काठमाडौं, साउन ४ – नबिल बैंक लिमिटेडले आफ्ना लगानीकर्ता तथा सर्वसाधारणका लागि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ। बैंकले ‘नबिल डिबेन्चर २०८९’ नामक ८ वर्षे अवधिको ऋणपत्र साउन ६ गते (जुलाई २१) देखि बिक्रीमा ल्याउन लागेको हो। यस ऋणपत्रमा साउन ९ गते सम्म आवेदन दिन पाइनेछ, तर त्यस अवधिमा प्रयाप्त रकम जुट्ने सुनिश्चितता नभएमा २० गते सम्म आवेदन दिन पाइने व्यवस्था गरिनेछ ।
बैंकले कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको छ, जसको प्रत्येक इकाइको मूल्य १,००० रुपैयाँ रहेको छ। यसमध्ये १८ लाख इकाइ (१ अर्ब ८० करोड रुपैयाँ बराबर) निजी संस्थागत लगानीकर्ताका लागि सुरक्षित गरिएको छ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिनेछ। यसमध्ये ५ प्रतिशत (६०,००० इकाइ) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
७ प्रतिशत वार्षिक ब्याजदर
ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर कायम गरिएको छ, जुन प्रत्येक ६–६ महिनामा भुक्तानी हुनेछ। यस ऋणपत्रको परिपक्वता अवधि ८ वर्ष अर्थात् २०८९ सालसम्म कायम हुनेछ।
आवेदन अवधि र व्यवस्थापन
ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम ३० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। सार्वजनिक निष्कासन साउन ६ गतेदेखि सुरु भई, प्राथमिक म्याद साउन ९ गतेसम्म रहनेछ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २० गतेसम्म आवेदन खुला रहने छ। यसकाे बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।
क्रेडिट रेटिङ र नियामक स्वीकृति
आईसीआरए नेपालले नबिल बैंकको ऋणपत्रलाई ‘ICRANP A+’ क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय सुदृढता र समयमै ऋण भुक्तानी गर्न सक्ने क्षमतालाई प्रतिबिम्बित गर्छ। यस ऋणपत्रलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ।
लगानीकर्ताका लागि अवसर
नबिल बैंकको ऋणपत्र सुरक्षित तथा स्थिर आयको स्रोतका रूपमा आकर्षक विकल्प बन्ने विश्वास गरिएको छ। विशेष गरी दीर्घकालीन तथा स्थायीत्व खोज्ने लगानीकर्ताका लागि यो डिबेन्चर लाभदायक बन्न सक्ने बैंकको भनाइ छ। बैंकका अनुसार ऋणपत्रबाट संकलन हुने रकमलाई पूँजी आधार सुदृढ गर्न, दीर्घकालीन लगानी व्यवस्थापन गर्न र समग्र बैंकिङ कारोबारलाई अझ सशक्त बनाउन प्रयोग गरिनेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij