– कमल पन्थी
यसपटक दशैंको पूर्वसन्ध्याको अवसरमा आएको बर्षात्को कारण ठूलो मात्रामा जनधनको क्षति हुन पुग्यो । यसले बहुसंख्यक नेपालीहरुलाई त्रसित तुल्यायो । साधारणतया असोज महिना सम्ममा बर्षा अर्थात् मनसुन रोकिइसकेको हुन्छ । तथापि यसपटक बर्षात् रोकिइसक्नुपर्ने अवस्थामा परेको भारी बर्षाले कैयौंको साथ टुटाएको छ । कैयौंलाई घरबारविहीन बनाएको छ । थुप्रैको मन टुटाएको छ । दशैं पर्व शुरु भइसक्दा पनि जुन रौनक विगतका बर्षहरुमा हुने गर्दथ्यो, त्यो देखिन सकेको छैन ।

सचेत रहेर यात्रा गरौं
यस पटकको दशैंमा यात्रा गर्न विगत जस्तो सहज छैन । विगतमा अग्रिम टिकट बुकिङ गरेर ढुक्कले यात्रा गर्न सकिने अवस्था रहने गर्दथ्यो । तथापि यसपटक भने अग्रिम टिकट प्रचलन प्रभावकारी बन्न सकेन । यातायात व्यवसायीहरुले अग्रिम टिकट बन्द गराएका छन् । जसले गर्दा लाखौं उपत्यकाबाट बाहिरिने यात्रुहरु अलमलमा छन् ।
सडक पूर्वाधारमा ठूलो क्षति
यसपटकको दशैंमा यात्रा गर्नको लागि सडकको अवस्था निकै कमजोर बनेको छ । काठमाडौंबाट नारायणघाट पुग्नको लागि नै सयौं ठाउँमा पहिरो गएको छ । अवरुद्ध बिपी राजमार्ग दशैं भन्दा पहिले खुल्न नसक्ने भनेर भौतिक पूर्वाधार मन्त्रालयले जानकारी गराइसकेको छ । मुख्य राजमार्गहरुमा सडक दुईतर्फी (टु वे) बन्न सकेको छैन । रातीको समयमा नभई दिउँसोको समयमा मात्र यात्रा गरौं ।
मौसम प्रति विचार गरौं
यात्राको लागि निस्कनुपूर्व मौसम कस्तो छ ? मौसम पूर्वानुमान विभागले कसरी मौसम आँकलन गरेर छ ? त्यसको आधारमा मात्र यात्राको योजना बनाउँ । यात्रामा निस्कँदा घरबाट नै आफैंले बाटोमा आवश्यक पर्ने खाजा नास्ताको व्यवस्था गरौं । केही प्राथमिक औषधीहरु पनि साथमा बोकौं ।
बाटोमा यात्रा गर्ने क्रममा जाम भएर अवधि लम्बिन सक्ने कुरालाई विचार गरेर १–२ दिन पहिले नै यात्रामा निस्कौं ।
उपभोक्ता ठगिन सक्ने अवस्था
सामान्यतया विपतको समयमा उपभोग्य वस्तुहरुको कृत्रिम अभाव देखिन सक्छ । टिकट लिने सम्बन्धमा पनि समस्या सृजना हुने स्थिति रहन सक्छ । यसबारेमा सचेत रहौं । सामान्य भन्दा केही थप समयको लागि आवश्यक खाद्य लगायतका उपभोग्य वस्तु जोहो गरौं ।
खल्लो दशैं
बर्षा र विपतको कारण दशैंको रौनक निकै कम छ । धेरै जोखिम लिएर यात्रा गर्दा हुन सक्ने थप सम्भावित दुर्घटनालाई विचार गरेर बरु जो जहाँ छौं, त्यही दशैं पर्व मनाउँ । बीच बाटोमा अलपत्र पर्नुपर्दा निकै कठिनाई सामना गर्नुपर्छ ।
मनस्थिति बलियो बनाएर मात्र यात्रा गरौं
यात्रा गर्नैपर्ने भएमा आफ्नो मनस्थितिलाई बलियो बनाएर मात्रै यात्रा गरौं । मनमा द्विविधा भएर यात्रा नगरौं । यात्रामा निस्कँदा पहिले नै सवारीसाधनको सहज व्यवस्था हुने सुनिश्चित गरेर मात्र यात्रा गरौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij