काठमाडौं । सरकारले दसैं–तिहार र छठलाई लक्षित गरी आगामी भदौको दोस्रो सातादेखि उपत्यकामा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा सर्वसाधारण उपभोक्तालाई राहत दिने उद्देश्यका साथ आगामी भदौ १६ गतेदेखि दसै बजार अर्थात् सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।
आपूर्तिमन्त्री शिवकुमार मण्डलको अध्यक्षतामा सम्बन्धित निकायको सहभागितामा शुक्रबार बसेको बैठकले आगामी भदौ १६ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न निर्णय गरेको हो । मन्त्रालयकी उपसचिव उर्मिला केसीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन् । प्रत्येक वर्ष झैं यो वर्ष पनि चाडपर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनको भनाई छ ।
नेपाल खाद्य संस्थान, साल्ट्र ट्रेडिङ कर्पारेसन, नेसनल ट्रेडिङ लिमिटेड र दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा छुट दिइनेछ । उपत्यकामा विभिन्न ११ ठाउँमा सुहलियत पसल सञ्चालन गरिनेछ । त्यस्ता पसलमा दाल, चामल, नुन, चिनी, घिउ र गेडागुडीमा छुट दिइनेछ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले गेडागुडी र चामल प्रतिकेजीमा पाँच रुपैयाँ र खसीबोकामा प्रतिकेजीमा १० रुपैयाँ छुट दिइने तयारी भइरहेको बताए ।
उपत्यका बाहिर स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा संस्थानका डिपो र अञ्चल कार्यालयमार्फत पनि २५ ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने तयारी भइरहेको छ । साल्ट्र ट्रेडिङ कर्पारेसनले चिनी, नुन र खाद्यान्न सहुलियतमा बिक्री गर्नेछ । कर्पारेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले चिनी प्रतिकेजी पाँच रुपैयाँ, नुन प्रतिकेजीमा दुई रुपैयाँ र अन्य खाद्यान्नमा दुई रुपैयाँसम्म छुट दिइने जानकारी दिइन् । उपत्यकाबाहिर आवश्यकताअनुसार थप सहुलियत पसल सञ्चालन गरिने उनले बताइन् ।
मन्त्रालयका अनुसार उपत्यकाको रामशाहपथ, थापाथली, नख्खु, जावलाखेल, बल्खु, टेकु, जडीबुटी, सूर्यविनायक, सतुंगल, नयाँ बानेश्वर र कालीमाटीमा सहुलियत पसल सञ्चालन गरिनेछ ।
चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने सम्भावना भएकाले बजार हस्तक्षेप गर्न प्रत्येक वर्ष सहुलिय पसल सञ्चालन गरिँदै आएको छ । चाडर्पमा उपभोक्तालाई राहत दिन साल्ट्र ट्रेडिङ कर्पारेसन लिमिटेडलाई १ करोड ८० लाख र नेपाल खाद्य संस्थानलाई ६० लाख रकम छुट्याइएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका उपसचिव बाबुराम भुसालले चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि बजेटमै रकम व्यवस्था गरिए बमोजिम मन्त्रालयले दुई संस्थानलाई रकम बाँडफाँट गरेको हो ।
संस्थानले दसैंलाई २५ सय खसीबोका खरिद गर्ने
नेपाल खाद्य संस्थानले दसैंलाई लक्षित गरेर यो वर्ष २ हजार ५ सय खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।
दसैंमा उपभोक्तालाई सहुलियत दिनका लागि १ हजार च्याङ्ग्रा, १ हजार ५ सय खसीबोका खरिद गर्न लागिएको हो । संस्थानका प्रवक्ता शंकर सापकोटाले दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने भएकाले सहुलियत दिन २ हजार ५ सयवटा खरिद गर्ने तयारी गरिएको बताए । संस्थानले बजारमा हस्तक्षेप गर्न प्रत्येक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गर्दै आएको छ । लहान, वीरगन्ज र दाङबाट खसीबोका तथा मुस्ताङबाट च्याङग्रा खरिद गर्ने तयारी गरिएको छ । संस्थानले गत वर्ष १ हजार ४ सय च्याङ्ग्रा र सोही संख्यामा खसीबोका खरिद गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij