२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सपना, सङ्कल्प र नेतृत्व यात्रा : गेन्द्र लामाको प्रेरणादायी कथा

सपना, सङ्कल्प र नेतृत्व यात्रा : गेन्द्र लामाको प्रेरणादायी कथा

गेन्द्र लामा, अध्यक्ष, मनास्लु वर्ल्ड कलेज

भूमिका
कुनै पनि राष्ट्रको मेरुदण्ड भनेको त्यहाँको शिक्षा प्रणाली हो । तर, शिक्षा केवल डिग्री हासिल गर्नु मात्र होइन, यो त जीवन जिउने कला, संस्कार र सीपको सङ्गम हुनुपर्छ । यही मान्यताबाट प्रेरित व्यक्ति हुन् गेन्द्र लामा । उनी यही सोचलाई आत्मसात् गर्दै विगत दुई दशकदेखि नेपालको शिक्षा क्षेत्रमा अविचलित रुपमा अघि बढिरहेका छन् । मनास्लु वल्र्ड कलेजका अध्यक्षका रुपमा चिनिने लामा एक कुशल शिक्षक, सफल व्यवस्थापक मात्र नभई शिक्षालाई उद्यमशीलतासँग जोड्ने एक दूरदर्शी व्यक्तित्व पनि हुन् । निम्न माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकको रुपमा शुरु भएको उनको यात्रा आज निरन्तर माथिल्लो गञ्तव्य तर्फ उक्लिइरहेको छ । एक पछि अर्को गर्दै योजनाहरु अघि सारिरहेका हुन्छन् उनी । नर्सरी देखि स्नातकोत्तर तह सम्मका शैक्षिक कार्यक्रमहरु आफ्नो नेतृत्वमा सञ्चालन गर्ने उद्देश्यबाट उनी प्रेरित छन् ।
एक सफल शैक्षिक उद्यमीसम्म आइपुग्दा थुप्रै उतारचढाव, चुनौती र सफलताका कथाहरूले भरिएको छ उनको यात्रा ।

सुरुवाती सङ्घर्ष र स्वाभिमानको जग
गेन्द्र लामाको शैक्षिक यात्राको जग स्नातक तह पढ्दै गर्दा देखि नै शुरु भएको हो । २०६३ साल तिर । त्यस समय उनी एउटा निजी विद्यालयमा अध्यापन गर्दथे । माघको चिसो समय थियो, तामाङ समुदायको महान् पर्व ल्होसार नजिकिँदै थियो । उनले पर्व मनाउनका लागि बिदा मागेर घर गए । तर, फर्केर आउँदा उनले जे भोग्नुभयो, त्यसले उनको जीवनको मार्ग नै परिवर्तन गरिदियो ।
पर्व मनाउनका लागि बिदा बसेको त शुक्रबार र शनिबारको समेत तलब काटिएछ । यसले उनको स्वाभिमानमा ठूलो चोट पुर्यायो । उनलाई ‘श्रमको सम्मान नहुने ठाउँमा बस्नुहुँदैन’ भन्ने लाग्यो । त्यससँगै विद्यालयबाट तत्काल राजिनामा दिने निर्णय लिए । तर भविष्य स्पष्ट थिएन । बाँकी दिनहरु अनिश्चित हुँदाहुँदै पनि उनले लिएको त्यो निर्णय एक क्रान्तिको सङ्केत थियो । हुनतः यसलाई सामान्य घटना मान्न सकिएला, तथापि उक्त घटनाले लामालाई शिक्षा क्षेत्रमा रहेका विकृति र शिक्षकमाथि हुने शोषणविरुद्ध लड्ने प्रेरणा दियो । त्यो मात्र होइन, भविष्यमा आफ्नै शैक्षिक संस्था स्थापना गरेर त्यसको नेतृत्व आफैंले लिनुपर्छ, जसबाट आफ्नो र अरुका लागि लाभ पुग्न सक्नेछ भन्ने दृढ अठोटको बिऊ अवचेतन मष्तिष्कमा गहिरोसँग रोपिन पुग्यो ।


कान्तिपुरको विज्ञापन देखि ‘प्राक्सिस’को जन्मसम्म
आफ्नो स्वाभिमानका लागि जागिर छोडेपछि उनले कान्तिपुर दैनिकमा एउटा विज्ञापन देखे । त्यसमा आवेदन दिए । यससँगै २०६३ सालमा भुवनेश्वरी पब्लिक स्कुलमा निम्न माध्यमिक तहको शिक्षकका रूपमा उनको प्रवेश भयो ।
२०६४–६५ सालतिर परिस्थिति बदलियो । विद्यालयमा नयाँ व्यवस्थापनको आवश्यकता खड्कियो । परिस्थितिवश उनले प्रवद्र्धकको रूपमा काम गर्ने अवसर पाए र आफैँले पनि लगानी गरे । त्यसपछि समस्या के भयो भने, पुरानो व्यवस्थापनको खराब छविका कारण बजारमा टिक्न निकै कठिन स्थिति सामना गर्नुपर्यो । त्यही चुनौतीलाई चिर्न उनले विद्यालयको नाम नै परिवर्तन गरेर ‘प्राक्सिस इन्टरनेशनल एकेडेमी’ राखे । २०६७ सालमा उनले सोही विद्यालयमा प्रिन्सिपलको जिम्मेवारी प्राप्त गरे । यससँगै अब लामालाई शैक्षिक संस्था सञ्चालन गर्ने र त्यसको नेतृत्व गर्ने आधारभूमि तयार भयो । उनी सामान्य शिक्षक हुँदै शिक्षा क्षेत्रको लगानीकर्ता तथा नेतृत्वकर्ताको स्तरमा उक्लिन सफल भए । प्राक्सिस सञ्चालन गरिरहँदा अब उनलाई लाग्न थाल्यो कि ‘मेरो मुख्य नेतृत्वमा मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरु हामीले सञ्चालन गर्नुपर्छ ।’

मनास्लु टिम अफ इन्टरप्रेनर र लगानी विविधिकरण अवधारणा
गेन्द्र लामा केवल एउटा विद्यालयमा सीमित हुन चाहँदैनथे । उनको सोच शिक्षालाई अन्य क्षेत्रसँग जोड्दै देशमा रोजगारी र अवसर सिर्जना गर्ने थियो । यसैको परिणाम स्वरूप २०७६ सालमा ‘मनास्लु टिम अफ इन्टरप्रेनर प्रा.लि’को स्थापना भयो । यो एउटा यस्तो कम्पनी बन्यो, जसले शिक्षा, पर्यटन, जलविद्युत र हस्पिटालिटी जस्ता सम्भावना रहेका विभिन्न क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको थियो । उद्यमशिलता प्रवद्र्धन यसको मुख्य उद्देश्य थियो । यो एउटा विशाल योजना थियो, १–२ जना व्यक्तिबाट उद्देश्य हासिल हुन सक्ने थिएन । यसकारण शिक्षा लगायत विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका अन्य व्यक्तिहरुलाई टिममा समेटियो । मनास्लु टिम अफ इन्टरप्रेनरको एउटा मुख्य खम्बा ‘मनास्लु वल्र्ड कलेज’ बन्यो । गेन्द्र र उनको टिमले अर्को कलेज प्राप्ति गरेर मनास्लुको ब्रान्डमा सञ्चालन गर्ने निधो गरे ।

कोभिडको चुनौती पनि अवसरमा बदलिएको त्यो समय
वि.सं २०७६ चैत १० गते कलेजको भवन शिलान्याश भयो । निकै उत्साहका साथ कलेज स्थापनाका लागि भवन निर्माण कार्य सुरु भएकै दिन साँझ सरकारले कोभिड–१९ का कारण देशव्यापी ‘लकडाउन’ घोषणा गर्यो । ‘अब के गर्ने ? कसरी अघि बढ्ने ? काम अघि बढाउने कि नबढाउने ?’ जस्ता धेरै प्रश्नहरु सहित अन्यौलता उत्पन्न हुनु अस्वभाविक थिएन । धेरै मानिसका लागि यो विपत्ति नै थियो, तर लामाका लागि यो एउटा परीक्षा थियो, कठिन परीक्षा । व्यवस्थापन समिति लामो समय अन्यौलतामा अल्झिएन । एउटा निष्कर्षमा पुग्यो, ‘काम नरोक्ने, निरन्तर अघि बढाउने, सल्लाह–छलफलहरु डिजिटल प्लेटफर्मबाट पनि सञ्चालन गर्न सकिने ।’ यस निर्णयले काम रोकिएन । जतिबेला सारा विश्व स्थिर बनेको थियो, विकास गतिविधिहरु, उद्योग व्यवसाय रोकिएका थिए, त्यस्तो अवस्थामा पनि आफूहरुको भवन निर्माण कार्य नरोक्ने निर्णय सही सावित भएको गेन्द्रको धारणा छ ।

‘त्यस्तो विषम परिस्थितिमा पनि किन काम रोक्नुभएन ?’ भन्ने प्रश्नको जवाफमा गेन्द्र भन्छन्, ‘हामी मरुभूमिमा पनि हरियाली देख्ने सकारात्मक सोच भएका ऊर्जावान् टिम हौं । समयक्रममा हाम्रो निर्णय सही साबित भयो ।’

उनी थप्छन्, ‘चुनौती र विषम परिस्थितिले पनि त्यति नै ठूलो अवसर पनि सँगसँगै ल्याएको हुन्छ भन्ने मान्यता लिएर लकडाउनको समयमा पनि हामीले भौतिक निर्माणको कामलाई निरन्तरता दिएका हौं । परिणाम स्वरूप कोभिड–१९ को त्रासका बीच पनि कलेजमा सोचेभन्दा दोब्बर विद्यार्थी भर्ना भए । हाम्रो सामुहिक सकारात्मक सोच र दृढ इच्छाशक्तिको यो एउटा उत्कृष्ट उदाहरण बन्यो ।’

निर्णय लिने बेलामा विचार गर्नुपर्ने कुरा
हामी धेरैपटक जब निर्णय लिनुपर्ने हुन्छ, त्यस्तो समयमा निर्णय गलत सावित हुने हो कि भनेर अनिर्णयको बन्दी हुने गर्दछौं । खासमा अनिर्णयमा लामो समय रहनुभन्दा तत्काल कुनै निर्णय लिएर अघि बढ्नु नै निकै राम्रो हुन जान्छ । किनकि अनिर्णयले हामी आफैंलाई रोक्छ । तथापि आफूले लिएको निर्णय गलत नै सावित भएपनि त्यसले हामीलाई केही न केही अवश्य सिकाउँछ । मानसिक दबाबबाट मुक्त बनाएर स्पष्ट दिशा दिन्छ । यसकारण हामी अर्को गञ्तव्यमा पुग्न सक्छौं । यद्यपि कुनै निर्णय लिनुपर्दा वेहोसमा लिनुहुँदैन । त्यस निर्णयले ल्याउन सक्ने राम्रा र नराम्रा दुवै पक्षलाई राम्रोसँग पहिचान गर्न सक्नुपर्छ ।

उद्यमशिल शिक्षाः अहिलेको आवश्यकता
आफूलाई एक ‘क्रान्तिवादी विचार’ राख्ने व्यक्तिको रूपमा चिनाउँछन् लामा । उनका अनुसार, नेपालको परम्परागत शिक्षा प्रणाली (जुन केवल कण्ठ पार्ने र परीक्षा पास गर्नेमा सीमित छ) अब त्यो हाम्रो लागि प्रयाप्त छैन । अबका दिनमा हामीलाई प्राविधिक एवं उद्यमशिल शिक्षा आवश्यक छ । जसबाट विद्यार्थी तत्काल उद्योगसँग जोडिन वा आफैं स्वरोजगार बन्न सक्ने अवस्था सृजना हुन सकोस् । अहिले एआई सहितको आधुनिक प्रविधिलाई समेत पाठ्यक्रममा समेट्दै लैजानुपर्ने जरुरी छ ।

कस्तो हुनुपर्छ नेपाल सुहाउँदो शिक्षा मोडल ?
अहिलेको शिक्षाले केवल बेरोजगार जनशक्ति उत्पादन तयार पारिरहेको छ भन्ने गेन्द्रको निचोड छ । हाम्रो पाठ्यक्रम नै त्यसै किसिमले डिजाइन गरिएको छ । वर्तमान पाठ्यक्रममा नेपालको उत्पादन, सम्भावना, समाज र वस्तुस्थिति लगायत बारे धेरै कुरा सम्बोधन गर्न सकिएको छैन ।

मनोरञ्जन सहितको सिकाई
हाम्रो शिक्षा अलि बोझिलो छ । शिक्षा बोझिलो हुनुहुँदैन । विद्यार्थीलाई कत्ति पनि भारी महसुस नभई सिक्न सक्ने किसिमले डिजाइन गरिनुपर्छ । शिक्षक ‘लेक्चरर’ होइन, ‘इन्स्ट्रक्टर’ वा सहजकर्ता बन्नुपर्छ ।

उपलब्ध श्रोतसाधन र जनशक्तिको उपयोगबाटै पनि कहाँ कस्ता सम्भावना वा कमजोरी छन् भन्ने पत्ता लगाएर सही तवरले व्यवस्थापन गर्ने हो भने उत्पादकत्वलाई निकै वृद्धि गर्न सम्भव हुँदो रहेछ । उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन नै सफल व्यवस्थापनको कडी हो । लङ टर्म भिजन, स्पष्ट योजना र टिमलाई विश्वासमा लिने क्षमता नै एक सफल लिडरको गुण हो ।

विद्यार्थीको क्षमता पहिचान गरौंः ‘एभ्री चाइल्ड इज युनिक’
गेन्द्र लामाका अनुसार प्रत्येक बच्चामा एउटा विशेष क्षमता लुकेको हुन्छ । ‘गायनमा राम्रो भएको विद्यार्थीलाई गणितमा कमजोर भयो भन्दै दबाब दिनु गलत हो’, आफूले विद्यार्थीको प्रतिभालाई सम्मान र प्रस्फुटनका लागि विशेष तरिका अवलम्बन गरेको बताउँदै उनी भन्छन्, ‘मनास्लु वल्र्ड कलेजले विद्यार्थीको रुचि, चाहना र प्रतिभालाई पत्ता लगाएर सोही क्षेत्रमा अगाडि बढाउने ‘स्पेसिफिक’ पद्धति अवलम्बन गरेको छ ।’ ज्ञान, सीप र संस्कारको संगमले नै पूर्ण मानव बनाउन सक्छ भन्ने उनको दर्शन छ ।

कुशल नेतृत्व र व्यवस्थापनको महत्व
कुनै पनि संस्था सफल हुन त्यसको नेतृत्वमा को छ र उसले कस्तो पद्धति अवलम्बन गरेको छ ? श्रोतसाधनहरुको कति प्रभावकारी तवरले उपयोग गरिरहेको छ ? भन्ने कुराले प्रत्यक्ष भूमिका खेल्छ । लामा कुलमान घिसिङको उदाहरण दिँदै भन्छन्, ‘उपलब्ध श्रोतसाधन र जनशक्तिको उपयोगबाटै पनि कहाँ कस्ता सम्भावना वा कमजोरी छन् भन्ने पत्ता लगाएर सही तवरले व्यवस्थापन गर्ने हो भने उत्पादकत्वलाई निकै वृद्धि गर्न सम्भव हुँदो रहेछ । उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन नै सफल व्यवस्थापनको कडी हो । लङ टर्म भिजन, स्पष्ट योजना र टिमलाई विश्वासमा लिने क्षमता नै एक सफल लिडरको गुण हो । यसै मान्यताबाट प्रेरित भएर उनी आफू स्वयं पनि नियमित रूपमा विभिन्न ‘सेल्फ हेल्प’ पुस्तकहरू पढ्छन्, जसले उनलाई नयाँ विचार र उर्जा प्रदान गर्दछ । व्यक्तिलाई क्षमता अनुसारको जिम्मेवारीमा खटाउने, आफू निरन्तर सिक्नका लागि तयार रहने, नयाँ व्यक्तिसँग जनसम्पर्क बिस्तार, सामाजिक संस्थाहरुमा आबद्धता, फराकिलो सोच, निश्चित प्रणाली अवलम्बन र आफ्नो प्रगति ट्रयाकिङ लगायतका गुणहरु विकास गर्न सक्ने व्यक्तिले संस्थालाई साँच्चै सही नेतृत्व दिन सक्छ भन्ने गेन्द्रको बुझाई छ । उनी आफू पनि त्यसै किसिमका बानीहरुबाट निर्देशित छन् ।

भविष्यको योजनाः पर्यटनदेखि प्रिमियम शिक्षासम्म
मनास्लुको यात्रा कलेजमा मात्र सीमित छैन । गत मंसिरबाट यो टिमले ‘केब्स’ (कुमारी आवासीय माध्यमिक विद्यालय)लाई आफ्नो पोर्टफोलियो भित्र समेटिसकेको छ । मध्यम स्तरको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको यस विद्यालयलाई ‘प्रिमियम’ स्तरमा लैजाने योजना छ । साथै, पर्यटन, हस्पिटालिटी र जलविद्युत क्षेत्रमा पनि लगानी बिस्तार भइरहेको छ ।

निष्कर्ष र अन्तिम सन्देश
दुई दशकको यात्रामा शिक्षक, प्रशासक हुँदै व्यवस्थापनको उच्च तहमा पुगेका गेन्द्र लामा शिक्षालाई जीवनका लागि उपयोग गर्ने अभियानमा छन् । अहिलेका विद्यार्थी नै ‘चेन्जमेकर’ र ‘इन्नोभेटर’ हुन् भन्ने उनको विश्वास छ । त्यसैले, उनीहरूलाई प्रतिक्रियात्मक (Reactive) होइन, जिम्मेवार (Responsive) र सक्षम नेतृत्वकर्ता बनाउनुपर्छ भन्ने उनको धारणा छ ।

गेन्द्र लामा र मनास्लुको यो यात्राले देखाउँछ कि यदि हामीसँग स्पष्ट दृष्टिकोण, निश्चित योजना, दृढ सङ्कल्प, अथक मेहनत, धैर्यता, निरन्तरता र सकारात्मक सोच छ भने जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफलताको फूल फुलाउन सकिन्छ । नेपालको माटो सुहाउँदो शिक्षा र उद्यमशीलताको यो यात्रा पक्कै पनि आगामी पुस्ताका लागि मार्गदर्शक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij