२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

असोजदेखि मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा आउने

असोजदेखि मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा आउने

काठमाडौं । स्थापनाको डेढ महिनामै मध्यमस्तरीय करदाता कार्यालय पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । साबिक ठूला करदाता कार्यालय र विभिन्न क्षेत्रीय कार्यालयको अधिकारभित्र पर्ने करदाताको कारोबार हेर्न सरकारले भदौ १ गते उक्त कार्यालय स्थापना गरेको थियो । स्थापनाको डेढ महिनामै सो कार्यालय पूर्णरुपमा सञ्चालनमा आउने भएको हो ।

कार्यालय प्रमुख झक्कप्रसाद आचार्यका अनुसार स्थापना भएदेखि कार्यालय आंशिक रुपमा मात्र सञ्चालित छ । करदाताको दैनिक क्रियाकलाप ठप्पै हुने किसिमका तथा अत्यावश्यक कार्य गर्नुबाहेक कार्यालयबाट अरु काम हुन सकेको छैन । ‘कार्यालय स्थापना भएको दुईसाता बित्नै लाग्दा उल्लेख्य प्रगति भएको छ र बाँकी काम पनि आउने १ महिनामै सकिनेछ,’ आचार्यले भने । हाल कार्यालयमा २० जना कर्मचारी रहेको उनले जानकारी दिए । कार्यालयको कुल दरबन्दी ७४ जनाको हो । ‘ती कर्मचारी पनि कार्यालय स्थापना तथा व्यवस्थापन, सरसफाइ, फाइल मिलाउनेलगायतका काममा खटाइएको छ,’ उनले भने ।

साबिकको आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नम्बर २ रहेको स्थानमै मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा ल्याइएको हो । सो कार्यालय स्थापना भएपछि वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कारोबार गर्ने सबै र केही २५ करोडभन्दा बढी कारोबार गर्ने कार्यालयले करसम्बन्धी हरेक सेवा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत कारदाताले राजस्व जम्मा गर्न सक्ने, कर चुक्ता गरेको प्रमाणपत्र पाउने, कर तिर्न बाँकी समय तथा बक्यौता रकमबारे समयमै जानकारी पाउनेछन् ।

अर्थ मन्त्रालयले करको संरचना परिवर्तन गर्दै मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको हो । कार्यालयको नेतृत्व अर्थ मन्त्रालयका प्रवक्तासमेत रहेका झक्कप्रसाद आचार्यले सम्हालेका हुन् । उनी भन्छन्, ‘आन्तरिक राजस्व विभागले हामीलाई उल्लिखित करदाताको एक्सेस दिए पनि हामी पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा उनीहरुलाई समस्या परेको छ ।’ यसअघि त्यस्ता करदाताको विवरण हेर्ने एक्सेस ठूला करदाता कार्यालयलाई हुन्थ्यो ।

अहिले कार्यालयले अत्यावश्यक सेवामात्रै दिन सकेको छ । कार्यालय व्यवस्थित पार्ने काम पनि दु्रत गति भइरहेको आचार्यले जानकारी दिए । उनले भने, ‘दरबन्दीअनुसार कर्मचारी नियुक्त भए अबको एकमहिनामै कार्यालय ‘फुल फ्लेजेड’ ढंगमामा सञ्चालनमा आउन सक्छ । कार्यालय स्थापना नहुँदा हामीले फिल्ड जाने, अनुगमन–अनुसन्धान गर्ने, कारबाही गर्नेजस्ता काम गर्न सकिरहेका छैनौं ।’

अर्थ मन्त्रालयले यसअघि करप्रशासन संरचनालाई परिमार्जन गर्दै समसामयिक बनाउने क्रममा मध्यमस्तरीय करदाता कार्यालयको अवधारणा अघि सारेको थियो । मध्यमस्तरीय कारदातामा वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कारोबार गर्ने सबै तथा बैंक–वित्तीय संस्था, मेडिकल कलेज, ठेक्का व्यवसाय र ट्राभल तथा ट्रेकिङ क्षेत्रका व्यवसायका सन्दर्भमा भने २५ करोडदेखि ८० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाता पर्छन् ।

यस कार्यालयको क्षेत्राधिकारभित्र करिब ६५० करदाता पर्छन् । वार्षिक ८० करोड रुपैयाँभन्दा धेरै कर तिर्ने करदाता भने ठूला करदाता कार्यालयको क्षेत्राधिकारभित्र पर्छन् । यसअघि ४० करोड रुपैयाँभन्दा धेरै कर तिर्ने सबै करदाता ठूला करदातामा पर्थे । ठूला करदाता कार्यालयमातहत करिब १३ सय करदाता थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij