
सरकारले नीजी क्षेत्रबाट पनि आणविक भट्टी संचलानमा ल्याउन मार्ग प्रशस्त गर्ने गरि ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथी सत्तारुढ दलकै सांसदहरुले विरोध जनाएका छन् |
बुधबार संसदमा पेश भएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको प्रारम्भिक छलफलमा नेकपाका प्रमुख सचेतक देव गुरुङले निजी क्षेत्रबाट र विदेशी लगानीमा आणविक भट्टीमा भित्र्याउने विषयले मुलुकको राष्ट्रियता संकटमा पर्न सक्ने बताए ।
‘निजी क्षेत्रमा आणविक भट्टीहरु खोल्ने प्रक्रियाले मुलुकको अस्मिता, राष्ट्रिय स्वाधीनता गम्भिर संकटमा पर्नेछ’ उनले भने । तर, युरेनियम उत्खननलगायतका विषयमा अनुसन्धानका लागि भने नेपाल सरकारको नेतृत्वमा सीमित गरेर जान सकिने उनको भनाइ थियो ।
नेकपाका सांसद खगराज अधिकारीले पारमाणविक भट्टीहरु सञ्चालन गर्न निजी क्षेत्रलाई दिने या विदेशी लगानी गर्न दिन सक्ने अवस्थामा नेपाल पुगिनसकेको बताए ।
‘पारमाणविक भट्टीहरु सञ्चालन गर्न निजी क्षेत्रलाई दिने या विदेशी लगानी गर्ने कुरामा हामी यति छिटो त्यो तयारीमा हामी पुगेका छैनौं’, उनले भने, ‘विदेशी लगानी यस क्षेत्रमा आउन दिन र निजी क्षेत्रलाई अनुमति दिन सकिँदैन ।’
नेकपाका सांसद भीम रावलले आणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति दिने र सरकारले गर्न नपाउने भन्ने विषय पनि रहेको भन्दै आपत्ति जनाए । ‘निजी क्षेत्रलाई दिने र सरकारले गर्न नपाउने भन्ने विषय पनि त्यहाँ रहेछ । यो कसरी हुन्छ ?’ उनले प्रश्न गरे ।
नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले ब्यापक छलफल गरेर आउनुपर्नेमा त्यसो नगरी विधेयक आएको उल्लेख गरे । ‘गलत ठाउँमा यसको प्रयोग हुन सक्छ । एटम बम बनाउने जस्त गलत तत्व आतंकवादीको हातमा गयो भने के हुन्छ ? धेरै कुराहरु सोच्नुपर्ने हुन्छ’, उनले अगाडि भने, ‘ब्यापक छलफल गरेर आउनुपर्ने त्यो पनि भएन ।’
नेकपाका सांसद सोमप्रसाद पाण्डेले पनि निजी क्षेत्र र विदेशी लगानी पारमाणविक भट्टीमा हुनै नहुने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij