काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ -आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा र साक्षरताका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। बैंक र समितिबीच असोज ९ गते (सेप्टेम्बर २५) का दिन सम्झौता भएको हो।
सम्झौता अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यसका लागि रोटरी क्लबहरूमार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाहरूमा बैंकले वित्तीय सहयोग उपलब्ध गराउनेछ।
सहयोग अन्तर्गत बैंकले सामुदायिक र सार्वजनिक विद्यालयहरूमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ एवं स्वच्छतासम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर ल्याब स्थापना गर्नेछ। विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित यस्ता परियोजनाहरूमा बैंकले सहकार्य गर्ने जनाएको छ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस सहकार्यले विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ वातावरण, स्वच्छता र डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ।
समाजप्रतिको दायित्व वहन गर्ने क्रममा बैंकले हालै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत आर्थिक सहयोग पुर्याएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij