२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

स्टिभ जब्सको सन्देशः आफैं माथि विश्वास गरौं, हृदयको आवाज सुनेर काम गरौं

स्टिभ जब्सको सन्देशः आफैं माथि विश्वास गरौं, हृदयको आवाज सुनेर काम गरौं

  • बुधबार, जेष्ठ १ २०८२

 

हरेक मानिसको अन्तिम लक्ष्य सफलता हुन्छ । तर सफलताको परिभाषा हरेक मानिसको फरक–फरक हुन सक्छ । त्यो उसको जीवन संघर्ष एवं भोगाईमा आधारित हुन सक्छ ।

यहाँ हामी स्टिभ जब्सको सफलता बारे उनी आफैंले स्ट्यान्डफर्ड विश्वविद्यालयको दिक्षान्त सामारोहमा व्यक्त गरेका आफ्नो जीवनका ३ महत्वपूर्ण घटनाहरुलाई उल्लेख गर्दैछौं ।

पहिलो प्रशंगः कलेजको पढाई छोड्नु र पनि कलेज गईरहनु

स्टिभ जब्सले स्नातक अध्ययनको लागि कलेजमा भर्ना भएर ६ महिनामै कलेज छाडेका थिए । तैपनि उनी बाँकी १८ महिनासम्म अध्ययनको लागि कलेजमा गइरहे । किनकि उनी अन्य कक्षाहरु छोडेर केवल आफ्नो रुचि अनुसारका कक्षाहरु मात्र लिने गर्थे । कलेज छोडेर पनि कलेज गइरहनु ?  हो, यो अन्य व्यक्तिहरुको लागि हास्यास्पद लाग्न सक्छ । यसबारे स्टिभले आफ्नो भाषणमा अनौठो उत्तर दिएका थिए ।
उनको जन्म हुनुभन्दा पहिले देखि नै यसको सुरुवात भएको थियो । कसरी त ? उनकी आमा एक जवान अविवाहित महिला थिइन् । उनी आफ्नो छोरा अन्य कुुनै मानिसलाई धर्मपुत्रको रुपमा दिन चाहन्थिन् । एक व्यक्तिले उक्त प्रस्तावलाई स्वीकार गरे । केही महिना पछि स्टिभलाई कलेज पठाउने वाचा सहित नयाँ अभिभावकको जिम्मा लगाईयो ।

सोही सर्त अनुसार स्टिभ १७ वर्ष उमेर पुगेपछि कलेज गए, जुन कलेज अत्यन्तै महँगो थियो, त्यो स्ट्याण्डफर्ड थियो । तर उनले कलेजमा अध्ययनको महत्व नै देखेनन् । जीवनमा आफू के गर्न चाहन्छु र कलेजले कसरी मद्दत गर्नेछ भन्ने कुरा थाहा पाउन सकेनन् उनी । त्यसकारण आमाबुवाको बचत खर्च सकाउनु भन्दा कलेज छोड्ने निर्णयमा पुगे उनी । उनको लागि यी सबै डरलाग्दा निर्णयहरु थिए । तर ‘जे हुन्छ राम्रोको कै लागि हुन्छ’ भन्ने सोच लिएर अगाडि बढिरहे । सोहीकारण उनी आफ्ना रुचिका कक्षाहरु मात्र लिन थाले । यी सबै कुरा उनको लागि सजिला थिएनन् । उनीसँग बस्ने, सुत्ने ठाउँ थिएन । साथीको कोठाको भुइमा सुत्नुपथ्र्यो । राम्रोसँग खाना पाउँदैनथे । उनी हरेक आइतबार ७ माइल हिँडेर कृष्णको मन्दिरमा जान्थे । हप्ताको एकदिन भएपनि पेटभरि खाना खान पाऊँ भनी उनी प्रार्थना गर्दथे ।

उपलब्धि र सन्देशः

उनले कलेजको औपचारिक कलेज छोडेर आफ्ना इच्छा बमोजिमको काम मात्र गरे । यसकारण कलेजबाट उनले क्यालिग्राफी अध्ययन गरे-सिके । जसमा उनले सेरिफ र सेन्स सेरिफ टाइप फेसहरु विभिन्न अक्षरहरुको विचमा स्पेस कसरी बनाउँने र राम्रो टाइपोग्राफीलाई अझ कसरी उत्कृष्ट बनाउने भन्ने कुराहर सिके । जुन अक्षरहरु कलात्मक, सुन्दर र ऐतिहासिक थिए ।

यही पृथक सीपको कारण उनको टिमले समयान्तरमा पहिलो Macintosh कम्प्युटर बनाए जुन म्याकमा डिजाइन गरेको थियो । यो टाइपोग्राफीसँगको संसारको पहिलो कम्प्युटर बन्यो । पछि उनले भनेका थिए् कि यदि मैले कलेजको पढाई छोडेर क्यालिग्राफिी नसिकेको भए म्याकमा कहिल्यै मल्टिपल टाइपफेस वा प्रोपोर्सनल्ली स्पेस्ड फन्टहरु हुने थिएनन् । यदि म कलेजको नियमित विद्यार्थी हुन्थेँ भने यो सम्भव हुने थिएन ।

 

सन्देशः
उनले कलेजका विद्यार्थीहरुलाई भने, ‘तपाईं भविष्य हेरेर डट्सहरु जडान गर्न सक्नुहन्न, तपाई पछाडि हेरेर मात्र जडान गर्न सक्नुहुन्छ । त्यसकारण तपाईले विश्वास गर्नपर्छ कि अहिले जे भइरहेको छ,त्यो कुनै न कुनै रुपमा तपाईको भविष्यसँग जोडिएको छ । यसकारण आफैंमा विश्वास गर्नुभयो भने तपाईले फरक महसुस गर्नुहुनेछ । तपाईलाई हृदयको कुरा सुन्न सक्ने हिम्मत मिल्नेछ । जब तपाई फरक बाटोमा हिँड्नुहुन्छ, यसले तपाईलाई अरु मानिसभन्दा फरक बनाउने नै छ ।’


दाेस्रो  प्रशंगः कम्पनीबाट निकालिनु र नयाँ शुरुवात

स्टिभले आफ्नो सोचलाई पूरा गरेरै छोडे । उनले साथी वोजसँग मिलेर २० वर्षको उमेरमा एप्पल सुरु गरेका थिए । कडा मिहनेत र परिश्रमको बलमा शून्यबाट शुरुवात भएको उनको कम्पनी १० बर्षमा नै २ जनाबाट शुरु भएर ४ हजार जना व्यक्ति जोडिएको कम्पनी बन्न पुग्यो । कम्पनीको सम्पति २ बिलियन डलर पुग्न सक्यो । यसको केही बर्षमा नै उनलाई उक्त कम्पनीबाट नै निकालियो । आखिर कसरी त ?

 

कम्पनीले एक जना बुद्धिमान मानिसलाई काममा राखेको थियो । केही वर्षपछि कम्पनीको भविष्यबारे विवाद हुँदा सबै सञ्चालकहरुले तिनै नवप्रवेशीको समर्थन गरे र स्टिभलाई सार्वजनिक रुपमै कम्पनीबाट निकालियो ।

स्टिभ चिन्तित भए । मैले अब के गर्ने ? कहाँ जाने ? तर बिस्तारै उनले यी सबै कुरालाई सहज रुपमै स्वीकार्दै गए । एप्पलको घटनाले उनको जोशमा अलिकति पनि कमी आउन पाएन । किनकि उनी अरुले स्वीकार गरेपनि वा नगरे पनि आफ्नो कर्ममा लागिरहन मन पराउँथे । अब उनले एप्पलबाट निकाल्नुलाई नै राम्रो अवसर मान्न लागे । उनी सोच्थे कि मेरो लागि नयाँ शुरुवात गर्नको लागि यो भन्दा राम्रो अवसर केही हुन सक्दैन ।सोहीबमोजिम उनले एक नयाँ योजना अघि सारे ।

उनले ५ वर्ष पछि अर्काे Next र Pixar कम्पनी सुरु गरे । Pixar कम्पनीले संसारको पहिलो कम्प्युटर र एनिमेटेड चलचित्र निर्माण गर्यो । अहिले यसलाई विश्वको सबभन्दा सफल Animated Studio को रुपमा चिनिन्छ । समग्रमा, उनी फेरी पनि सफल नै भए ।

नसोचेको उपलब्धि

स्टिभका नयाँ कम्पनी पनि सफल भएपछि एप्पल कम्पनीले एउटा अप्रत्याशित निर्णय लियो । एप्पलले Next किन्यो । उनी फेरि एप्पलमा जोडिए अनि फर्किए पुरानै अध्यक्ष पदमा, कार्यकारी बने । उनी विश्वासका साथ भन्छन् कि यदि एप्पलले मलाई ननिकालेको भए यी कुनै पनि काम मबाट हुँदैनथिए । त्यसबेला यो एक निकै तितो पल थियो तर कालान्तरमा निकै गुलियो बन्न पुग्यो । कहिलेकाहीँ जीवनले हामीलाई यसरी हिर्काउँछ कि त्यो समयमा हामीले हाम्रो विश्वास गुमाउनु हँुदैन, ताकि हामी पुनः नयाँ फड्को मार्न सकौं ।

यस घटनाको सन्देशः

तपाईको काम तपाईको जीवनको एक ठूलो हिस्सा हो । सन्तुष्ट हुनुको एक मात्र काम भनेको त्यो काम गर्नु हो जुन कामलाई तपाईं साँच्चै महान मान्नुहुन्छ र महान काम गर्ने एक मात्र तरिका भनेको आफूलाई मनपर्ने काम गर्नु हो । यदि तपाईले अहिलेसम्म त्यो काम फेला पर्नुभएको छैन भने नरोकिनुहोस्, खोजिरहनुहोस् । हृदयसँग जोडिएका सबै चिजहरु जस्तै तपाईले यस कामलाई फेला पारेपछि थाहा पाउनुहुनेछ र सम्बन्ध भए जस्तै यी काम पनि समयसँगै राम्रो हुनेछन् । त्यसैले खोजिरहनुहोस्, नरोकिनुहोस् ।

तेस्रो प्रशंगः मृत्युबाट फर्किंदा
स्टिबलाई निको नहुने क्यान्सर भयो । डाक्टरका अनुसार उनको बाँच्ने समय अब ३ देखि ६ महिना मात्र बाँकी थियो । डाक्टर उनलाई घरमा सबै कुरा व्यवस्थित गर्न र अलबिदा भन्न सुझाव दिन्थे । ताकि परिवारले उनलाई गुमाउनुपर्दाको पीडालाई काम गर्न सकोस् । उनलाई दुर्लभ प्रकारको प्यान्क्रियाटिक क्यान्सर थियो । जसको उपचार पछि एउटा शल्याक्रियाबाट सम्भव भयो । यस अर्थमा उनी मृत्युको मुखबाट बाँचेका व्यक्ति थिए ।

उनी भन्छन् कि ‘यदि तपाई हरेक दिन तपाईको अन्तिम दिन जसरी जिउनुहुन्छ भने तपाई एकदिन सही साबित बन्नुहुनेछ ।’ उनी आफैं यस भनाईलाई आत्मसात गर्दै अघि बढ्थे । उनी हरेक बिहान उठेर आफूलाई ऐनामा हेर्ने गर्थे । उनी हरेक बिहान यदि आज मेरो जीवनको अन्तिम दिन हुन्थ्यो भने के म आज गर्न लागेको कामलाई साँच्ची पूरा गरि छाड्छु त ? भनी ऐना हेरेर आफैलाई प्रश्न सोध्ने गर्थे । उत्तरमा यदि धेरै दिनसम्म होइन भन्ने जवाफ आयो भने केहि परिवर्तन आवश्यक छ भनी बुझ्नुपर्छ भन्थे उनी ।

यस घटनाको सन्देशः
हामीलाई ‘म चाँडै मर्नेछु’ भन्ने सम्झना मात्रैले पनि जीवनमा ठूला निर्णयहरु गर्न मद्दत ्मिल्छ । किनकि जब हामी मृत्युको बारेमा सोच्छौं सबै अपेक्षाहरु, सबै घमण्डहरु, असफलताको सबै डरहरु हराउँछन् । मृत्युको सम्झना नै कुनै पनि कुरा गुमाउँछ कि भन्ने डर अन्त्यको उत्तम उपाय हो । तर मर्न कसैलाई कसैलाई रहर हुदैन । मृत्यु हामी सबैको अन्तिम गन्तव्य हो । मृत्यु यस जीवनको सबैभन्दा ठूलो अविष्कार पनि हो । यसले जीवन परिवर्तन गर्छ । पुरानोको अन्त्य गर्छ र नयाँको लागि बाटो खोल्छ ।

अन्त्यमा,
हामीसँग समय सीमित मात्र हुन्छ । त्यसैले यस उपलब्ध रहेको समयलाई अरु कसैको जीवन जिउन बर्बादमा नलगाउँ । बेकारको विवादमा नफसौं । आफ्नो जीवनलाई अरुको अनुसार नचलाउँ । आफ्नो भित्री आवाजलाई दबिन नदिउँ । र महत्वपूर्ण कुरा आफ्नो हृदय र अन्तरज्ञानलाई सुन्ने प्रयत्न गरौं । यिनीहरुलाई पहिल्यै थाहा हुन्छ कि हामी वास्तवमा के बन्न चाहिरहेका छौं भन्ने कुरा ।

  • (प्रस्तुतीः कमल पन्थी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij