
काठमाडौं । नयाँ सरकार गठनसँगै बढ्ने अपेक्षा गरिएको सेयर बजार पछिल्ला दिनमा झनै खस्कन थालेको छ । विगत एक वर्षयता निरन्तर ‘बियरिस ट्रेन्ड’मा रहेको सेयर बजार नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिसँगै झनै खस्कन पुगेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार र घरजग्गा कारोबारलाई अनुत्पादक भनेसँगै बजारमा उच्च गिरावट आउनेक्रम सुरु भएको छ । निरन्तर घटिरहेको सेयर बजारको कारोबारको परिसूचक (नेप्से) यो साताको पहिलो दिन (आइतबार) ४१ दशमलव ५६ अकंले घटेर एक वर्षयताकै न्यून बिन्दु अर्थात् १ हजार ३०४ अंकमा ओर्लिएको छ ।
‘नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेसँगै सेयर बजारमा गिरावट आएको हो,’ एक सेयर ब्रोकले भने, ‘अर्थमन्त्रीको अभिव्यक्तिमा सुधार नआए बजारमा अझै ठूलो गिरावट आउन सक्छ ।’ नयाँ सरकार गठनपछि सेयर बजारले सुधारको गति लिने अपेक्षा गरिए पनि अहिले बजार त्यसविपरीत गएको छ । सेयर लगानीकर्तामा अर्थमन्त्री डा. खतिवडाको अभिव्यक्तिले सेयर बजार घट्छ भन्ने मनोवैज्ञानिक असर परेको उनको ठम्याइ छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गत वर्षको २४ फागुनमा नेप्से १ हजार ३४१ अंकमा घटेको थियो । त्यसयता बढेको सेयर बजार १३ मंसिरपछि पुनः ओरालो लाग्न सुरु गरेको हो । पछिल्ला दिनमा प्रायः सधैंजसो बजार घट्दै आएको छ ।
आइतबार नेप्से ३ दशमलव शून्य ९ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव शून्य १ अंकले घटेको छ । बिमा समूहको परिसूचक २८६ अंकले घटेको छ भने जलविद्युत् समूहको परिसूचक ६२ अंकले ओर्लिएको छ । नेप्सेका अनुसार यस दिन सेयर बजारमा १५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर ५ हजार ९४३ पटक किनबेच हुँदा ४८ करोडको मात्रै कारोबार भयो ।
लगानीकर्ता आत्माराम घिमिरे अथर्मन्त्री खतिवडाले यो क्षेत्रलाई अनुत्पादक भन्दै अभिव्यक्ति दिएकाले बजार घटेको बताउँछन् । उनको अभिव्यक्तिका कारण मास साइकोलोजिकल असर परेको र त्यसले बजार घटाएको उनको भनाइ छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार र घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्र भनेपछि बजारमा उच्च गिरावट
नेपाल राष्ट्र बैंकले समेत सेयर बजारलाई उत्पादनमूलक क्षेत्रका रूपमा मानेको छैन । उसले उत्पादनमूलक कृषि, जलविद्युत् र साना घरेलु उद्योगलाई राखेको छ । अर्थमन्त्री खतिवडाको भनाइ पनि त्यसैअनुरूपको भए पनि उनको अभिव्यक्तिले झन् बजारमा नकारात्मक प्रभाव पार्यो ।
सेयर बजार घट्नुमा पछिल्लो समय बजारमा सेयरको अधिक आपूर्ति र तरलतामा भएको संकुचन पनि प्रमुख कारणका रूपमा देखिएका छन् । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बजारमा माग र आपूर्तिबीच असन्तुलन हुँदा बजारमा समस्या देखिने गरेको बताउँछन् ।
२० लाख लगानीकर्ता संलग्न रहेको पुँजी बजारप्रति अर्थमन्त्रीको भनाइले थप निरुत्साहित बनाएको नेपाल लगानीकर्ता संघले जनाएको छ । उसले तरलता समस्या समाधानमा पहल नगरिएको र तीन खम्बे अर्थनीति अवलम्बन गर्ने प्रयास गरिएको दाबी पनि गरेको छ । संघले चिलिमे हाइड्रो पावर, माथिल्लो तामाकोसी, सानिमा माई लगायतका थुप्रै हाइड्रो पावर परियोजनामा गरिएको लगानी अनुत्पादक कसरी हुन सक्छ भन्ने प्रश्न पनि गरेको छ ।
पुँजी बजार सुधारका लागि अनलाइन कारोबार प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन, बजार निर्माताको सुरुवात गर्न तथा एनआरएनलाई पुँजी बजारमा लगानी खुला गर्न सेयर लगानीकर्ता संघले माग गरेको छ ।
यसैगरी, नयाँ ब्रोकर थप्न वा बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिन, सेयर धितो कर्जाको सीमा ५०५ बाट बढाएर ७०५ पु¥याउन पनि माग गरिएको छ । सेयर ऋणमा कायम गरिएको औसत भार १५०५ बाट घटाएर १००५ कायम गर्न पनि संघले सरकारसँग माग गरेको छ । अर्थमन्त्री पुँजी बजार सुधारका लागि तत्काल सम्बोधन गर्ने अपेक्षा पनि संघको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीबीसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा सेयर बजार उनुत्पादक क्षेत्र रहेको घुमाउरो अभिव्यक्ति दिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij