
सर्वसाधरणलाई सहज र सरलीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षअघि मात्रै स्थापना भएको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लथालिंग र भताभुंग अवस्थामा पुगेको छ ।प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीलगायतका पदाधिकारीको गैरजिम्मेवारीपूर्ण कामकारबाहीका कारण प्रतिष्ठान लथालिंग बन्न पुगेको स्थानीयको गुनासो छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले समेत यस प्रतिष्ठानलाई निगरानी र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले उपकुलपति भण्डारीलगायतका पदाधिकारीहरू मनोमानी ढंगले चलेको र प्रतिष्ठानको सेवामा यथोचित समय नदिएको पाइएपछि सरकारलाई यस्तो निर्देशन दिएको हो । २०७४ असोजमा स्थापना भएको प्रतिष्ठानलाई प्रदेश ५ को स्वास्थ्य क्षेत्रको सुधारको अगुवाइ गर्नुपर्ने जिम्मेवारी छ । तर, सो अनुसार यसले हाल कुनै जिम्मेवारी वहन गर्न सकेको छैन ।
प्रतिष्ठान आपसी विवादमा फस्दा स्वास्थ्यसम्बन्धी अत्यावश्यकीय सेवा प्रभावित भएका छन् । प्रसूती सेवा, मातृ स्वास्थ्य सेवा, सिकलसेल, पोषणलगायतका अत्यावश्यकीय कार्यक्रम अवरुद्ध छन् ।
स्वास्थ्यकर्मी मदन वलीका अनुसार पोषण गृहलाई डाक्टरको क्वार्टरमा परिणत गरिएको छ । एमबीबीएस कक्षा सञ्चालनमा अन्योल छ । संसदीय समतिले प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुर रहेकाले सो कार्यालय तत्काल हटाउन निर्देशन दिए पनि उपकुलपतिले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेकी छैनन् ।
संसदीय समितिले नै प्रतिष्ठान सञ्चालनमा राजनीतिक पूर्वाग्रह देखिएको ठहर गरेको छ । यस्तै, प्रतिष्ठान प्रशासनमा समन्वय र समझदारीको अभाव हुँदा सरकारका अनुदानका कार्यक्रमसमेत प्रभावित भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij