२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

संखुवासभाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात

संखुवासभाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात

  • मंगलबार, माघ १५ २०८१

 

किमाथाङ्का, (सङ्खुवासभा)/  चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ ।

चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिनुभयो ।

जिल्लामा गत वर्ष सात सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २० करोड भित्रिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । विविध कारणले उत्पादन घटेपनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो । भारत र भुटानमासमेत उत्पादन कम हुँदा निर्यात बढी भएको जनाइएको छ । एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा सुधार आएको हो ।

अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख १५ हजारमा बिक्री भइरहेको छ । जिल्लामा एक हजार सात सय ३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोट डढ्ने गरेको किसानको गुनासो छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । अलैँची उत्पादन हुने क्षेत्र सङ्खुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ ।

यो परियोजना सङ्खुवासभाका १० स्थानीय तह र भोेजपुरका ६ स्थानीय तहमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले छ वर्षदेखि परियोजना सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij