
प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई सर्वाेच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकार अन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरिदिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरि प्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नंं. १ बाट बैशाख ७ गते पक्राउ परेका आरपी भन्ने रुद्र प्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो।
घिमिरेलाई जितगढी विजयोत्सव मनाउदै गर्दा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा पक्राउ गरिएको थियो भने पक्राउ लगत्तै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको लागि थुनामा राख्न नेपाल प्रहरीलाई निजलाई अनुमति दिएको थियो।
मंगलबार सर्वाेच्च अदालतमा भएको बहसका क्रममा बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने, सुरेन्द्र भण्डारी र डा. नारायण प्रसाद घिमिरे तथा अधिवक्ताद्धय अनन्तराज लुईंटेल र विकास भट्टराईले पंचायती कालमा भन्दापनि पछि फर्केर घिमिरेलाई पक्राउ गरिएको उल्लेख गर्दै तत्काल थुनामुक्त गर्न माग गरेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij