२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बूढीगण्डकी निर्माणको जिम्मा विद्युत् प्राधिकरणलाई

बूढीगण्डकी निर्माणको जिम्मा विद्युत् प्राधिकरणलाई

काठमाडौं । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणलाई दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वदेशी लगानी र प्रविधिमा बन्न लागेको बूढीगण्डकीको जिम्मा प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

आयोजनामा लगानी गर्ने गरी सरकारले इन्धनमा लगाएको करबाट विगत डेढ वर्षमा १३ अर्ब रुपैयाँ संकलन भएको छ । बूढीगण्डकी जलाशययुक्त आयोजना हो । सरकारले यसलाई ८ वर्षभित्र पूरा गर्ने योजना बनाएको छ । आयोजनाको कुल उत्पादन क्षमता १ हजार २ सय मेगावाट छ । आयोजनाको लागत २ अर्ब ५० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

‘स्वदेशी लगानीमा बन्ने यो आयोजना निर्माणको काम प्राधिकरणले गर्नेछ’ ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री कमल थापाले भने ‘यसको काम तत्काल सुरु हुनेछ र आगामी ८ वर्षमा पूरा गर्ने योजना छ ।’ मन्त्री थापाका अनुसार १५ दिनभित्र अध्ययनका आधारमा एउटा समिति गठन हुने र समितिले तयार पारेको प्रतिवेदनका आधारमा तत्काल काम सुरु हुने मन्त्री थापाले बताए ।

समयमा काम सुरु नगरेको र कालोसूचीमा रहेको भन्दै सरकारले केही दिन पहिले चीनको चाइना गेजुवा कम्पनीसँगको सम्झौता रद्द गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा गत ९ जेठमा बूढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिएको थियो ।

सरकारको मुख्यघटक कांग्रेसले पनि त्यसबेला आयोजनामा सहमति जनाएको थियो । चिनियाँ कम्पनीले स्थलगत अध्ययनसमेत थालिसकेको बेला सरकारले अनियमित र हचुवाका भरमा भन्दै सम्झौता खारेज गरेको हो । सरकारले संसदीय समितिको निर्देशन बमोजिम सम्झौता खारेज गरेको जनाएको छ ।

गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले आर्थिक वर्ष ०७४÷७५ को बजेटमार्फत १० अर्ब १७ करोड रकम विनियोजन गरिएको थियो । राष्ट्रिय गौरवको यो आयोजनामा ६३ वर्ग किलोमिटर ठूलो र ४८ किलोमिटर लामो ताल बन्नेछ । नेपाली श्रम, सीप र पुँजीको प्रयोग हुने यो आयोजना नेपालको दिगो विकास र लोडसेडिङ अन्त्यका लागि कोसेढुंगा बन्ने सरकारको दाबी छ । आयोजनाबाट हरेक वर्ष २ सय ९० करोड युनिट विद्युत् उत्पादन उत्पादन हुनेछ भने यसबाट सरकारले वर्षको ३५ अर्ब राजस्व प्राप्त गर्नेछ ।

गोरखा जिल्लाको घ्यालचोक र धादिङ जिल्लाको सलाङ गाविसमा पर्ने बूढीगण्डकी आयोजनाबाट गोरखाका १२ र धादिङका ११ गाविस प्रत्यक्ष प्रभावित हुनेछन् । जलाशययुक्त आयोजना बन्दा गोर्खा र धादिङका ५ हजार घर डुबानमा पर्दछन्, भने २० हजार बासिन्दा पूर्णरूपमा र २५ हजार बासिन्दा आशिक रूपमा प्रभावित हुने आयोजनाले जनाएको छ ।

यो आयोजना निर्माणका लागि बूढीगण्डकी नदीमा २ सय ६३ मिटर अग्लो बाँध बनाउनु पर्नेछ । ताल पोखराको फेवातालभन्दा १५ गुणा ठूलो हुनेछ । अहिले देशमा कुलेखानी एक मात्र जलाशययुक्त आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

आयोजनाबाट सुख्खा याममा ३ सय ५० घनमिटर पानी निष्कासन हुनेछ । आयोजनाबाट निष्कासित पानीले चितवन, नवलपरासी, धादिङमा सिँचाइ सुविधासमेत प्राप्त हुनेछ । त्यसैगरी आयोजनाले माछापालन, पानी खपत हुने उद्योग, आलुमिनियम, पर्यटन–भौतिक पूर्वाधारका लागि आधुनिक वस्ती विकासमा योगदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij