काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक साधारण सभा तथा वार्षिक उत्सव २०८२ फागुन २ गते (१४ फेब्रुअरी २०२६) शनिबार काठमाडौंको बुढानिलकण्ठस्थित पवेरा हेरिटेज बुटिक होटलमा भव्य रूपमा सम्पन्न भएको छ।
२०७४ सालदेखि काठमाडौं जिल्लाभित्र होटल व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसाय प्रवर्द्धन, पर्यटन विकास तथा समन्वयकारी भूमिकामा सक्रिय रहँदै आएको संघ हाल विभिन्न इकाई संस्था तथा सदस्य होटल व्यवसायीहरूलाई समेट्दै सशक्त रूपमा अघि बढिरहेको छ। संघले व्यवसायी सुरक्षादेखि नीति–निर्माण तहसम्म आफ्ना धारणा राख्दै पर्यटन क्षेत्रको संस्थागत विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सुरेश बरालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुके तथा होटल संघ नेपालका महासचिव साजन शाक्यको उपस्थिति रहेको थियो। साथै होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालसहित प्रदेश तथा विभिन्न इकाईका पदाधिकारी, सदस्य संस्था, प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

खुल्ला सत्रको सञ्चालन संघका महासचिव शैलेन्द्र विक्रम थापाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्था, प्रायोजक कम्पनी, पर्यटनसम्बद्ध व्यावसायिक संस्था तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि दीपकराज जोशीले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेको सहायता कक्षलाई विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंसँग पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा सहकार्य अझ सुदृढ बनाइने बताउनुभयो। उहाँले होटल व्यवसायीहरू पर्यटन क्षेत्रका आधारस्तम्भ भएको उल्लेख गर्दै राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल सहायता कक्ष निर्माण तथा सञ्चालनमा योगदान पुर्याउने संघ–संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने उपस्थित अतिथीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै नव निर्वाचित इकाई कमिटीहरूलाई बधाई ज्ञापन गरिएको थियो। बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर खाती, एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ गौशालाका अध्यक्ष सरोज आले तथा काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुव कार्की नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
बन्द सत्रको सञ्चालन संघका सचिव अनिश बानियाले गर्नुभएको थियो। प्रतिनिधिहरूको सर्वसम्मतिबाट संघलाई अझ चुस्त, दुरुस्त र सशक्त बनाउने उद्देश्यले विधानमा आवश्यक संशोधन गरिएको छ।
महासचिव शैलेन्द्र विक्रम थापाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष शालिकराम थापाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। सहभागीहरूले व्यवसायी हित, सुरक्षा, नीति–संवाद तथा पर्यटन प्रवर्द्धनमा संघलाई अझ प्रभावकारी बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
समापन मन्तव्यका क्रममा अध्यक्ष सुरेश बरालले संघलाई एकीकृत, सक्रिय र परिणाममुखी संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसरी जिल्ला होटल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक उत्सव तथा साधारण सभा खुल्ला र बन्द दुवै सत्रमा गरिमामय, उत्साहपूर्ण तथा व्यवसायी एकताको सन्देशसहित सफलतापूर्वक सम्पन्न भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij