वरिष्ठ मुटु विशेषज्ञ डाक्टर अवनीभूषण उपाध्यायले आफ्नो दोस्रो पुस्तक मान्छेको मुटु सार्वजनिक गर्नुभएको छ। ७० बर्ष उमेरका उहाँ करिब ५० वर्ष मान्छेको मुटुको उपचारमा संलग्न रही काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । उहाँले आफ्नो दोस्रो कृतिको रुपमा ‘मान्छेको मुटु’ पुस्तक सार्वजनिक गर्नुभएको हो।
पुस्तक लाेकार्पण समारोहमा पुस्तककी प्रकाशक इदा उपाध्याय, वरिष्ठ फिजिसियन डा. सत्यनारायण सुवाल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रत्नमणि गजुरेल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारी लगायतकाे उपस्थिति थियाे ।
आइतबार नक्साल स्थित होटल मेरियटमा एक भव्य कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको यो पुस्तकको प्रकाशक ईदा उपाध्याय हुनुहुन्छ ।
कुल ३१० पृष्ठ रहेको यस पुस्तकमा मान्छेको मुटु के हो यसले कसरी काम गर्छ मान्छेको मुटुमा के कस्ता कार्यक्षमताहरू रहन्छन्, मष्तिष्क र मुटुकाे सम्बन्ध के हुन्छ भन्ने लगायतका विषयवस्तुहरुमा प्रश्न उत्तर शैलिमा सूक्ष्म रुपमा व्याख्या गरिएकाे छ ।
पुस्तकमाथि डाक्टर प्रकाशराज रेग्मीले प्रकाश पार्नुभयो। काडियोलोजिस्ट डाक्टर रेग्मीले मान्छेको मस्तिष्कमा मात्र नभई हृदय अर्थात् मुटुमा पनि अलग्गै ब्रेन रहने र जसलाई लिटिल ब्रेन भनेर चिनिने समेत बताउनुभयो। रेग्मीले पुस्तकका लेखक अवनिभूषण उपाध्यायकाे स्वभाव र व्यक्तित्वका बारेमा पनि वर्णन गर्नुभयाे । साथै उहाँले मुटुलाइ भाैतिक, आत्मिक, आध्यात्मिक, भावनात्मक लगायतका विभिन्न आयामहरुबाट व्याख्या गरेर मुटुबारे जानकारी नभएका विभिन्न तथ्यहरुबारे प्रष्ट पार्नुभयाे ।
पुस्तकको सम्पादन पत्रकार लक्ष्मण अधिकारीले गर्नुभएको छ भने यस पुस्तकलाई श्री गणेश सप्लायर स्टोरले वितरकको रुपमा काम गर्नेछ।
मान्छेको मुटु सम्बन्धमा थप बुझ्न स्वस्थ रहन अनुसन्धान गर्न र आफ्नो जीवनलाई पुर्याउन चाहने हरेक व्यक्तिको लागि यो पुस्तक अत्यन्त उपयोगी हुनेछ किनकि यस पुस्तकमा मेडिकल टर्महरूलाई सहज रुपमा सबैले बुझ्ने गरी प्रस्तुत गरिएको छ। पुस्तकको मूल्य ६०० तोकिएको छ।
मुटु सम्बन्धी कुनै समस्या वा राेग उत्पन्न हुनुमा हामीले समयमा नै यसको ख्याल गर्न नसक्नु मुख्य कारणहरू हुन् । हाम्रा हरेक गतिविधि, साेच्ने तरिका, भावनात्मक पक्ष र जीवनशैलीकाे यसमा प्रभाव रहन्छ भन्ने कुरामा पुस्तक केन्द्रित छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij