२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजधानीका सडक : कहिलेसम्म सास्ती ?

राजधानीका सडक : कहिलेसम्म सास्ती ?

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित विश्वविद्यालय पर्खालसँगैको शिवालय मार्गमा मनसुन सुरु भएसँगै मेलम्ची खानेपानी खनेको सडकमा स्थानीय गणेश पाण्डेको घर निर्माणमा संलग्न मजदुर राम बम्जनको चिप्लिएर हात भाँच्चियो ।

स्थानीय नेत्र खरेलको घर निर्माणमा कार्यरत हरि यादव पनि सोही स्थानमा चिप्लिएर सडकमा ढले । उनको तिघ्राको हाड चर्किएको छ । उनी पनि उपचार गराइरहेका छन् । ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँ जाने बाटो भत्काइएको लामो समय बितिसक्दा पनि बाटोमा दुर्घटनाको संख्या बढेको पाइएको छ । यो सडकमा अहिले हिलोका कारण मोटरसाइकलमा यात्रा गर्ने यात्रु हिलोमा नै लड्ने गरेका छन् ।

बिहान र बेलुकाको सयमा अत्यधिक सवारी चाप हने यो सडकमार्गमा खनिएको बाटो नबनेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरूले खानेपानी आयोजनलाई पटकपटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको बताए । सोही सडकको प्रयोग गर्ने सांसद सुशीला नेपालले सडकको दयनीय अवस्थाका कारण यात्रा गर्न नै कठिन भएको गुनासो गरिन् । यस्तै रिङरोड विस्तारका क्रममा खनिएका र ढल विस्तारका लागि खनिएका सडक पनि त्यत्तिकै छाडिएका छन् ।

यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । उपत्यकामा मेलम्ची खानेपानी आयोजनाले सडक खनेका कारण हिलाम्मे भएका छन् । खनिएका सडक पुरे पनि त्यसमा कालोपत्रे सम्स्या झनै थपिएको छ । यस्तो सडक खनेपछि तत्काल पुर्ने र चाप मापन गरेपछि कालोपत्रे गर्ने काम परियोजनाले नै गर्नुपर्ने व्यवस्था छ । गत वर्ष मंसिरमा सडक विभाग टेकुले कालोपत्रे गरेको २ सय मिटर सडकसहित सोही वर्ष भदौमा जिविस काठमाडौंले ग्राभेल गरेको ५ सय मिटर लम्बाइ र ४ मिटर चौडाइको सडक खनी कीर्तिपुरमा पानी संकलन ट्यांकीमा पानी बनाउने अढाइ फिटको डक्टाइल पाइप राख्न निर्माण व्यवसायीका प्रतिनिधिले गत फागुनमा छलफल गरेको स्थानीय शम्भु कट्टेलले जानकारी दिए ।

‘स्थानीय जनताले बल्लतल्ल निर्माण गरेको सडक खन्न नदिने अडान राखेपछि आयोजना कार्यान्वयन निर्देशनालयका प्रतिनिधिसहित निर्माण व्यवसायीका प्रतिनिधि र स्थानीय जनताको भेला ट्याङ्लाफाँट सामुदायिक सेवा केन्द्रमा भएको थियो,’ सामुदायिक सेवा केन्द्र ट्याङ्लाफाँटका अध्यक्ष कपिलमणि ज्ञवालीले राजधानीसँग भने, ‘पहिलो छलफलमा स्थानीयले आफ्नो अडान कायम राखेपछि पुनः दुई सातापछि दोस्रो बैठक बसेको थियो ।’

छलफलमा आयोजना प्रतिनिधि गिरिबहादुर सुनारले जनतालाई बर्खाअघि नै खनेको सडक जस्ताको तस्तै कालोपत्रे तथा ग्राभेल गरिने बताएको उनले जानकारी दिए । छलफलमा डिजाइन तथा सुपरभिजन कन्सल्ट्यान्टका इन्जिनियर दिलीप प्रधान र निर्माण व्यवसायीका इन्जिनियर कृष्ण हाङ्जुले बर्खाअघि नै काम सकी सडक जस्ताको तस्तै बनाइने प्रतिबद्वता जनाउँदै निर्णयपुस्तिकामा हस्ताक्षर गरेका थिए ।

आयोजनाले प्रतिबद्वताअनुरूप बर्खाअघि सडक पुनर्निर्माणको काम नभएपछि पटकपटक स्थानीय जनताले निर्माण व्यवसायीका प्रतिनिनिधि तथा मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयसँग अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ । निर्माण व्यवसायीले ‘प्रेसर टेस्ट’ गरेपछि बाटोको माटोसमेत सम्याएका छैनन् । ट्यांकरको पानीमा निर्भर रहेका स्थानीय मेलम्ची खानेपानीले सडक बिगारेपछि जारको पानीमा निर्भर छन् ।

मर्मत गरिदिने सम्बन्धमा मेलम्ची आयोजनाका मेनेजर मिलन शाक्यलाई मौखिक तथा लिखित रूपमा पटकपटक अनुरोध गर्दासमेत सुनुवाइ नभएको स्थानीय नेत्र खरेलले बताए । आयोजनाका निर्देशक तिरेशप्रसाद खत्रीलाई सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरूले भेटेर गुनासो सुनाउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीयले बताए ।
निर्माण व्यवसायीका इन्जिनियरहरूसँग सडक पुनर्निर्माण गरिदिन अनुरोध गर्दा व्यवसायी किरण वैद्य र उनका छोरा करण वैद्यले काम नगर्ने बताएका स्थानीयले जानकारी दिए ।

एक अर्को निकायबीच नै हुँदैन समन्वय

मेलम्ची खानेपानी आयोजनाले उपत्यकाको सडक खनेर केही स्थानमा पुरिसकेको छ । यसभन्दा अघि ढल विभागले उपत्यकाको ढल सुधारका लागि भन्दै सडक खनेको थियो । उपत्यकाका सडक खन्ने र पुर्नेमा नै बितिरहेको छ । केही समयअघि पुनः उपत्यकाको ढल सानो भएकाले ढल ठूलो बनाउनका लागि सहरी विकास मन्त्रालयले काम गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतानुसार निर्माण कम्पनीले उपत्यकाको सडक खन्ने तयारी गरिरहेको छ । एउटै सडक पटकपटक खनिएको छ ।

अझ सरकारले उपत्यकाको सुन्दरतामा सडकमा टाँगिएको तारलाई जमिनमुनिबाट राख्ने तयारी गरिरहेको छ । ‘सरकारले गरेको सबै काम सह्रानीय भए पनि ती निकायबीच समन्वय अभाव हुँदै एकपटक खने पुग्ने सडक पटकपटक खनिएका पाइएको छ,’ वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले राजधानीसँग भने, ‘यही समन्वयको कमीका कारण उपत्यकाको धुलोबाट मुक्त हुन अझै लामो समय कुर्नुपर्ने बाध्यता छ ।’ समान हैसियत भएको एक सरकारी निकायले गरेको निर्णय अर्को निकायले कार्यान्वयनमा नल्याउँदा यस्तो समस्या आएको उनको बुझाइ छ । सबैले मान्य हुने किसिमको संयन्त्रमार्फत काम गर्न सकेमा समन्वय हुने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij