
काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड बडी विमान काठमाडौं ल्याइएको छ । फ्रान्सको तुलुजबाट ८ घण्टाको उडानपछि विमान आज (बिहीबार) बिहान विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानको स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी पनि विमानस्थल पुगेका थिए ।
आयरल्यान्डको हाइफ्लाई एक्सका पाइलटले उडाएर नेपाल ल्याएको विमान अब भने एमएम डंगोल र श्रवण रिजाललगायत ७ जनाको टोलीले उडाउनेछ । निगमले खरिद गरेको उक्त वाइड बडी विमानमा २७४ सिट छन् । यसमध्ये १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् ।
युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको जहाजलाई नेपाल नागरिक उड्ययन प्र्राधिकरणले ‘९एन–एएलवाई’ कलसाइन दिएको छ । निगमले उक्त जहाजलाई ‘अन्नपूर्ण’ नामाकरण गरेको छ ।
अन्नपूर्ण विमानले पहिलो चरणमा दुवई र कतारको दोहा उडान भर्नेछ भने दोस्रो चरणमा जापान, दक्षिण कोरिया, साउदी अरेवियाको रियाद उडान भर्ने निगमका सह–प्रवक्ता शैलेस कंसाकारले जानकारी दिए ।
दुईवटा विमान खरिदको एकै पटक सम्झौता गरेको निगमले अर्को विमान डेढ महिनापछि ल्याइने जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij