२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

शिक्षक आन्दोलनको विवेचना : कानुनी संघर्ष कि संरचनागत परिवर्तनको पुकार ?

शिक्षक आन्दोलनको विवेचना : कानुनी संघर्ष कि संरचनागत परिवर्तनको पुकार ?

  • मंगलबार, बैशाख ९ २०८२
  • सुमन प्रसाद अधिकारी

काठमाडौं उपत्यकाका सडकहरूमा फेरि हजारौं शिक्षकहरू उभिएका छन्। उनीहरूको हातमा छन्—संविधानको प्रति, पोस्टरमा ‘शिक्षा कुनै व्यापार होइन’ लेखिएको छ, र आवाजमा विवशता मिसिएको आक्रोश। वर्षौंसम्म chalk र duster समाउने हातहरूले अहिले व्यानर र नारा समाएका छन्। प्रश्न उठ्छ: शिक्षकहरू किन फेरि आन्दोलनमा छन्? के यो आन्दोलन तलब, सरुवा, वा स्थानीय तहको विवाद मात्र हो त? वा, यो कुनै गहिरो संरचनागत संक्रमणको लक्षण हो ?

२०२८ सालको शिक्षा ऐनले नेपालमा पहिलो पटक शिक्षालाई एक ‘संस्थागत अनुशासन’मा ल्याउने प्रयास गर्‍यो। यो ऐनले शिक्षकको पेशागत स्थायित्व, योग्यता परीक्षण, सरुवा प्रणाली, र विद्यालय व्यवस्थापनको ढाँचा तयार गर्‍यो। शिक्षा मन्त्रालयले नीति बनाउने, केन्द्रले पाठ्यक्रम निर्माण गर्ने, र जिल्ला शिक्षा कार्यालयले कार्यान्वयन गर्ने—यस्तो केन्द्रिकृत संरचना बनाइयो।

तर त्यो संरचना समयसँगै जीर्ण बन्दै गयो। संविधान २०७२ ले संघीयता लागू गरेपछि शिक्षा अधिकार स्थानीय तहमा गयो। अब प्रश्न थियो—शिक्षकको नियुक्ति को गर्ने? पाठ्यक्रम कस्तो बनाउने? शिक्षा ऐन के फेरिने? संघीय ढाँचामा शिक्षा सञ्चालन कसरी गर्ने? तर राज्यको तयारी कमजोर, स्पष्टता झनै कमजोर।

यो अन्योलकै बीचमा, सरकारले २०८१ मा नयाँ शिक्षा विधेयक ल्यायो। शिक्षकहरूका अनुसार, यो विधेयक न त संविधानसँग मेल खान्छ, न त स्थानीय तहको अधिकार स्पष्ट पार्छ। बरु, यसले शिक्षकलाई ‘निजामती’ बनाउने, अस्थायी शिक्षकलाई हटाउने, र विद्यालयलाई ‘स्थानीय तहको प्रशासनिक अंग’ बनाउने प्रयास गर्छ। यसैले, आन्दोलन जन्मिएको हो।

नेपालको आन्दोलन संस्कृति सधैं प्रतिरोधको कलात्मक अभिव्यक्तिबाट सम्पन्न हुँदै आएको छ। शिक्षकहरू केवल नाराबाजी गर्दै छैनन्, उनीहरूले कविता लेखिरहेका छन्, गीत गाइरहेका छन्, नाचिरहेका छन्—यो राजनीतिक सौन्दर्यशास्त्रको अभ्यास हो। तर यसको अर्थ आन्दोलन हल्का छ भन्ने होइन। सांस्कृतिक प्रतिरोध, लोकतान्त्रिक समाजमा, भाषाहीनहरूको आवाज हो।
शिक्षकले जब भन्छन्—‘२०२८ को ऐन चाहिन्छ’, त्यसको अर्थ हो: ‘हामीलाई सुनिश्चितता चाहिन्छ’, ‘राज्यसँगको भरोसा चाहिन्छ’, ‘पढाउने वातावरण चाहिन्छ’, र ‘हाम्रो पेशालाई मर्यादा दिनुपर्छ।’

आजको शिक्षकीय असन्तोष केवल नयाँ विधेयककै उपज होइन। यो दशकोंदेखि थुप्रिएका नीतिगत अन्योल, संघीयताको अपरिपक्वता, शिक्षकप्रति राज्यको उपेक्षा, र बजारमुखी शिक्षानीतिले जन्माएको संकट हो।

आजको शिक्षा क्षेत्र चार संकटबाट गुज्रिरहेको छ:

1. संरचनागत संकट: संघीयता लागू भए पनि शिक्षा अधिकारको बाँडफाँड अस्पष्ट छ। संघले पाठ्यक्रम बनाउँछ, स्थानीय तहले शिक्षक राख्छ, तर कसले मूल्याङ्कन गर्छ?

2. नैतिक संकट: शिक्षालाई ‘साधना’ होइन, ‘साधन’ मात्र मानिएको छ। राजनीतिक पार्टीहरूको भागबन्डा शिक्षामा देखिन्छ। शिक्षक नियुक्ति र सरुवामा पारदर्शिता हराएको छ।

3. सामाजिक संकट: सार्वजनिक विद्यालय र निजी विद्यालयबीच गहिरो खाडल छ। गरिबका बच्चाहरू सामुदायिक विद्यालय जान्छन्, जहाँ आन्दोलन, अव्यवस्था र स्रोतको अभाव छ।

4. वैचारिक संकट: शिक्षालाई राष्ट्रनिर्माणको औजार होइन, बजेट घाटा घटाउने माध्यमका रूपमा हेरिएको छ। यही सोचले शिक्षकलाई जिम्मेवार नागरिक होइन, प्रशासकीय कर्मचारी बनाउने चेष्टा गरिरहेको छ।

शिक्षक आन्दोलनको सीधा असर विद्यार्थीमाथि परेको छ। खासगरी सार्वजनिक विद्यालयका विद्यार्थी, जसको जीवनमा हरेक अवरोधले भविष्यका ढोका बन्द गर्छ। यस्तो आन्दोलनको पीडित ‘आन्दोलनको पक्षमा उभिने पनि सक्दैन’ र ‘विरोध गर्न सक्ने शक्ति पनि हुँदैन।’ यही वर्गको मौनता नै राज्यको सबैभन्दा गम्भीर असफलता हो।

शिक्षकले जब आन्दोलन गर्छन्, विद्यार्थीहरू सडकमा होइन, मनभित्र पीडा बोकेर घर फर्कन्छन्। त्यो पीडाले राष्ट्रको चेतनामा गहिरो असर पार्छ—तर त्यसलाई आँक्न सक्ने सूचकहरू हाम्रो नीतिमा छैन।

समाधान: सम्वाद, संरचना र सोचको पुनर्निर्माण
शिक्षा क्षेत्रको यो संकट तत्काल रोक्न सकिने आन्दोलन मात्र होइन—यो ‘पुनर्निर्माणको ऐतिहासिक अवसर’ हो। यदि राज्यले चाह्यो भने, यस आन्दोलनबाट शिक्षा नीति पुनः लेख्न सकिन्छ। तर त्यो सम्भव हुन्—

1. शिक्षकहरूसँग सम्वाद:

एकपक्षीय कानुन होइन, सहभागी प्रक्रिया आवश्यक छ।

2. संघीय भूमिकाको स्पष्टता:

संघ, प्रदेश, र स्थानीय तहका शिक्षा भूमिकालाई स्पष्ट र व्यवहारिक बनाइनुपर्छ।

3. शिक्षकको योग्यता र सुरक्षालाई जोडिएको संरचना:

अस्थायी शिक्षकहरूको भविष्य अनिश्चित बनाउनु समाधान होइन, ‘उपयुक्त मूल्याङ्कनपछि समायोजन’ उपयुक्त उपाय हो।

4. शिक्षामा लगानी:

शिक्षालाई GDP को २० प्रतिशत पुर्‍याउने प्रतिबद्धता मात्र घोषणा होइन, कार्यान्वयनमा जानुपर्छ।

5. शिक्षक पेशालाई मर्यादित बनाउने सोच:

शिक्षकलाई केवल पाठ सिकाउने होइन, सामाजिक परिवर्तनको अग्रदूत मान्न आवश्यक छ।

शिक्षक आन्दोलन सरकारविरुद्ध मात्र होइन, यो समग्र शिक्षा नीतिको विरुद्ध उठेको आवाज हो। जब राज्य शिक्षालाई ‘तोकिएको समयको तालिम’ मात्र सम्झन्छ, तब शिक्षा आफ्नो आत्मा गुमाउँछ। आन्दोलन भनेको आत्माको खोज हो।

हिजोको शिक्षा ऐनले एक युग चलायो, आजको आन्दोलन अर्को युगको ढोका खटखटाइरहेको छ। राज्यले अब पनि नबुझे, शिक्षालाई मात्र होइन, शिक्षाबाट जन्मने चेतनालाई समेत गुमाउने खतरा छ।

कुनै पनि देश शिक्षाको ढोकाबाट मात्रै विकासतर्फ जान सक्छ। त्यो ढोका खोल्ने साँचो भने शिक्षकका हातमा हुन्छ—उनीहरूको आवाज दबाएर होइन, सुनेर समाधानको थालनी हुनुपर्छ।

  • अधिकारी त्रिभुवन बिश्वबिद्यालय कीर्तिपुरमा  राजनीति शास्त्रमा स्नातकाेत्तर अध्ययनरत छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij