
काठमाडौं । सरकारले दसैंका लागि बस टिकटको अग्रिम बुकिङ खोल्ने तयारी गरेको छ । यातायात व्यवसायी र सरकारबीच सोमबार भएको छलफलले २४ भदौदेखि दसैंका लागि टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
यात्रुहरूको सुविधालाई ध्यानमा राखी २४ भदौदेखि दसैं लक्षित टिकटको अग्रिम बुकिङ खोल्न लागिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनले भने, ‘२४ भदौदेखि टिकटको अग्रिम बुकिङ खोल्ने तयारी भइरहेको छ ।’
तर, यस वर्षको टिकट बुकिङको मोडालिटी भने फरक हुने विभागले जनाएको छ । सरकारले यसअघि नै लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गरिसकेको छ ।
यस्तो अवस्थामा गत वर्षजस्तै यातायातसँग सम्बन्धित संघ तथा समितिले अब टिकट खोल्न पाउने छैनन् । ती संघ तथा समितिका बैंक खाता पनि रोक्का भएका छन् । सबै सवारीसाधान कम्पनीमा दर्ता हुनपर्ने व्यवस्था अनुसार अब कम्पनीहरूले मात्रै टिकट खोल्न पाउनेछन् ।
तर, कसरी र कुन मोडालिटीमा ती कम्पनीलाई टिकटको बुकिङ खोल्न दिने भन्ने टुंगो लागेको छैन । यस विषयमा सरकारले छलफल जारी राखेको छ ।
गत वर्ष यातायात व्यवसायीले झिटीगुन्टा लान बसमा छत हाल्न पाउनुपर्ने, बसभित्र पनि सिटबाहेक केही यात्रु राख्न पाउनुपर्ने तथा वैज्ञानिक भाडादर लागू गर्नुपर्नेलगायतका माग गरेका थिए । सरकारले भाडादरबाहेकका माग पूरा गर्ने सहमति गरेपछि व्यवसायीले टिकट खुला गरेका थिए ।
व्यवसायीले निरन्तर वैज्ञानिक भाडादरको माग गरिरहेकाले यसपटक दसैंमा भाडादर वृद्धि हुन सक्ने सूचना अधिकारी उपाध्यायले बताए । कुनकुन स्थानबाट दसैं टिकट बुकिङ खोल्ने, ट्राफिक व्यवस्था कसरी मिलाउने भन्ने लगायतका विषयमा टुंगो लागेको छैन । गत वर्ष राजधानीको नयाँबसपार्क, बालाजु, गौशाला, कोटेश्वर, कलंकी लगायतका स्थानबाट टिकटको अग्रिम बुकिङ खुलेको थियो ।
त्यसैगरी, हरेक वर्ष यातायात व्यवसायीले दसैंलाई लक्षित गर्दै नयाँ बस पनि थप्ने गरेका थिए । गत वर्ष बैंकिङ क्षेत्रमा तरलता लगानीयोग्य पुँजीको अभाव भएका नयाँ बस थप गरिएका थिएनन् । यात्रुको चापलाई ध्यानमा राख्दै यस वर्ष पनि नयाँ बस थप्ने विषयमा सरकारले छलफल जारी राखेको छ । त्यस्तै, बाटोघाटोका अस्थायी मर्मत तथा ट्राफिक सहायता कक्षहरू सञ्चालनलगायतका विषयमा छलफल भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij