काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि असार २९ गतेदेखि पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिपछि कम्पनीले आफ्नो ८३ करोड रुपैयाँको जारी पुँजीको ३५ प्रतिशत बराबरको २९ लाख ५ हजार कित्ता सेयर सार्वजनिक गर्न लागेको हो। यो एफपीओको कुल मूल्य २९ करोड ५ लाख रुपैयाँ बराबर हुनेछ।
कम्पनीले पहिलो चरणमा ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीयहरूका लागि खुला गर्दैछ। जसमा बझाङ जिल्लाको बुङ्गल नगरपालिका–६ का साविक पिपलकोटा र कफल्सेरी गाविसका केही वडालाई अति प्रभावित क्षेत्र मानी ६५ प्रतिशत सेयर छुट्याइएको छ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रलाई लक्षित गरिएको छ।
यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित स्थानीयहरूले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। तर, सो अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन अवधि साउन २६ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अनिवार्य रूपमा साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंकलगायत आयोजनास्थित बैंकहरूबाट आवेदन दिन सक्नेछन्।
बुङ्गल हाइड्रोले बझाङ जिल्लामा १०.७ मेगावाट क्षमताको माथिल्लो सानीगाड जलविद्युत् आयोजना निर्माण गरी २०८० साल भदौ २ गतेदेखि विद्युत् उत्पादन सुरु गरिसकेको छ। आयोजनाको कुल लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij