रिभर फल्स पावर लिमिटेडले आगामी भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरी ७० करोड रुपैयाँ संकलन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। तसर्थ, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले यो हकप्रद शेयरका लागि आवेदन दिन योग्य हुनेछन्। लगानीकर्ताले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
हकप्रद शेयर निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालयका साथै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत र मेरो शेयर अनलाइन सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढीलगायतका अप्रत्यासित परिस्थितिका कारण आयोजनाको लागत वृद्धि भई थपिएको बैंक ऋण तिर्न प्रयोग गर्नेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij