काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनासम्बन्धी छलफलका लागि चिनियाँ कम्पनी थ्री गर्जेजको टोली नेपालमा आएको छ । ७५० मेघावाटको पश्चिम सेती जलविद्युत् परियोजनाको काम तत्काल नथाले लाइसेन्स खारेज गरिदिने ऊर्जामन्त्री जनार्दन शर्माको चेतावनीपछि चिनियाँ कम्पनी थ्री गर्जेजको उच्चस्तरीय टोली नेपाल आएको हो ।
ऊर्जामन्त्री शर्माले सो आयोजनाका काम तत्काल अघि बढाउन पटकपटक आग्रह गर्दै आएका छन् । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गर्ने अभियानमा जुटेका मन्त्री शर्माले थ्री गर्जेजले लामो समयसम्म उनको आग्रहलाई अटेर गरेपछि सो कम्पनीलाई दिइएको लाइसेन्स नै खारेज गर्ने चेतावनी दिएका थिए । मन्त्री शर्माको सो चेतावनीपश्चात् कम्पनीको उच्चस्तरीय टोली परियोजनासम्बन्धी आवश्यक छलफलका लागि नेपाल आएको हो ।
थ्री गर्जेजका तर्फबाट उपाध्यक्षको नेतृत्वमा आएको टोलीले लगानी बोर्डसँग छलफल सुरु गरेको छ । छलफलमा बोर्ड, थ्री गर्जेज र नेपाल विद्युत् प्राधिकण गरी तीन पक्षको सहभागिता रहेको छ । ठूलो आयोजना बोर्डले हेर्ने भएकाले टोलीले बोर्डका प्रतिनिधिसँग नै छलफल गरेको हो । छलफलमा बोर्डले सहजकर्ताको भूमिका निभाएको बोर्डका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटवालले बताए । उनका अनुसार थ्री गर्जेजको टोलीसहित बोर्डले यस विषयमा बिहीबारदेखि बृहत् छलफल सुरु गरेको हो । छलफलका क्रममा टोलीले लगानी बोर्डमा पश्चिम सेतीबारे प्रोजेक्ट पेपर प्रस्तुत गरेको छ । छलफल आयोजनाको लागत, मोडालिटी, लगानी, ड्रिलिङलगायतका विषयमा केन्द्रित रहेको र यो केही दिन निरन्तर चल्ने प्रवक्ता भेटवालले राजधानीलाई बताए ।
चिनियाँ कम्पनीले लाइसेन्स होल्ड गरेको पाँच वर्ष पुगिसकेको छ । सन् २०१२ को फेबु्रअरी महिनामा थ्री गर्जेजसँग पश्चिम सेती निर्माणको सम्झौता भएको थियो । तर, विद्युत् प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकमको टुंगो नलागेसँगै यसको निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएको हो ।
२१ वर्षअघि नै अस्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती आयोजना निर्माणको जिम्मा लिएको थियो । तर, १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि उसले काम नगरेपश्चात् सरकारले उसको इजाजत नै रद्द गर्नुपरेको थियो । स्मेकको इजाजत रद्द भएसँगै पश्चिम सेती आयोजनाको जिम्मा चिनियाँ कम्पनी थ्री गर्जेजले लिएको हो । तोकिएको समयमा स्मेकले सो आयोजना निर्माण गरेको भए नेपालमा हाल लोडसेडिङ नै हुने थिएन । थ्री गर्जेजको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । टोलीले आयोजनाले प्रभावित गर्ने सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, र डडेलधुराको भूभागमा रहेर प्राविधिक तथा भौगर्भिकलगायतका विषयमा अध्ययन गरेको हो । भूकम्पपछि नै नेपाल आएर थ्री गर्जेजको टोलीले यसको भौगर्भिक अध्ययन सुरु गरेको थियो ।
सन् १९९३ मा स्थापना भएको थ्री गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले सन् २०२० सम्मका विश्वभरि ७० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ । थ्री गर्जेजले प्राविधिक रिपोर्ट पनि तयार गर्दै छ । यसमा आयोजनाले प्रभावित गर्ने क्षेत्र, लागत र अन्य धेरै प्राविधिक पक्ष संलग्न हुनेछन् । यसैका आधारमा आयोजनाको परियोजना विकास सम्झौता (पीडीए)बारे छलफल हुनेछ ।
लगानी बोर्डले दिएको जानकारीअनुसार थ्री गर्जेजले अहिले नेपालमा विद्युत् प्राधिकरणसँग ज्वाइन्ट भेन्चरको सम्झौता गर्न खोजेको छ । पश्चिम सेतीमा उसले काम गर्ने अवस्थामा नेपाल सरकारको २५ प्रतिशत सेयर हुनुपर्ने सर्त ऊर्जा मन्त्रालयले राखेको छ ।
कुल १ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको पश्चिम सेती जलविद्युत् परियोजनामा विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच प्राधिकरणले गर्नुपर्ने २५ प्रतिशत लगानीको विषयमा यसअघि नै भद्र सहमति भएको थियो । ७५ प्रतिशत चिनियाँ कम्पनीले आफैं लगानी गर्ने र २५ प्रतिशतका लागि समेत सोही कम्पनीले आफैं ऋण खोजिदिने सहमति भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij