श्रीमती सहित उपचारको लागि अमेरिकामा रहेका प्रचण्ड विरुद्द एक पछि अर्को गर्दै उजुरी पर्न थालेको छ | अमेरिका स्थित एक नेपाली मुलका नागरिकले अमेरिकामा प्रचण्ड आतंककरी भएको भन्दै पक्राउ गर्न उजुरी दिए संगै नेपालमा पनि पक्राउ गर्नको लागि अप्रत्यक्ष शैलीमा विज्ञप्ति र ज्ञापन पत्र बुझाईएको छ |
दश वर्षको सशस्त्र गृह युद्दको बेला युद्ध अपराध, मानवता विरुद्धको अपराध लगायतका अन्य जघन्य वा गम्भीर अपराधका घटना भएको भन्दै दोषीलाई कारबाहीको माग राखी काठमाण्डौमा संयुक्त राष्ट्र संघ, मानव अधिकार संगठनको उच्च आयुक्तको लागि ज्ञापन पत्र बुझाईएको छ |
मंगलबार बुझाइएको ज्ञापनपत्रमा डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरि तिमल्सिनाले हस्ताक्षर गरेका छन्।
‘श्रृखलाबद्ध मानवता विरोधी अत्याचार र त्यसबाट पीडित भएका व्यक्तिका पीडाको साक्षी हामी पनि हौं। आफ्नो देश, समाज र छरछिमेकमा भएका मानवता विरोधी अत्याचारबाट पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोधनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्षकै रजगज झन घनीभूत हुँदै गएको स्थितिले हामीले अत्यन्तै चिन्तित बनाएको छ। यस स्थितिमा सक्रिय नागरिकको रुपमा देश, समाज, पीडित तथा समग्र मानव समुदायप्रति कर्तव्यबोध सहित गम्भीर ध्यानाकर्षण गर्दछौं’, ज्ञापन पत्रमा भनिएको छ।
ज्ञापनपत्रमा युद्ध अपराध, मानवता विरुद्धको अपराध, व्यक्ति हत्या, बलपूर्वक बेपत्ता, अपहरण, यातना, अंगभंग, यौनजन्य हिंसा लगायतका जघन्य अपराधको फौजदारी दायित्वबाट उन्मुक्ति सम्भव छैन भन्ने कुरा स्थापित गर्नुपर्ने भनिएको छ।
‘मानवता विरुद्धको अत्याचारहरु भविष्यमा दोहोरिन नदिनका लागि दोषीलाई सकेसम्म देशभित्रै कानुनी कारबाहीको दायरामा ल्याउनुपर्दछ र अपराधको गम्भीरताका आधारमा सजायको भागी बनाउनुपर्दछ’, ज्ञापनपत्रमा भनिएको छ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij