काठमाडौं, असोज २६ । नेपाल हस्तकला महासंघले सरकारले निर्यात उद्योगहरूलाई प्रदान गर्दै आएको नगद प्रोत्साहन (क्याश इन्सेन्टिभ) सुविधा हटाउने निर्णयले देशको निर्यात व्यापार प्रवर्द्धनमा गम्भीर असर पर्ने बताएको छ।
महासंघद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ– “नेपाल सरकारले निर्यात व्यापार प्रवर्द्धन गरी आयात र निर्यातबीचको असन्तुलन घटाउने उद्देश्यले दिँदै आएको नगद प्रोत्साहन सुविधा हटाउने निर्णयले नेपालको निर्यात व्यापारमा प्रतिकूल प्रभाव पार्नेछ।”
महासंघका अनुसार यस्तो निर्णयले उत्पादन व्यवसायहरूको प्रतिस्पर्धात्मक क्षमता घट्ने र विशेष गरी हस्तकला जस्ता तुलनात्मक लाभ भएका उद्योगहरूमा दुष्प्रभाव पर्नेछ। हस्तकला क्षेत्र नेपालकै पहिचान र रोजगारीसँग प्रत्यक्ष सम्बन्धित भएकाले यस्तो निर्णयले सम्पूर्ण निर्यातमुखी उद्योगहरूमा नकारात्मक असर पार्ने ठम्याइ महासंघको छ।
महासंघका महानिर्देशक उत्तम प्रसाद देवकोटाले सरकारको उक्त निर्णय फिर्ता लिन माग गर्दै भनेका छन्, “यस्तो नीतिले निर्यातमुखी उद्योग व्यवसायमा हतोत्साह पैदा गर्ने भएकाले सरकारले गम्भीरतापूर्वक समीक्षा गरी तुरुन्त निर्णय फिर्ता लिनुपर्छ।”
नेपाल हस्तकला महासंघले २०२५ असोज २६ गते जारी गरेको विज्ञप्तिमा नेपाल सरकारलाई निर्यात व्यवसायको संरक्षण र प्रोत्साहनमा ध्यान दिन आग्रह गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij