२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौंमा खुल्यो एभिएसन म्युजियम, जहाँ देखाइन्छ जहाजभित्रै जहाज !

काठमाडौंमा खुल्यो एभिएसन म्युजियम, जहाँ देखाइन्छ जहाजभित्रै जहाज !


काठमाडौं । राजधानीस्थित सिनामङ्मलमा विश्वकै ठूलो एभिएसन म्युजियम आइतबारदेखि विद्यार्थीका लागि खुलेको छ ।

दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अगाडिको चक्का धस्सिएर दुर्घटनामा परेको टर्किस एयरको एयरबस–३३० लाई उप्रेती ट्रष्टले एभिएसन म्युजियममा रुपान्तरण गरेको हो ।

“काठमाडांैमा अवतरण गर्ने क्रममा २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चक्का धसिई ग्राउण्डेड भएको थियो,” उप्रेती ट्रष्टका प्रमुख कार्यकारी अधिकृत बेद उप्रेतीले बाह्रखरीसँग भने, “सो विमानलाई हामीले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरेर संग्रहालय बनाएका हौं ।”

आइतबारबाट विद्यार्थीका लागि खुला गरिने उक्त संग्रहालय आगामी १० दिनपछि सम्पूर्णका लागि खुला गरिने उप्रेतीले जानकारी दिए ।

९ महिनामा निर्माण सम्पन्न
चक्का धसिएको यो एयरबसको पछाडिको भाग खोली रनवेबाट २ सय ५० मिटर परसम्म लैजान चार दिन लागेको थियो । यसकारण काठमाडौैंको हवाइसेवा चार दिनका लागि बन्द गरिएको थियो ।

एयरबसलाई विमानस्थलको पूर्वी भागबाट संग्रहालय बनाइएको स्थानसम्म लगी संग्रहालयको रुपमा ढाल्न २० भन्दा बढी स्वदेशी तथा विदेशी प्राविधिकले ९ महिनासम्म लगातार काम गरेका थिए ।

विमानको पछाडिको भाग खोल्न र जोड्न मात्रै १ लाख अमेरिकी डलर खर्चिएको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए ।

यो एयरबसको लम्बाइ २सय८ फिट, पखेटाको लम्वाइ १सय ९७ फिट र उचाइ ५६ फिट रहेको छ ।

कसका लागि कति शुल्क ?
आइतबारदेखि एक महिनासम्मका लागि विद्यार्थीहरुले रु १सय २५ मै संग्रहालय अवलोकन गर्न पाउनेछन् । अवलोकनका लागि नेपाली नागरिकलाई रु ३ सय र विदेशीलाई रु ६ सय शुल्क तोकिएको छ ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई निःशुल्क र विद्यार्थी परिचयपत्र हुने अन्यलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने ट्रष्टका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए ।

संग्रहालय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहने छ ।

के–के छन् संग्रहालयभित्र ?
‘एभिएसन म्युजियम’ नाम दिइएको यस उड्डययन संग्रहालयभित्र जम्मा ७ वटा हल छन् । यी हलहरुमा राइट दाजुभाइको पालादेखि अहिलेसम्मका ३सय ५० भन्दाबढी ‘मिनिएचर’ मोडेल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक लडाकु विमान, व्यापारिक एयरलाइन्सका विमान, नेपाल वायुसेवा निगमले उडान सुरु गर्दाको तत्कालीन हवाई सेवा र नेपाली आकाशमा उडेका जहाज, इक्वीरेल हेलिकोप्टरका मोडेल र आकाशबाट खिचिएका सयौं एरियल तस्बिर साथै अन्य ज्ञानवर्द्वक सामग्री राखिएका छन् ।

यसका साथै उड्डयन क्षेत्रमा आगामी रणनीतिसम्बन्धी भिडियो र नेपालको फिस्टेल एयरको हेलिकप्टर पनि संग्रहालयमा राखिएको छ ।

जग्गा प्रयोगवापत प्राधिकरणलाई शुल्क

प्राधिकरणको नाममा रहेको सिनामङ्गलस्थित ८ हजार वर्गफिट क्षेत्रफल जग्गामा उक्त म्युजियम बनाइएको हो । प्राधिकरणसँग १० वर्षे साझेदारी रहेको म्युजियमले मासिक प्रतिवर्गमिटर रु ६ सय प्राधिकरणलाई बुझाउनुपर्नेछ ।

विश्वमै फरक र रोचक
आठ महिनामात्र उडान भरेको यो विमान अत्याधुनिक र महङ्गो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन म्युजियममा राखिएको छैन ।

अमेरिकास्थित वासिङटन डिसीमा रहेको विश्वकै ठूलो एभिएसन संग्रहालयमा पनि यति महङ्गो एयरबस नराखिएको अधिकृत उप्रेतीको भनाइ छ ।

“४ सय ४४ यात्रुक्षमताको यो एयरबस विश्वमै अत्याधुनिक हो, करिब ३० अर्व मूल्य रहेको विमान अमेरिकाले पनि राख्न सकेको छैन,” उप्रेतीले बताए ।

उप्रेती ट्रष्टले रु ७ करोडको लगानीमा स्थापना गरेको यस संग्रहालयले काठमाडौंमा पर्यटनको नयाँ गन्तव्य सिर्जना गरेको साथै विद्यार्थीहरुमा हवाइ उडान र यससम्बन्धी अनेक जिज्ञासा मेटाउन महत्वपूर्ण भूमिका खेल्ने अधिकृत उप्रेतीले बताए ।

यसैगरी नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले युवा पुस्तालाई आकर्षण गरी विमान उडानमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ प्राधिकरणले म्युजियम सञ्चालनमा सहकार्य गरेको बताए ।

इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेनसमेत रहेका बेद उप्रेतीले सञ्चालनमा ल्याएको सिनामङ्गलको यो संग्रहालय विश्वमै फरक र रोचक मानिएको छ । यसअघि उप्रेतीले कैलालीको धनगढीमा रु १ करोड ५० लाख लगानीमा नेपालमै पहिलो ‘एयरक्राफ्ट म्युजियम’ २०७२ देखि सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij