
भक्तपुर, कमलविनायक – ग्रामीण तथा शहरी विपन्न वर्गका परिवारहरूको आर्थिक तथा सामाजिक स्तरलाई माथि उठाउने उद्देश्यसहित कार्यरत स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय कमलविनायकले २ दिने व्यावसायिक अचार बनाउने तालिम सम्पन्न गरेको छ।
ग्रहक संरक्षण कोष अन्तर्गत आयोजित उक्त तालिम २०८२ साल जेठ २८ र २९ गते भक्तपुरको कमलविनायकस्थित यचु होटलमा सम्पन्न भएको थियो। तालिममा कुल ५५ जना सहभागिको उपस्थिति रहेको थियो, जसमा महिला सदस्यहरुको उल्लेखनीय सहभागिता देखिएको थियो।
संस्थाको ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार सञ्चालन गरिएको यस तालिममा सहभागी महिलाहरूलाई व्यावसायिक अचार बनाउने पाँच फरक तरिका सिकाइएको थियो। सहभागीहरूले अचार बनाउने कला र प्रविधिको व्यावहारिक ज्ञान लिएका थिए, जसले उनीहरूलाई आगामी दिनमा घरेलु तथा व्यवसायिक उत्पादनमा संलग्न गराउन सहयोग पुर्याउनेछ।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा श्रीमती उर्मिला श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। उहाँले नेपाली परम्परागत स्वादयुक्त अचारलाई आधुनिक बजारको आवश्यकता अनुसार कसरी उत्पादन र प्याकेजिङ गर्ने भन्ने विषयमा व्यावहारिक सत्र सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा स्वावलम्बन लघुवित्तका क्लस्टर प्रमुख श्री चेतनाथ बगाले, शाखा प्रबन्धक श्रीमती सुनिता काफ्ले, वरिष्ठ सहायक श्री विवेक कुँवरलगायत संस्थाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।
शाखा कार्यालय कमलविनायकले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका अन्तर्गत १३६ वटा केन्द्रहरू मार्फत २५२८ जनालाई प्रत्यक्ष सेवा दिँदै आएको छ। हालसम्म यस शाखाबाट रू. १८ करोड ६४ लाख बराबरको कर्जा वितरण तथा रू. १९ करोड ५७ लाख बराबरको बचत संकलन गरिसकिएको छ।
यस प्रकारको व्यावसायिक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन, उनीहरूको लुकेको सीपलाई उजागर गर्न र घरायसी व्यावसायिक सुरुवातका लागि प्रेरणा दिन सहयोग पुग्ने विश्वास लिइएको छ।
सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यावहारिक अनुभव भएको प्रतिक्रिया दिएका छन्। कतिपय महिलाले यस तालिमपछि आफ्नै ब्राण्डमा अचार व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिमको समापन सत्रमा सहभागीहरूमध्ये धेरैजसोले यस्तो कार्यक्रम बारम्बार हुनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूका अनुसार, संस्थाले उपलब्ध गराएको यस्तो प्रकारको सीपमूलक तालिमले ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउने मात्र होइन, पारिवारिक आम्दानीको वैकल्पिक स्रोत पनि खोलिदिनेछ।
स्वावलम्बन लघुवित्तले आगामी दिनहरूमा पनि यस्तै प्रकारका सीपमूलक तालिमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम अन्त्यमा सहभागीहरूले संस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई ‘उद्यमी महिलाको यात्रातर्फ’ अघि बढ्न सहयोग पुर्याउने बताएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij