काठमाडौँ । साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ ।
साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमौँबाट- वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा २० प्रतिशत भाडा घटाएको हो ।
सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।
उनका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौँदेखि वीरगन्जसम्म यसअघिको ४९० बाट घटाएर ३९२, भैरहवाको ५१० बाट ४०८ र पोखराको ३९० बाट ३१२ कायम गरिएको छ ।
साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा सेवा पुर्याउँदै आएको जनाएको छ ।
साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौँदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij