२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

भदौ २३ गते कसैले गोली चलाउन आदेश नदिएको प्रहरी महानिरीक्षक खापुङकाे स्पष्टाेक्ति

भदौ २३ गते कसैले गोली चलाउन आदेश नदिएको प्रहरी महानिरीक्षक खापुङकाे स्पष्टाेक्ति

  • शुक्रबार, कार्तिक २१ २०८२

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको घटनामा प्रहरीलाई गोली हान्ने आदेश कसैले नदिएको बताएका छन् । इमेज च्यानलको कार्यक्रम ‘हटसिट’लाई बिहीबार अन्तर्वार्ता दिने क्रममा खापुङले त्यो सबै तत्कालीन परिस्थितिको उपज भएको जवाफ दिएका छन् ।

गत भदौ २३ गते जेन–जीका नाममा भएको प्रदर्शनका क्रममा गोली चल्दा काठमाडौंमा १७ र सुनसरीको इटहरीमा २ सहित १९ जनाको ज्यान गएको थियो । उता भदौ २४ गते मच्चाइएको विध्वंशका क्रममा लुटपाट र आगजनी हुँदा थप ५७ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा आन्दोलनकारी २३ जना, १० जना कैदी र तीनजना प्रहरी पनि मारिए । अन्य ४१ जना कसरी मारिए भन्ने अहिलेसम्म खुलेको छैन । भाटभटेनी सुपरमार्केटमा जलेर मात्रै १२ जनाको मृत्यु भएको थियो ।

दुई दिने यो विध्वंशको दोष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि थोपरिरहेका बेला खापुङले परिस्थिति भड्किएपछि गोली चलेको खुलाएका हुन् । उक्त प्रकरणमा खापुङसहित प्रहरी नेतृत्व आलोचना भइरहेको छ । यो अवस्थामा खापुङले प्रहरीले कानुनी दायित्वअनुसार संसद् भवनजस्ता संवेदनशील संरचना जोगाउन बल प्रयोग गरेको बताएका छन् । ‘मानिसको मृत्यु आफैँमा दुःखद् हो। त्यो घटनाले हामीलाई गहिरो पीडा दिएको छ। म व्यक्तिगत रूपमा क्षमाप्रार्थी छु’, उनले अन्तर्वार्ताका क्रममा भनेका छन् ।

उनलाई उक्त अन्तर्वार्ताका क्रममा गोली चलाउने आदेश कसले दियो भन्ने प्रश्न पनि गरिएको थियो । ‘त्यस्तो आदेश कसैले दिएको होइन। परिस्थिति त्यस्तो बनाइयो कि प्रहरीले अन्ततः बल प्रयोग गर्नैपर्ने भयो’, उनले भने, ‘हामी न्यूनतम बल प्रयोग गर्ने तयारीमै थियौँ, तर स्थिति नै नियन्त्रण बाहिर गएपछि गोली चलाउनुपर्‍यो।’

आईजीपी खापुङले भदौ २३ गते संसद् भवनमा ‘घुसपैठिया’ प्रवेश गरी आगजनी र तोडफोड गरेपछि प्रहरीले कानुनी अधिकार प्रयोग गरेको बताए । ‘मानिसलाई लक्षित गरेर गोली हान्ने आदेश कसैले दिँदैन। त्यो तत्कालीन अवस्थाबाट सिर्जित निर्णय थियो’, उनले अगाडि भनेका छन् । तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आदेश दिएको भन्ने आरोपको उनले खण्डन गरे। ‘प्रधानमन्त्री वा गृहमन्त्रीले त्यसरी आदेश दिने कुरा हुँदैन’, उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी ऐन र कानुनअनुसार पूरा गर्छन्, भदौ २३ र २४ गते भएको पनि त्यही हो।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij