२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पित

पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पित

  • सोमबार, माघ २८ २०८१
अरुणोदय स्मारिका लोकार्पण समारोह काठमाडौँ, २५ माघः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्मारिका प्रकाशन समितिद्वारा शुक्रबार काठमाडौँमा आयोजित अरुणोदय स्मारिका–२०८१ लोकार्पण समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

 

काठमाडौँ । अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुरको ६०औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित अरुणोदय स्मारिका २०८१ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको इतिहास, यात्रा संघर्ष र भावी कार्यदिशा समेटिएको दस्तावेज लोकार्पण गरेकी हुन् ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले देश विकासको मेरुदण्ड शिक्षा नै भएको बताउँदै शिक्षा विकास अबको मुख्य प्राथमिकता हुनुपर्ने बताइन् । पछिल्लो समय नेपालको शिक्षा क्षेत्र बरालिएको महसुस हुन थालेको बताएकी उनले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्ने बताइन् ।

माध्यमिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरण अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने भन्दै उनले अरुणोदय मावि नमुना विद्यालयका रूपमा स्थापित भएकामा बधाई दिइन् ।
उच्च शिक्षा पूरा गर्न नपाउँदै बिदेसिनेको लर्को लागिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘अहिले हाइस्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरूले देखाइरहेका छन् । हिजो जुन आवश्यकताले हाइस्कुलहरू वा स्कुलहरू गाउँमा खोलेका थियौँ, अहिले तिनीहरू शून्य–शून्य जस्तो हुँदै छन् ।’

स्मारिकाका प्रधानसम्पादक देवीप्रसाद घिमिरेले सञ्चालन गरेको कार्यक्रममा देशका उच्च ओहोदामा पुगेका विद्यालयका विभिन्न पूर्वविद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो । अरूणोदयका पूर्वविद्यार्थीहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुलीलगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो । यस्तै, हालसालै प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका पूर्वविद्यार्थी प्रभुप्रसाद ढकाललाई सम्मानसहित बधाई ज्ञापन गरिएको थियो ।

कोसी प्रदेश, भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्बीमा रहेको अरुणोदय माविले स्थापनाको ६०औँ वर्ष पूरा गरेको अवसरमा ‘इतिहासको अभिलेखन, भविष्यको मार्गदर्शन’ भन्ने मूल उद्देश्य राखेर ५१२ पृष्ठको स्मारिका प्रकाशन गरेको हो । विभिन्न ४ खण्डमा विभाजन गरी विद्यालय स्थापनाको पृष्ठभूमि, विकास र विस्तारको क्रमसँगै पूर्वविद्यार्थी, पूर्वशिक्षक, स्थानीय अग्रज, शिक्षासेवीसहित १०० जनाभन्दा बढीको अनुभव समेटिएको स्मारिका प्रधानसम्पादक देवीप्रसाद घिमिरेको नेतृत्वमा परमेश्वर अधिकारी, दीपक आचार्य, देवीचरण घिमिरे, गुणराज पराजुलीले सम्पादन गरेका हुन् ।

स्मारिका आगामी पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास लिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीले बताए । ‘माध्यमिक तह स्थापनाको ६ दशक लामो समय बितिसक्दा समेत यसको इतिहास अभिलेखित हुन सकेको थिएन, यो काम गर्नैपर्छ भनेर लाग्यौँ,’ उनले भने, ‘विद्यालयको यो सपना साकार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति आभारी छौँ । एउटा इतिहास लेख्न सफल भएका छाँै ।’

राणा शासनकालमै अनौपचारिक पाठशालाका रूपमा सुरु भई २०१० सालमा अरुणोदय अपर प्राइमरी स्कुलका नाममा प्राथमिक तहको अनुमति प्राप्त गरेको सो विद्यालय २०२२ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । हाल सो विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij