२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

धैर्य नगुमाऔं, अब खरानी टक्टकाएर उठ्नुपर्नेछः चन्द्र ढकाल

धैर्य नगुमाऔं, अब खरानी टक्टकाएर उठ्नुपर्नेछः चन्द्र ढकाल

  • आइतबार, भाद्र २९ २०८२

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले हालैको आन्दोलनका क्रममा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले अर्बौंको क्षति पुगे पनि उद्योगी–व्यवसायीले धैर्य नगुमाउन आग्रह गरेका छन्।

ढकालले चन्द्रागिरि र मौलाकाली केबलकारसहित आफ्ना व्यवसायहरूमा ठूलो क्षति पुगेको उल्लेख गर्दै यसले व्यक्तिगत रूपमा मन दुखाएको भए पनि निजी क्षेत्रको नेतृत्वकर्ताको हैसियतले आफूलाई सबैलाई हौसला दिनुपर्ने दायित्व रहेको बताए।

“कुनै बिउ पुँजी नै थिएन मसँग। तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो,” ढकालले भने। उनले इमानदारिता, मेहनत र निरन्तरतामार्फत शून्यबाट सुरु भएको यात्राले आज ठूलो रोजगारी र अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको बताए।

उनका अनुसार हाल उनका आयोजनाबाट २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने लाखौँ अप्रत्यक्ष रूपमा लाभान्वित छन्।

ढकालले विगतमा भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीजस्ता संकटमा समेत उद्योगी–व्यवसायीलाई हौसला दिएको स्मरण गर्दै अहिले पनि आत्मबल मजबुत बनाएर उठ्नुपर्ने समय आएको बताए।

उनले भने, “अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति हुँदा गहभरी आँसु पारेर बस्न मन लाग्छ। तर मलाई त्यसो गर्ने छुट छैन। अहिले पनि खरानी टक्टकाएरै उठ्नुपर्नेछ।”

ढकालले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको इन्जिनका रूपमा औंल्याउँदै यसले ८१ प्रतिशतभन्दा बढी योगदान दिने र ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने तथ्य नयाँ पुस्तालाई बुझाउनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij