जलश्रोत र जलपरिवहन विषयमा विज्ञको रुपमा पहिचान बनाउनुभएका एक विशिष्ट व्यक्तित्व एवं वरिष्ठ ईन्जिनियरको गत साल वि.सं २०८१ असार ४ मा स्वर्गारोहण भयो । ऊहाँ हुनुहुन्थ्यो स्व. डा. आनन्द बहादुर थापा ।
त्यसो भए को हुनुहुन्थ्यो त डा. आनन्द बहादुर थापा ? साथै ऊहाँको योगदान के रह्यो ? भन्ने विषय र प्रश्न अहिलेको नयाँ पुस्ताका अधिकांश व्यक्तिहरुको लागि उब्जनु स्वभाविक हुन सक्छ । यसैकारण ऊहाँको योगदानलाई समेटेर यो सामाग्री प्रकाशन गर्ने जमर्को गरिएको छ ।
डा. आनन्द बहादुर थापाको जन्म बि.सं १९९५ भदौमा बाराको कलैयामा भएको थियो । ऊहाँ पिता स्व.कृष्ण बहादुर थापा र माता स्व. गंगामाया थापाको पहिलो सन्तानको रुपमा यस धर्तीमा आउनुभएको हो ।

त्यस बेलाको राज्य व्यवस्था अनुसार ऊहाँका पिता बडा हाकिम हुनुहुन्थ्यो । बडा हाकिमको पहिलो सन्तानको रुपमा यस धर्तीमा आउँदा परिवारमा उत्सुकता, उमङ्गता र हर्षोल्लाष पक्कै पनि थियो । समयको घडी घुम्दै जाँदा पिताजीको विभिन्न स्थानमा सरुवा भईरह्यो । त्यससँगै छोरा आनन्द सहित परिवारका अन्य सदस्यहरु पनि ऊहाँ सँगसँगै बसाई सर्दै जानुपर्दथ्यो ।

डा. थापाले बाल्यकालिन शिक्षा सेन्ट जेभियर्स स्कुल, गोदाबरीबाट प्राप्त गर्नुभयो । उहाँ अर्थात् आनन्दको बुबा कृष बहादुर थापा पछि जिल्ला न्यायाधिश, अञ्चल न्यायाधिश, क्षेत्रीय न्यायाधिश हुँदै पछि सर्वोच्च अदालतको न्यायाधिश सम्म हुनुभयो । प्रारम्भमा न्याय क्षेत्रमा नै रहेर उच्च शिक्षा अध्ययन गर्नुपर्छ भन्ने लाग्दोरहेछ ऊहाँलाई । तर पछि त्रिचन्द्र कलेजबाट आई.एस्सी शिक्षा हासिल गरिसकेपछि भने ऊहाँलाई रुड्की विश्वविद्यालयबाट छात्रवृत्ति प्राप्त भयो । त्यस विश्वविद्यालयमा अध्ययनको लागि गएको ६ महिना नबित्दै ऊहाँलाई सोभियत संघ, रुसबाट छात्रवृत्ति आह्वान भयो । जसले गर्दा उहाँ रुड्की छोडेर ईन्जिनियरिङ अध्ययन गर्न पूर्वी सोभियत संघको मास्को जानुभयो ।
स्व.डा. आनन्दबहादुर थापा नेपालका एक वरिष्ठ जलविद्युत् इञ्जिनियर हुनुहुन्थ्यो्, जसले आफ्नो जीवन नेपालको ऊर्जा क्षेत्रको विकासमा समर्पित गर्नुभयो । नेपालको जलस्रोतको प्रभावकारी उपयोगमार्फत ऊर्जामा आत्मनिर्भरता, समग्र विकास र नेपाली अर्थतन्त्रलाई माथि उठाउन सकिन्छ भन्ने थापाको योगदान अहिले र भविष्यको लागि समेत हामी सबैको लागि स्मरणीय र प्रेरक भइरहनेछ ।
डा. आनन्द बहादुर थापाले मास्कोमा ९ बर्षको अध्ययन पछि जलश्रोत इन्जिनियरिङ विषयमा विद्यावारिधि गर्नुभयो । आफ्नो अध्ययन समाप्त भएपछि पनि ऊहाँ केही समय रुसमै रहनुभयो । त्यही बेलामा ऊहाँले रसियन–नेपाली शब्दकोष पनि प्रकाशन गर्नुभयो । त्यस बेला रुसमा नेपाली दूतावास थिएन । त्यस अवस्थामा डा. थापाले केही समय काउन्सेलरको हैसियतमा पनि काम गर्नुभएको थियो ।
जलविद्युत क्षेत्रका विभिन्न भूमिकामा ३ दशक भन्दा बढी योगदान पुर्याउनुभएका थापा सदैव मुलुकको समृद्धिको लागि जलविद्युतमा राज्यले सहज नीतिगत व्यवस्था गर्नुपर्नेमा सदैव जोड दिँदै आउनुभयो । साथै नेपालको ऊर्जा प्रवद्र्धन सम्बन्धी नीति तय गर्न तथा प्राविधिक मापदण्ड निर्माण गर्ने कार्यमा पनि उहाँ सल्लाहकार एवं कार्यान्वयनकारी लगायत विभिन्न भूमिकामा रही निरन्तर योगदान गरि नै रहनुभयो ।
रसियाबाट नेपाल फर्किएपछि ऊहाँ सरकारी सेवामा जोडिनुभयो । अलि पछि ऊहाँको सिँचाई तथा जलवायु विज्ञान विकास विभागमा सरुवा भयो । ऊहाँलाई कन्काई सिँचाई विकास परियोजनाको निर्देशकको रुपमा नियुक्त गरियो । जुन निकै महत्वपूर्ण जिम्मेवारी थियो । एसियाली विकास बैंकको सहयोगमा निर्मित कन्काई उच्च बाँधलाई पूर्वी क्षेत्रको सिँचाई र कृषि विकासको लागि मियोको रुपमा नै हेरिन्थ्यो । विश्वासयोग्य, बौद्धिक क्षमतायुक्त र लगनशिल नेतृत्वका कारण उक्त परियोजना समयमा नै सम्पन्न भयो । उक्त परियोजनालाई सफल परियोजनाको रुपमा लिइन्छ ।
वि.सं २०४२ तिर तत्कालिन राजा श्री ५ विरेन्द्रले डा. आनन्द बहादुर थापाको योगदानको सम्मान गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यको रुपमा नियुक्त गर्नुभएको थियो । विज्ञान र प्रविधिको क्षेत्रमा विकास, प्रवर्द्धन र परिचालन गर्न गरिएको रोनाष्टमा राजा आफैं कुलपति हुनुहुन्थ्यो भने प्रधानमन्त्री उपकुलपति रहने व्यवस्था थियो ।
डा. थापा वि.सं २०४६ साल पछि सहसचिवको रुपमा पुनः जलश्रोत मन्त्रालयमा नै फर्किनुभयो । पछि जल तथा शक्ति आयोगमा कार्यकारी निर्देशक (कार्यवाहक सचिव) समेत हुनुभयो । जल तथा ऊर्जा आयोगबाट ऊहाँले उमेर हदको कारण अवकाश पाउनुभयो । अवकाशपश्चात् पनि सल्लाहकारको रुपमा भने कार्य गरि नै रहनुभयो ।
अध्ययन अनुसन्धानको क्षेत्रमा विशेष रुचि राख्ने डा. आनन्द बहादुर थापाका थुप्रै लेखरचना एवं पुस्तकहरु प्रकाशन भएका छन् । डा. थापाले रुसमा विद्यावारिधिको क्रममा तयार पारेको थेसिसको अनुसन्धान सामाग्री ‘अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर’मा समेत प्रकाशन भएको थियो । कोशी नदी र कोशी बाँध सम्बन्धमा विशेष विज्ञता हासिल गर्नुभएका थापाका लेखहरु मूलतः कोशी नदी सम्बन्धमा बढी केन्द्रित छन् । कोशी सम्बन्धमा ऊहाँले गरेको अध्ययन राष्ट्रको लागि निकै लाभदायक हुने जानकारहरु बताउँछन् । नेपालका थुप्रै आयोजनाहरुको लागि ऊहाँको विज्ञता प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा फलदायी साबित भएको समेत ऊहाँका समकालिन मित्रहरु बताउँछन् ।
इमान्दार छविका हुनुको अलावा अध्ययनशिल एवं लगनशिल थापाले आफूलाई अन्तर्राष्ट्रिय स्तरको विज्ञको पहिचान बनाएर यस धर्तीबाट बिदा हुनुुभएको छ । सफल प्रशासकको समेत पहिचान बनाउनुभएका थापा आफ्नो भूमिका, उत्तरदायित्व एवं आफूले पूरा गर्नुपर्ने कार्य प्रति सदैव अति नै संवेदनशिल हुनुहुन्थ्यो । डा. थापाका सुपुत्र पोषण र सुपुत्री मोनाका अनुसार ऊहाँले घरमा बसेको बेला अधिकांश समय अध्ययनमा नै बिताउनुहुन्थ्यो ।
इतिहासको अध्ययनमा समेत रुचि राख्ने थापाले प्रकाशन गरेको पछिल्लो कृति ‘Role of Bhakti Thapa in Nation Buliding’ अर्थात् ‘राष्ट्र निर्माणमा भक्ति थापाको भूमिका’ हो । आधुनिक नेपाल निर्माण एवं एकीकरणका एक महत्वपूर्ण पात्र सरदार भक्ति थापाका छैठौं पुस्ता अन्तरगतका पात्र हुनुहुन्छ डा.आनन्द बहादुर थापा । ऊहाँले अग्रज व्यक्तित्व भक्ति थापा सम्बन्धी थुप्रै लेख एवं प्रकाशन सामाग्रीहरु ऊहाँकी श्रीमती लक्ष्मी थापासँगको संयुक्त प्रयाशमा प्रकाशन गर्नुभएको छ ।

डा. थापा केवल इञ्जिनियर मात्र होइन, एक राष्ट्रप्रेमी चिन्तक एवं कुशल प्रशासक पनि हुनुहुन्थ्यो । ऊहाँको सरल, निष्ठावान् जीवनशैलि तथा कर्मशिल स्वभाव सबैको लागि अनुकरणीय छ । प्राविधिक ज्ञानलाई केवल पेशा होइन, सेवा र राष्ट्रनिर्माणको आधार समेत मान्नुपर्छ भन्ने मान्यताबाट हामी निर्देशित हुनसके मात्र सच्चा राष्ट्र प्रेम एवं योगदान हुनेछ भन्नेमा ऊहाँ सदैव कटिबद्ध रहिरहनुभयो । मुलुकलाई आत्मनिर्भर बनाउनको लागि आफूसँग उपलब्ध श्रोतसाधनकै उपयोग गर्नुपर्ने सम्बन्धमा ऊहाँको घटाएर स्वदेशी प्रविधिको विकास र प्रयोग मा जोड दिँदै आउनुभयो ।
‘नेपालमा पानी बगिरहेको छ, तर मुलुकमा अँध्यारो छ, हामीले यसको समाधान खोज्न ढिलाई नगरौं । इमानदार तवरले मुलुकको विकासको लागि प्रतिवद्ध भयौं र सही नेतृत्व एवं वैज्ञानिक सोच सहित अघि बढ्यौं भने हामी समृद्धिको दिशामा अवश्य अघि बढ्नेछौं’ भन्ने मान्यता राख्ने प्रेरित थापाका सन्देशहरु अहिलेको पुस्ताको लागि पनि त्यति नै मननयोग्य र मागदर्शक बन्न सक्छन् ।
डा. आनन्दबहादुर थापाका निम्न विचारहरुलाई समेत हामी अवलम्बन गरेर आफूलाई खुसी, आनन्दित एवं मुलुकलाई दिगो रुपमा समृद्धिको दिशामा अघि लैजान सक्छौं ।
उहाँको कर्मशिल जीवनशैलि एवं विकासप्रेमी दृष्टिकोणले विद्यार्थी, युवा, उद्यमी, इञ्जिनियर, नीति निर्माता र अनुसन्धानकर्ता लगायत सबैलाई मार्गदर्शन एवं प्रेरणा मिल्छ ।
पाठ |
व्याख्या |
|---|---|
| 1. दीर्घकालीन सोच | परियोजना बनाउँदा २० वर्ष पछिसम्म सोच्ने बानी |
| 2. समर्पण | राष्ट्रको लागि नाफा भन्दा सेवा प्रमुख राख्ने भावना |
| 3. विद्यार्थी प्रवृत्ति | जीवनभर सिक्न तयार हुने बानी |
| 4. नेतृत्व क्षमता | टोलीलाई ऊर्जा र लक्ष्य दिन सक्ने कौशल |
| 5. स्थानीय जनतालाई संलग्न गराउने शैली | सिँचाइ आयोजना सफल हुन स्थानीय सहभागिता अनिवार्य ठान्ने |
डा. आनन्द बहादुर थापा जस्ता व्यक्तिहरूको जीवन नेपालका नयाँ पुस्ताका लागि पाठशाला हो। आजको पुस्ताले यदि उहाँको जीवन दर्शनलाई आत्मसात् गर्न सक्याैं भने साँचो राष्ट्र सेवा त्यही हुनेछ।
उहाँले देखाएको बाटो जलश्रोतको न्यायसंगत उपयोग, समुचित सिँचाइ व्यवस्थापन, र दीर्घकालीन विकासको मोडेल हो — जुन केवल किताबमा होइन, व्यवहारमा पनि लागु गरिनु आवश्यक छ।

किनकि,
डा. आनन्दबहादुर थापा नेपालको जलविद्युत् क्षेत्रका एक सच्चा अग्रदूत हुनुहुन्थ्यो । उहाँको अनुभव, सोच र समर्पणले आजको पुस्तालाई सृजनशील, नेतृत्वदायी एवं राष्ट्र निर्माणको मार्गमा हिँड्नको लागि अवश्य प्रेरणा र प्रोत्साहन थप्ने काम गर्नेछ ।
यदि तपाईंहरू डा. थापाकाे यस किसिमकाे समर्पण र याेगदानबाट प्रेरित हुनुभयो भने, यो लेख अवश्य शेयर गर्नुहोस्। जसले गर्दा अन्य थुप्रै व्यक्तिहरूकाे लागि प्रेरणा र मार्गदर्शन मिल्न सकाेस् । साथै यस सामाग्रीकाे कुन कुरा तपाईंलाई सबैभन्दा मन पर्यो ? अवश्य जानकारी गराउनुहाेला ।
लिंकहरू
नेपालमा जलविद्युत उत्पादन र यसकाे सम्भावना
राम्रा बानी विकास र नराम्रा बानीबाट छुटकारा पाउन सिकाउने पुस्तक: Atomic Habits
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij