२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भारतीय तटबन्ध र सडकले नेपाली भूभाग डुबानमा : आयोग

भारतीय तटबन्ध र सडकले नेपाली भूभाग डुबानमा : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सीमामा भारत सरकारले निर्माण गरेको तटबन्ध तथा सडकले नेपाली भूभाग डुबानमा पर्ने गरेको जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै महामारी र प्रकोप नियन्त्रण गरी नागरिकको स्वास्थ्यको अधिकार तथा सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गर्न सरकारलाई आग्रहसमेत गरेको छ । अबिरल वर्षाले मुलुकका विभिन्न भागमा भएको डुबान एवं बाढीपछि सिर्जित अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगले सप्तरी, कैलाली, जुम्ला, कालिकोटलगायत जिल्लामा स्थानीयको घरमा खोला पसी क्षति पु¥याएका कारण विस्थापित हुनु परेको, धन–बालीको क्षति भएको, बाँधलगायत संरचना भत्किएका लगायत कारणबाट थप मानवीय संकट आउनसक्ने जनाएको छ ।

आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले भारतले आफ्नो भूमि एवं जनताको रक्षाका लागि निर्माण गरेको तटबन्ध तथा सडकले नेपाली जनता वर्षाको समयमा दुःख भोग्नुपरेको बताइन् । नेपालको तराई मधेससँग छोएको भारतीय भूमिमा भारतले दसगजा क्षेत्रसँगै करिब १४ सय किलोमिटरभन्दा बढी लामो तटबन्ध तथा सडक निर्माण गर्दै छ । दसगजा क्षेत्रसँगै निर्माण भएका र केही ठाउँमा निर्माण हुने चरणमा रहेको सो तटबन्ध तथा सडक अन्तर्राष्ट्रिय सीमा मापदण्ड एवं प्राविधिक रूपमा अध्ययन गर्नुपर्ने सुझाव आयोगले नेपाल सरकारलाई दिएको छ ।

‘हामीले तराई मधेसको दक्षिणी क्षेत्रमा अनुगमन गर्यौं, भारत सरकारले दसगजा क्षेत्रसँगै निर्माण गरेको र केही ठाउँमा निर्माण गर्दै गरेको तटबन्ध तथा सडकले नेपालको भूभाग डुबानमा पर्नुका साथै नेपाली समस्या भोग्न बाध्य छन्,’ आयोगकी प्रवक्ता अन्सारीले राजधानीसँग भनिन्,

‘त्यो सडकको उचाइ र ठाउँठाउँमा पानी निकासका लागि कल्भर्ट नराख्नुले समस्या बढ्दै गएको छ, यसबारे नेपाल सरकारले अध्ययन गर्नु आवश्यक छ ।’

डुबान एवं बाढीपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारी आउन नदिन सबै सचेत हुनुपर्ने आयोगको सुझाव रहेको छ । देशको दक्षिणी सीमामा निर्माण गरिएको तटबन्ध तथा सडकबाट नेपाली भूभागमा पर्न गएको प्रभाव, तटबन्धको अन्तर्राष्ट्रिय सीमा मापदण्ड तथा प्राविधिक पक्षका सम्बन्धमा समेत विस्तृत अध्ययन गरी उत्पन्न हुने जलप्रकोप र मानवीय संकटको यथार्थपरक ढंगबाट सम्बोधन गर्न नेपाल सरकारलाई आयोगले सुझाव दिएको छ ।

हालै बाढीले पीडित विभिन्न जिल्लामा स्थलगत अनुगमन एवं निरीक्षण गरेको आयोगले बाढीपीडितलाई स्वास्थ्य, राहत एवं सुरक्षित वासस्थानको व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ ।

आयोगले सप्तरी, कैलाली, जुम्ला, कालिकोटलगायत जिल्लामा गरेको अनुगमनबाट बाढीका कारण स्थानीयको घरमा खोला पसी क्षति पु¥याएका कारणले विस्थापित हुनु परेको, धन–बालीको क्षति हुन पुगेको, बाँधलगायतका संरचना भत्किएको कारणबाट थप मानवीय संकट आउने निष्कर्ष निकालेको छ ।

बाढीबाट विस्थापितहरूको गाँस, बास र स्वास्थ्यको उचित व्यवस्था नरहेकाले पीडित कष्टकर जीवन बिताउन बाध्य भएका आयोगको अनुगमनमा देखिएको छ । जुम्ला जिल्लामा तीन दिनदेखिको निरन्तर वर्षाका कारण हवाई यातायात अवरुद्ध भई दैनिक जीवनयापनमा समेत कठिनाइ भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij