
लाखौँ रुपैयाँ ठगी र जवरजस्ती करणी गरेको अभियोगमा दाङकाे तुलसीपुर उपमहानगरपालिका, ११ बेलगनारका महेश भनिने भुवन धिताल पक्राउ परेका छन् । उनलाई ठगी र जवरजस्ती करणी गरेको भन्ने पीडितहरुको जाहेरीका आधारमा पक्राउ शुक्रबार सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
५ जना पीडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टाछुट्टै निवेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको हो । पक्राउ परेका धितालको १ करोड ६९ लाख रकम भरेको चेक, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीले जनाएको छ ।
जलजला अनलाइनको पत्रकार परिचय पत्र बोकेका उनको साथबाट चारवटा खाली तमसुकलगायत कागजातसहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटीसमेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको प्रहरीले जनाएकाे छ । पक्राउ परेका धितालले लगानी गरे राम्रो कमाई हुन्छ भन्दै शैक्षिक स्तर कमजोर भएका, श्रीमान विदेश गएका र एकल महिलासँग पैसा उठाएर ठगी गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनायो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij