
जापानले १४ वटा क्षेत्रमा दक्ष नेपाली कामदार लैजाने भएको छ । कामदारले जापानी नागरिकसरह सेवा र सुविधा पाउनेछन् । नेपाल र जापान सरकारबीच सोमबार सहयोग समझदारी (एमओसी) भएपछि श्रम भिसामा दक्ष नेपाली कामदार जापान जाने बाटो खुलेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा समझदारीमा नेपालका तर्फबाट श्रम मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन् ।
समझदारी अप्रिल १ देखि कार्यान्वयनमा आउनेछ । समझदारीअनुसार ‘सीप’ र ‘उच्च सीपयुक्त’ कामदार मात्रै जान पाउनेछन् । सम्बन्धित कार्यक्षेत्रमा अनुभव भएकालाई सीप र उच्च तहको अनुभव भएकालाई उच्च सीपयुक्त कामदार भनेर वर्गीकरण गरिएको छ । सीप मात्रै भएका श्रमिकले बढीमा ५ वर्षसम्म काम गर्न पाउनेछन् । उच्च सीपयुक्त कामदारको अवधि ५ वर्षपछि पनि थपिनेछ । उच्च सीपयुक्त कामदारले परिवारका सदस्यलाई पनि जापान लैजान पाउनेछन् ।
समझदारीअनुसार १८ वर्ष उमेर पुगेका नेपालीले जान पाउनेछन् । श्रममन्त्री विष्टले सरकारी संयन्त्रबाट कामदार भर्ना गरिने भएकाले कोही नेपाली नठगिने दाबी गरे । ‘जापानी नागरिकले सरह सेवा, सुविधा र सर्तमा काम गर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण छ,’ उनले भने ।
श्रम बजारमा श्रमशक्ति अभाव भएपछि जापानले ५ वर्षमा ३ लाख ४२ हजार विदेशी श्रमिकलाई रोजगारी दिने निर्णय गरेको हो । राजदूत साइगोका अनुसार कुन देशबाट कति कामदार लिने भनेर जापान सरकारले संख्या भने यकिन गरेको छैन ।
कार्यक्षेत्रअनुसार भाषा परीक्षा
भाषा र सीप परीक्षणमा उत्तीर्ण हुनेले मात्रै जापान जान पाउनेछन् । शैक्षिक प्रमाणपत्र भने चाहिँदैन । आधारभूत जापानी भाषासँगै कार्यक्षेत्रसँग सम्बन्धित भाषा र सीपको परीक्षण हुनेछ । ‘भाषाको प्रमाणपत्र मात्रै बोकेर काम छैन । परीक्षाले महत्त्व राख्छ,’ राजदूत साइगोले भने, ‘कुन क्षेत्रका लागि कस्तो भाषा चाहिन्छ भन्ने विषयमा जापानको सम्बन्धित मन्त्रालयले गृहकार्य गरिरहेको छ । त्यो छिट्टै सार्वजनिक हुनेछ ।’ समझदारीपत्रमै काम गर्ने क्षेत्र छुट्याइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij