
अज्ञात रोगले महामारीको रुप लिएपछि गाउँमा औषधि सहित चिकित्सकको टोली पुगेको छ। नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका पहलमा आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरले चिकित्सक सहित औषधि गाउँमा पु-याएको हो।औषधि लिएर विशेषज्ञ चिकित्सक टोली गाउँमा पुगे पछि स्थानीय खुशी भएका छन्।
अज्ञात रोगका कारण शनिबारसम्म ९ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढि बिरामी छन्। रोग फैलिदै गएपछि रोगको पहिचान र नियन्त्रणका लागि औषधि सहित विशेषज्ञ डाक्टर केएन पौडेल नेतृत्वको ४ जना चिकित्सकको टोली ताँजाकोटमा पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए।
चिकित्सकको टोली गाउँमा पुगेसँगै मैला स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन गरिएको छ। आज दिउँसो ४ बजे सम्म १ सय ३८ जनाको नमुना संकलन गरी रोग पहिचान गर्ने कार्य भइरहेको ताँजाकोट पुगेका चिकित्सक टोलीका टिमलिडर डाक्टर केएन पौडेलले बताए। उनले रोगको लक्षण हेर्दा इन्फ्लुएन्जा रुघाखोकी भएकोे शंका गरिएको भए पनि नमुना परीक्षण नहुँदा सम्म भन्न नसकिने बताए। नमुना संकलन गरी २४ घण्टा भित्र काठमाडौं पठाउनु पर्ने डा पौडेलले जानकारी दिए।
रोग पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको छ। चैत्र २६ गतेदेखी फैलिएको अज्ञात रोगका कारण शनिबार सम्म मृत्यु हुनेको संख्या ९ पुगिसकेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij