२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चार ठूला जलविद्युत् आयोजना साधारण शेयर जारी गर्ने तयारीमा

चार ठूला जलविद्युत् आयोजना साधारण शेयर जारी गर्ने तयारीमा

काठमाडौं । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् ।

माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् ।

साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा सान्जेन जलविद्युत् आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । सो आयोजनाले रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

उक्त कम्पनीले माथिल्लो सान्जेन र सान्जेन गरी दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कूल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण शेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै सो आयोजनाले सीमित साधारण शेयर जारी गर्ने छ । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले साधारण शेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।

आयोजनाका प्रमुख माधव कोइरालाका अनुसार साधारण शेयर जारी गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको छ । पहिलोचरणमा बिक्री गर्न लागिएको शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ ।

शेयर संरचनाअनुसार कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर बिक्री गरिनेछ । पहिलो चरणमा रु १ अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गरिनेछ ।

यस्तै, आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत शेयर बिक्री गर्ने गरी तयारी गरिएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण शेयर बिक्री गर्नेछ ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

आयोजनाले सर्वसाधारणका लागि रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।

आम नेपालीका लागि कूल शेयरको १५ प्रतिशत, आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण शेयरसमेत आगामी माघमा नै बिक्री गरिनेछ । स्थानीयवासीले दोलखाका सहकारी संस्थामार्फत पनि शेयर खरिद गर्न सक्नेछन् ।

आयोजनाले प्रभावितका लागि जारी पुँजीको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर बिक्री गर्नेछ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशतसम्पन्न भएको छ । आगामी आइतबार सुरुङसमेत ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशतको हाराहारीमा पुग्ने बताइएको छ ।

आगामी असारमा आयोजनाको पहिलो युनिट सन्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि रु २ अर्ब ९४ करोड बराबरको साधारण शेयर जारी गर्ने तयारीलाई अन्तिमचरणमा पुर्‍याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब १७ करोड बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि रु २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्ने तयारी गरिएको छ ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि रु ६० करोड बराबरको ६० लाख कित्ता साधारण शेयर जारी गरिने छ ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij