरेको थियो । त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत उक्त विषय सानोठिमी क्याम्पसमा स्नातक तहमा पठनपाठन गरिएको थियो । काङ्नाम विश्वविद्यालयले पन्ध्रदेखि बीस जना विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्तिसमेत दिएको थियो ।